
नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ले भारतको शिम्लामा आयोजित १२औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ ।
निर्देशक तथा सञ्चारकर्मी गणेश पाण्डेको निर्देशन तथा निर्माण रहेको ‘द एभरेस्ट ड्रीम’ले विश्वभरका अन्तर्राष्ट्रिय वृत्तचित्रबीच प्रतिस्पर्धा गर्दै यो अवार्ड हात पारेको हो ।
आइतबार शिम्लामा आयोजित अवार्ड समारोहमा हिमाचल प्रदेशका गभर्नर कविन्दर गुप्ता र फेस्टिभल निर्देशक पुष्पराज ठाकुरले पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए । सेप्टेम्बर २५ देखि २७ सम्म शिम्लाको ऐतिहासिक गेती हेरिटेज कम्प्लेक्समा आयोजना भएको महोत्सवमा ३३ देशका फिल्म सहभागी थिए ।
मस्तिष्कमा गम्भीर चोट लागेपछि जीवनमा अनेक चुनौती सामना गरिरहेका बेलायती नागरिकहरूको एभरेस्ट बेस क्याम्पसम्मको साहसिक यात्राको कथा ‘द एभरेस्ट ड्रीम’मा प्रस्तुत गरिएको छ । स्कटल्याण्डबाट शुरू भएको उनीहरूको कठिन प्रशिक्षणदेखि नेपाल आएर हिमालयको यात्रासम्मको अनुभवलाई वृत्तचित्रले समेटेको छ ।

जेम्स लेम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरी सर्वाइवर्ससहित सात सदस्यीय टोलीले एभरेस्ट बेस क्याम्पसम्म गरेको यात्रालाई फिल्मले केन्द्रमा राखेको छ ।
शारीरिक तथा मानसिक चुनौतीका बाबजुद सपना पूरा गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश फिल्मले दिएको छ । निर्देशक पाण्डेका अनुसार, फिल्मको मुख्य सन्देश ‘जीवनमा गम्भीर चोट वा कठिनाइ आए पनि मानिसले नयाँ सपना देख्न र ती सपना पूरा गर्न सक्छ’ भन्ने हो ।
‘द एभरेस्ट ड्रीम’ले यसअघि अमेरिकाको जर्जियास्थित कब अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितिसकेको छ ।
शिम्लामा प्राप्त यो अन्तर्राष्ट्रिय अवार्डसँगै नेपाली डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ ।