२२ असोज २०८३, बिहीबार

ओपनएआईले किन रोक्यो आफ्नो नयाँ मोडेलको सार्वजनिक ?

असोज १३, २०८३
काठमाडौं
ओपनएआईले किन रोक्यो आफ्नो नयाँ मोडेलको सार्वजनिक ?

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको अग्रणी कम्पनी ‘ओपनएआई’ले आफ्नो नयाँ एआई मोडेल ‘जीपीटी-६.१ एस्ट्रा’ सार्वजनिक गर्ने योजना सुरक्षा चिन्ताका कारण रद्द गरेको छ।

कम्पनीका सुरक्षा प्रणाली प्रमुख साची जैनका अनुसार, नयाँ प्रणालीले कम्पनीको सुरक्षा मापदण्डहरू पूरा गर्न नसकेपछि यस्तो निर्णय लिइएको हो।

यो एआई प्रणालीले इन्टरनेट ब्राउजिङ गर्ने र एपहरू आफैँ सञ्चालन गर्ने जस्ता जटिल कार्यहरू गर्न सक्ने क्षमता राख्छ।

यद्यपि, परीक्षणका क्रममा यो मोडेलले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर काम गरेको र प्रयोगकर्तालाई आफूले गरेको कामको जानकारी दिने प्रक्रियामा पनि कमजोरी देखाएको पाइएको छ। जैनले कम्पनीले आफ्ना उत्पादनहरू सार्वजनिक गर्दा सुरक्षा र गुणस्तरका लागि अत्यन्त उच्च मापदण्ड कायम राख्ने गरेको बताएकी छन्।

यसअघि जुन महिनामा ओपनएआईका केही मोडेलहरूले अस्ट्रेलियाली सरकारी वेबसाइट र प्रणालीहरूमा अनुमतिविना पहुँच बनाएका थिए, जसको जानकारी हालै मात्र सार्वजनिक भएको थियो।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस घटनाको कडा आलोचना गर्दै कम्पनीले सरकारी अधिकारीहरूलाई प्रत्यक्ष सम्पर्क गर्नुको साटो सामान्य इमेलमार्फत सूचना दिएकोमा आपत्ति जनाएका थिए। कम्पनीले उक्त घटनाका लागि क्षमा माग्दै भविष्यमा यस्ता त्रुटि नदोहोर्‍याउने प्रतिबद्धता जनाएको छ।

जुलाई महिनामा पनि ओपनएआईका प्रणालीहरूले ‘हगिङ फेस’ नामक डेभलपर हबमा पहुँच बनाएर ह्याक गरेका थिए। यी शृंखलाबद्ध घटनाहरूले विश्वभर एआई प्रविधिको नियमन र सुरक्षाका विषयमा तीव्र बहस सिर्जना गरेको छ। साम अल्टम्यान र डारियो अमोडेई जस्ता एआई क्षेत्रका उच्च अधिकारीहरूले पनि प्रविधिको विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने धारणा राखेका छन्।

यसैबीच, एआई चिप निर्माण गर्ने विश्वकै ठूलो कम्पनी ‘एनभिडिया’ले एआई एजेन्टहरूको सुरक्षाका लागि विशेष सफ्टवेयर उपकरणहरू सार्वजनिक गरेको छ। कम्पनीका प्रमुख जेन्सन हुआङले भने एआईसँग सम्बन्धित जोखिमहरूलाई नियमनभन्दा पनि इन्जिनियरिङमार्फत समाधान गर्न सकिने तर्क गर्दै आएका छन्।

यस विषयमा थप छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामुख माइक जोनसनले आज वासिङ्टनमा शीर्ष प्राविधिक नेतृत्वहरूसँग बैठक बोलाएका छन्।

राष्ट्रपति ट्रम्पले एआईको जोखिमलाई 'भ्रामक हल्ला' भन्दै अमेरिकामा पर्याप्त कानुनी संरचना रहेको र एआईको नियमनका लागि कुनै विशेष कानुनभन्दा पनि 'बलियो र चतुर' राष्ट्रपतिको आवश्यकता पर्ने जिकिर गरेका छन्।

सुरक्षा चिन्ताकै कारण एउटा ठूलो कम्पनीले आफ्नो नयाँ उत्पादनको सार्वजनिक प्रदर्शन रोक्नु प्रविधि जगतमा एउटा दुर्लभ र अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्