२२ असोज २०८३, बिहीबार
एसियाडमा निरीह नेपाल

७५ वर्षमा पनि पूरा भएन स्वर्ण सपना– सधैँ दयालाग्दो प्रदर्शन, आफ्नै उपलब्धि पच्छ्याउन मुस्किल

असोज १४, २०८३
काठमाडौं
७५ वर्षमा पनि पूरा भएन स्वर्ण सपना– सधैँ दयालाग्दो प्रदर्शन, आफ्नै उपलब्धि पच्छ्याउन मुस्किल

नेपालले एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागिता जनाउन थालेको ७५ वर्ष पुगिसकेको छ । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजित पहिलो संस्करणदेखि नै एसियाडमा नेपाल निरन्तर सहभागी हुँदै आएको छ ।

यस अर्थमा, नेपाल एसियाली खेलकुदको संस्थापक सदस्य पनि हो । एसियाडको पहिलो संस्करणमा नेपाल र आयोजक भारतसहित केवल ११ राष्ट्र सहभागी थिए । समयको लामो कालखण्डसँगै यो ७५ वर्षको अवधिमा सहभागी राष्ट्रको संख्या बढेर ४५ पुगिसकेको छ ।

तर, नेपालभन्दा निकै पछि एसियाली खेलकुदमा भाग लिन थालेका राष्ट्रहरूले स्वर्ण पदकमै शतकीय उपलब्धि हासिल गरिसक्दा पनि पदक तालिकामा नेपालको अवस्था भने झन्–झन् दयनीय बन्दै गएको देखिन्छ । स्वर्ण त परको कुरा, रजत पदकै संख्या पनि तीनभन्दा बढ्न सकेको छैन ।

null

नेपालसँगै एसियाडको पहिलो संस्करणमै सहभागी भएको जापानले त एक हजारभन्दा बढी स्वर्ण पदक जितिसकेको छ । सोही संस्करणमा भाग लिने इरान, थाइल्यान्ड, भारत र इन्डोनेसियाले पनि एक सयभन्दा बढी स्वर्ण पदक चुमिसकेका छन् ।

सिंगापुर, म्यानमार, श्रीलंका र फिलिपिन्सले पनि एसियाडमा ठूलो संख्यामा स्वर्ण जितिसकेका छन् । पहिलो संस्करणदेखि नै सहभागी हुँदै आए पनि हालसम्म स्वर्ण पदक जित्न नसक्ने राष्ट्र नेपाल र अफगानिस्तान मात्र हुन् ।

अझ लज्जास्पद विषय त के हो भने, लामो समय युद्धको विभिषिकामा पिल्सिएको अफगानिस्तानभन्दा पनि नेपालको अवस्था दयनीय छ । अफगानिस्तानले सातवटा रजत जितिसकेको एसियाडमा नेपालले भने तीनवटा रजत पदकमात्र चुम्न सकेको छ ।

अफगानिस्तानले आफ्नो दोस्रो सहभागिता अर्थात, सन् १९५४ मा फिलिपिन्सको मनिलामा आयोजित एसियाडमै रजत पदक चुमिसकेको थियो भने नेपालले त्यही रजत पदकका लागि पनि निरन्तर ४७ वर्षसम्म संघर्ष गर्नुपर्‍यो ।

सन् १९९८ मा थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा नेपालका लागि तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलो रजत पदक जितेकी थिइन् । त्यसपछि फेरि अर्को रजत पदक पाउन नेपालले थप २० वर्ष प्रतीक्षा गर्नुपर्‍यो ।

सन् २०१८ मा इन्डोनेसियाको जकार्ता–पालम्बाङमा सम्पन्न १८औँ एसियाडमा नेपालका लागि पाराग्लाइडिङ टोलीले दोस्रो र सन् २०२२ मा चीनको हाङ्झोउमा सम्पन्न १९औँ संस्करणमा कराँते खेलाडी एरिका गुरुङले तेस्रो रजत पदक जिते । जबकि, त्योभन्दा निकै अगाडि अफगानिस्तानले पदक तालिकामा नेपाललाई पछि पारिसकेको थियो ।

‘नेपाली खेलकुद अझै परम्परागत शैलीभन्दा माथि उठ्न सकेको छैन । हामीसँग न वैज्ञानिक प्रशिक्षण प्रणाली छ, न त हाम्रा खेल पदाधिकारीले खेलकुदको वैज्ञानिक पक्षलाई नै बुझ्न सकेका छन् । अवस्था यस्तै रहने हो भने अझ सय वर्षसम्म हाम्रो अवस्था यस्तै रहन्छ,’ राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका पूर्वनिर्देशक डा. प्रकाश प्रधान भन्छन् ।

उनका अनुसार, नेपाली खेलकुदमा हालसम्म ठोस योजना र स्पष्ट नीति नै छैन । ‘हामी पुरानै शैलीमा चलिरहेका छौँ । विश्व खेलकुदले ठूलो फड्को मारिसक्यो तर, हामीसँग भने स्पोर्टस डेभलपमेन्ट नीतिसम्म छैन । हामी अफैँमा रुमल्लिएका छौँ । स्वर्णसहित दोहोरो पदकको महत्त्वाकांक्षी लक्ष्य त निर्धारण गर्छौँ तर, त्यहाँसम्म पुग्ने बाटो नै पहिल्याउन सक्दैनौँ,’ उनी भन्छन् । 

null

यो त भयो, पहिलो संस्करणदेखि नै एसियाडमा सहभागी हुँदै आएका राष्ट्रहरूबीच नेपालको अवस्था । नेपालभन्दा निकै पछि एसियाड खेल्न थालेका राष्ट्रहरूसँगको तुलना त झनै निराशाजनक छ ।

एसियाली ‘पावर हाउस’ चीनले समेत एसियाडमा नेपालभन्दा पछि सहभागिता जनाउन थालेको हो । तर, स्वर्ण पदकमात्र दुई हजारभन्दा बढी जितिसकेको चीनको चर्चा गर्नु यहाँ असान्दर्भिक हुनेछ ।

हङकङ, मलेसिया, चाइनिज ताइपेई, भियतनाम र कम्बोडियाले पनि नेपालभन्दा पछि सन् १९५४ देखि मात्र एसियाड खेल्न थालेका हुन् । तर, समग्र पदक तालिकामा यी राष्ट्रहरूको उपलब्धि भने नेपालको भन्दा निकै माथि छ ।

हङकङले ५० स्वर्णसहित तीन सयभन्दा बढी पदक जितिसकेको छ भने मलेसियाले पनि ७५ स्वर्णसहित तीन सय ७० भन्दा बढी पदक चुमिसकेको छ । चाइनिज ताइपेईले त अझ स्वर्ण पदकको संख्या नै एक सय २० भन्दा बढी पुर्‍याइसकेको छ ।

ताइपेईको कुल पदक संख्या पनि ६ सयभन्दा बढी छ । पहिलो सहभागितामै दुई स्वर्णसहित १३ पदक जितेर आफ्नो क्षमताको परिचय दिएको ताइपेईले सन् १९९८ र सन् २०२२ को एसियाडमा त १९–१९ स्वर्ण चुमेको थियो ।

ताइपेईजस्ता राष्ट्रहरू ठूला प्रतियोगितामा ठूलो खेल टोली सहभागी गराउनुको औचित्य पुष्टि गर्न पनि सफल देखिएका छन् । यसलाई पुष्टि गर्ने मुख्य आधार हो, खेलहरूमा विविधता । ताइपेईले एसियाडमा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बेसबल, बास्केटबल, बलिङ, बक्सिङ, साइक्लिङजस्ता विविध खेलमा स्वर्ण पदक जित्दै आएको छ ।

भियतनामले पनि एसियाडमा दुई दर्जनको हाराहारीमा स्वर्णसहित दुई सयभन्दा बढी पदक जितिसकेको छ । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकीय दृष्टिले बक्सिङ, तेक्वान्दो, कराँतेजस्ता ‘पावर गेम’लाई नेपालको मेरुदण्ड मानिँदै आएको छ ।

null

एसियाली खेलकुदमा सहभागिताको ३५ वर्षपछि आएर नेपालले पहिलो पटक सन् १९८६ को सोल संस्करणमा पदक जितेको थियो । त्यतिबेला नेपाली मुक्केबाज र तेक्वान्दो खेलाडीले कमालको प्रदर्शन गर्दै कुल आठ पदक जितेका थिए, बक्सिङमा चार र तेक्वान्दोमा चार ।

तर, कम्बोडियाले त नेपाललाई पनि उछिन्दै तेक्वान्दोमा स्वर्ण र बक्सिङमा दुई रजत पदक नै जित्न भ्याइसकेको छ । यसका अतिरिक्त, कम्बोडियाले एसियाली खेलकुदको अनिवार्य स्पर्धा पौडीमा समेत पदक जितिसकेको छ ।

‘नेपाली खेलकुदमा पदाधिकारी फेरिन्छन् तर, पद्धति कहिल्यै फेरिँदैन । यो नेपाली खेलकुदको पुरानै रोग हो । हाम्रा लागि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको विदेश भ्रमण गर्ने गतिलो अवसर मात्र हो । विगतमा पनि यही हुन्थ्यो । अहिलेको सरकारले पनि त्यसैलाई निरन्तरता दिएको छ,’ राखेपकै एक अधिकारी छन् ।

उनी पनि डा. प्रधानको धारणप्रति सहमत देखिन्छन् । ‘नेपाली खेलकुदमा स्पष्ट भिजन भएका व्यक्तिको अभाव छ । यो त्यसैको नतिजा हो । पुराना दलहरूले आफूनजिकका व्यक्तिलाई खेलकुद हाँक्न पठाउँथे । अहिले पनि नयाँ अनुहारको नाममा विज्ञता नभएका व्यक्तिहरू नै आएका छन् । खेलाडी वा पूर्वखेलाडी हुनु र खेलकुदको व्यवस्थापन हाँक्ने क्षमता हुनु नितान्त फरक कुरा हुन्,’ उनी भन्छन् ।  

एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाले पनि नेपालभन्दा पछि सन् १९५८ देखि एसियाड खेल्न थालेको हो । तर, आठ सयभन्दा बढी स्वर्णसहित कुल दुई हजार पाँच सयभन्दा बढी पदक चुमिसकेको दक्षिण कोरियाको चर्चा पनि यहाँ असान्दर्भिक नै ठहरिनेछ ।

null

बंगलादेश, बहराइन, इराक, लाओस, उत्तर कोरिया र कुवेतजस्ता राष्ट्रले पनि नेपालभन्दा २३ वर्षपछि मात्र एसियाड खेल्न थालेका हुन् । यी राष्ट्रले सन् १९७४ मा तेहरानमा आयोजित सातौँ संस्करणमा पहिलोपटक सहभागिता जनाएका थिए ।

तर, यी राष्ट्रले छोटो समयमै एसियाली खेलकुदमा लोभलाग्दो प्रदर्शन गर्दै नेपाललाई निकै पछि छाडिसकेका छन् । तुलनात्मक रूपमा सानो टोली पठाउँदै आए पनि बहराइनले एसियाडमा ५८ स्वर्ण जितिसकेको छ ।

बहराइनले आफ्नो चौथो सहभागितामै एसियाडमा स्वर्णसम्म पहुँच बनाइसकेको थियो । सन् १९८६ एसियाडमा पहिलो स्वर्ण चुमेको बहराइने सन् २०१८ र सन् २०२२ को संस्करणमा त १२–१२ वटा स्वर्ण जितेको थियो ।

२०औँ एसियाडमा पनि बहराइनले नेपालको भन्दा सानो खेल टोली सहभागी गराएको छ । बहराइनको टोलीमा एक सय २८ खेलाडी छन् भने नेपाली टोलीमा एक सय ३५ खेलाडी । तर, जारी एसियाडमा नेपाल हालसम्म दुई कांस्यमा समेटिदा बहराइनले भने नौ स्वर्ण, तीन रजत र तीन कांस्यसहित कुल १५ पदक चुमिसकेको छ ।

null

‘विशाल खेल टोली पठाएर पदक जितिने होइन । सानो टोली भए पनि खेलाडी र प्रशिक्षक क्षमतावान छन् भने पदक चुम्न सक्छन् । हामी प्रशिक्षणको आधुनिक शैली पछ्याउँदैनौँ, खेलकुदलाई विज्ञानसँग जोड्न चाहँदैनौँ, खेलकुदमा अध्ययन–अनुसन्धान गर्दैनौँ । अनि पदकको सपनामात्र देखेर हुन्छ ?,’ खेलकुदविज्ञ दिवाकारलाल अमात्य प्रश्न गर्छन् ।

नेपालभन्दा निकैपछि सहभागी भएको इराकले पनि दोस्रो सहभागितामै एसियाडमा स्वर्ण पदक जितेको थियो । सन् १९७८ को बैंकक एसियाडमा पहिलोपटक दुई स्वर्ण चुमेको इराकले हालसम्म सात स्वर्ण जितिसकेको छ ।

जारी २०औँ एसियाडमा पनि इराकले केवल १४ खेलाडी सहभागी गराएको छ । तर, एक रजत र दुई कांस्यसहित नेपालभन्दा बढी पदक जितिसकेको छ ।

नेपालभन्दा २३ वर्षपछि एसियाड खेल्न थालेको बंगलादेशले पनि स्वर्ण पदकको स्वाद चाखिसकेको छ भने लाओसले समेत चार रजतसहित नेपाललाई पछि पारेको छ ।

उत्तर कोरियाले त स्वर्ण पदकमै शतक पूरा गरिसकेको छ । जारी २०औँ एसियाडमा पनि नेपालभन्दा कम केवल एक सय सात खेलाडी सहभागी गराएको उत्तर कोरियाले सात स्वर्ण, पाँच रजत र ६ कांस्यसहित कुल १८ पदक हात पारिसकेको छ ।

यसैगरी, कुवेतले पनि नेपालभन्दा २३ वर्षपछि एसियाड यात्रा शुरू गरेको हो । तर, कुवेतले ३३ स्वर्णसहित एक सयभन्दा बढी पदक पोल्टामा पारिसकेको छ ।

जारी एसियाडमा कुवेतले केवल एक सय १९ खेलाडी सहभागी गराएको छ । तर, कुवेतले चार स्वर्ण, एक रजत र चार कांस्यसहित कुल नौवटा पदक चुमिसकेको छ ।

कतार, लेबनान, साउदी अरेयिबा, सिरिया र संयुक्त अरब इमिरेट्स (यूएई) त झन नेपालभन्दा २७ वर्षपछि आएर मात्र एसियाडमा सहभागी भएका हुन् । तर, उपलब्धिको हिसाबले यी राष्ट्रले पनि नेपाललाई निकै पछि छाडिसकेका छन् ।

सन् १९७८ को बैंकक एसियाडमा पहिलोपटक सहभागी भएको कतारले ५१ स्वर्णसहित एक सय ४० भन्दा बढी पदक चुमिसकेको छ । जारी २०औँ एसियाडमा समेत कतारले तीन स्वर्ण, तीन रजत र दुई कांस्यसहित कुल आठ पदक जितिसकेको छ ।

अझ, सन् १९८६ को एसियाडमा नेपालले पहिलोपटक कांस्य जित्दा नै कतारले स्वर्ण पदक आफ्नो पोल्टामा पारिसकेको थियो । लेबनानले पनि पाँच स्वर्ण, ६ रजत र १० कांस्य पदकमाथि अधिकार जनाइसकेको छ ।

जारी २०औँ एसियाडमा लेबनानले केवल ३९ खेलाडी सहभागी गराएको छ । तर, २०औँ एसियाड जारी रहँदा लेबनानले नेपालभन्दा बढी एक रजत र एक कांस्य पदक चुमिसकेको छ । साउदी अरेबियाले पनि एसियाडमा २९ स्वर्णसहित करिब ८० पदक जितिसकेको छ ।

जापानमा जारी एसियाडमा एक सय ३८ खेलाडी सहभागी गराएको साउदी अरेबियाले नेपालभन्दा बढी दुई रजत र पाँच कांस्यसहित कुल सात पदक चुमिसकेको छ । नेपालभन्दा २७ वर्षपछि एसियाड यात्रा शुरू गरेको सिरियाले पनि हालसम्म नौवटा स्वर्ण चुमेको छ ।

सिरियाले सन् १९९४ को हिरोसिमा एसियाडमा तीन र सन् २००६ को दोहा एसियाडमा दुई स्वर्ण जितेको थियो । जारी एसियाडमा केवल ३७ खेलाडी सहभागी गराएका सिरियाले एउटा कांस्य जितिसकेको छ ।

नेपालभन्दा निकै पछि एसियाड खेल्न थालेको यूएईले पनि हालसम्म १३ स्वर्णसहित ६० भन्दा बढी पदक हात पारिसकेको छ । यसपटक एसियाडमा एक सय ५३ खेलाडी सहभागी गराएको यूएईले एक स्वर्ण र एक रजतमाथि कब्जा जमाइसकेको छ ।

यसैगरी, जोर्डनले नेपालभन्दा ३५ वर्षपछि र मकाउले ३९ वर्षपछि एसियाडमा सहभागिता जनाउन थालेका हुन् । सन् १९८६ मा पहिलोपटक एसियाड खेलेको जोर्डनले हालसम्म ६ स्वर्ण जितेको छ । जारी एसियाडमा केवल ७३ खेलाडी सहभागी गराएको जोर्डनले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितिसकेको छ ।

मकाउले भने सन् १९९० देखिमात्र एसियाली खेलकुदमा भाग लिन थालेको हो । तर, मकाउले हालसम्म चार स्वर्णमाथि कब्जा गरिसकेको छ । जारी २०औँ एसियाडमा पनि केवल ८५ खेलाडी सहभागी गराएको मकाउले एक स्वर्ण, चार रजत र एक कांस्य पदक चुमिसकेको छ ।

जारी एसियाडमा ऐतिहासिक पदकको आशा गरिएका अधिकांश खेलमा नेपाली खेलाडी पराजित भइसकेका छन् । अब नेपालले पदकको बढी आशा गरेको खेल तेक्वान्दो र जुडोमात्र बाँकी छ ।

तर, जुडोमा हालसम्म नेपालले एसियाडमा पदक जित्न सकेको छैन । तेक्वान्दोमा पनि यसपटक छनोट चरण नै पार गर्न नसकेपछि ‘वाइल्ड कार्ड’मार्फत तीन खेलाडीले सहभागिताको अवसर पाएका छन् ।

यसरी, आफूभन्दा निकै पछि एसियाली खेलकुदमा सहभागिता जनाउन थालेका राष्ट्रहरूले स्वर्ण पदकमै शतक पूरा गरिसक्दा पनि नेपाल भने झन्–झन् ओरालो लाग्नेक्रममा देखिन्छ । आफैँले यसअघि हासिल गरेको सामान्य उपलब्धि भेट्टाउ नसमेत नेपाली खेल टोलीलाई धौ–धौ छ ।

कमेन्ट गर्नुहोस्