
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत ढुवानी र शव व्यवस्थापनका लागि व्यापक रूपमा परिचालन गरिएका निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूले सरकारसँग करिब १५ करोड रुपैयाँ भुक्तानी दाबी गरेका छन् ।
तर, सबैभन्दा धेरै उडान गरेको नेपाली सेनाको हेलिकप्टर परिचालनको लागत भने अझै औपचारिक रूपमा पेश हुन बाँकी छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हालसम्म निजी सेवा प्रदायक कम्पनीहरूले १४ करोड ९६ लाख २० हजार ३७४ रुपैयाँ बराबरको बिल पेश गरेका छन् । यो रकम भदौ १० गतेदेखि २६ गतेसम्म गरिएको हेलिकप्टर उडानको आधारमा दाबी गरिएको हो ।
प्राधिकरणकी प्रवक्ता तथा उपसचिव शान्ति महतका अनुसार निजी कम्पनीहरूले कुल ४८२ घण्टा १७ मिनेट उडान गरेको विवरणसहित बिल पेश गरेका हुन् । प्राधिकरण र हेलिकप्टर कम्पनीबीच भएको सम्झौताअनुसार सबै कम्पनीलाई समान रूपमा प्रतिघण्टा १८ सय अमेरिकी डलरका दरले भुक्तानी गर्ने व्यवस्था गरिएको थियो ।
‘समान १८ सय अमेरिकी डलर प्रतिघण्टाको दरले कुल ४८२ घण्टा १७ मिनेट उडानको बिल पेश भएको हो,’ महतले लोकान्तरसँग भनिन्, ‘भदौ १० गतेदेखि २६ गतेसम्म निजी हेलिकप्टरबाट २ हजार ७९४ पटक उडान गरिएको छ ।’

प्राधिकरणका अनुसार उक्त दर न्यूनतम् सञ्चालन खर्चका आधारमा तय गरिएको हो । विपद्का बेला तत्काल उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्न प्राधिकरण र कम्पनीहरूबीच पूर्वसम्झौता गरिएको थियो ।
तर, कुन कम्पनीका कुन हेलिकप्टरले कहिले, कहाँ र कति समय उडान गरे भन्ने विस्तृत विवरण भने उनले दिन मानिनन् । महतका अनुसार भुक्तानीसम्बन्धी प्रस्ताव प्राधिकरणमा निर्णयार्थ पेश भइसकेको भए पनि अन्तिम निर्णय हुन बाँकी रहेकाले सबै विवरण उपलब्ध गराउन नसकिएको हो ।
रसुवा बाढीपछि उद्धार कार्यमा हेली एभरेस्ट प्रालि, अल्टिच्युड एयर प्रालि, माउन्टेन हेलिकप्टर्स प्रालि, बेस क्याम्प हेली प्रालि, प्रभु हेलिकप्टर्स प्रालि, कैलाश हेलिकप्टर सर्भिसेज प्रालि, एयर डायनास्टी हेली सर्भिसेज प्रालि, फिस्टेल एयर, सिम्रिक एयर प्रालि, अन्नपूर्ण हेलिकप्टर प्रालि र श्री एयरलाइन्ससहित ११ निजी कम्पनी परिचालित भएका थिए ।
प्राधिकरणका अनुसार ती कम्पनीहरूले सञ्चालन गरेका हेलिकप्टरमध्ये सामान्य (नर्मल), एमआई तथा स्लिङ प्रविधि प्रयोग गर्ने तीन प्रकारका हेलिकप्टर परिचालन गरिएको थियो ।

ती हेलिकप्टरहरू मुख्यतः तीन उद्देश्यका लागि प्रयोग गरिएका थिए-घाइतेको उद्धार, राहत सामग्री ढुवानी र शव व्यवस्थापन ।
उद्धारको तथ्यांकले पनि निजी हेलिकप्टरको भूमिका देखाउँछ । प्राधिकरणका अनुसार निजी हेलिकप्टरमार्फत कुल ६ हजार ५१ जनाको उद्धार गरिएको छ । त्यसका साथै १ लाख ५३ हजार ८०३ किलोग्राम राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ । १०३ वटा शव व्यवस्थापनमा समेत हेलिकप्टर प्रयोग गरिएको प्राधिकरणले जनाएको छ ।
निजी क्षेत्रसँगै नेपाली सेनाका हेलिकप्टरहरू पनि व्यापक रूपमा परिचालित भएका थिए ।
सेनाका हेलिकप्टरले डोजर, एक्साभेटर लगायतका भारी उपकरण ढुवानी गर्नुका साथै उद्धार, राहत वितरण र अन्य व्यवस्थापनका काममा समेत भूमिका खेलेका थिए । तर, सेनाको उडान घण्टा र त्यसको लागतसम्बन्धी विवरण भने अझै प्राधिकरणमा प्राप्त भइसकेको छैन ।
महतका अनुसार नेपाली सेनाको एउटा हेलिकप्टर अझै पनि प्रभावित क्षेत्रमा स्ट्यान्डबाइ अवस्थामा राखिएको छ ।
रसुवाको दुर्गम भूगोल, हेली ल्यान्ड गराउन पर्याप्त स्थानको अभाव, दलदल, खोंचसहित जोखिमपूर्ण अवस्थाबीच निजी हेलिकप्टरका पाइलटहरूले निरन्तर उडान भरेका थिए । जोखिम मोलेर गरिएको उद्धार कार्यका कारण नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली पाइलटहरूको प्रशंसा भएको प्राधिकरणका अधिकारीहरूको भनाइ छ ।