२२ असोज २०८३, बिहीबार

वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन

असोज १५, २०८३
काठमाडौं
वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन

प्रधानमन्त्री कार्यालयले सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने औषधिको परिमाण बढाउन कार्यदल गठन गरेको छ ।

यसका साथै कच्चा पदार्थका लागि आवश्यक जडीबुटीको दिगो संकलन सँगै संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गरिएको हो । 

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफल तथा अन्तक्रियापछि कार्यदल गठन गर्ने निर्णय भएको हो । 

अन्तरक्रियापछि समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसम्मिलित कार्यदल गठनको निर्णय भएको प्रधानमन्त्री बालेनको सचिवालयले जनाएको छ ।

सल्लाहकार डा. अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल बनाइ तीन महिनाभित्र समितिको विकासको खाका तयार गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । 

उनले बैठकमा भने, ‘समितिको विकासका लागि जडीबुटीको दिगो संकलनका साथै सम्बन्धित विभिन्न निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्नुहोस्, तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजनासहित काम गर्नुपर्नेछ ।’

कमेन्ट गर्नुहोस्