नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण अघिल्ला दुई संस्करणभन्दा भव्य, प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारी तीव्र पारिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले विगतका संस्करणमा देखिएका कमजोरी सुधार गर्दै खेल मैदानदेखि दर्शक तथा खेलाडीका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिएको जनाएको छ ।
करिब ४० देखि ४५ दिनको निरन्तर कामपछि मैदानको आउटफिल्ड, मर्मत गरिएको पिच, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्याराफिटलगायतका संरचना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
क्यानका उपाध्यक्ष रोशन सिंहका अनुसार यसपटक रंगशाला परिसरमा रहेका खाली तथा जीर्ण स्थानको समेत उपयोग गर्दै दर्शक र खेलाडीका लागि सुविधासम्पन्न संरचना निर्माण भइरहेका छन् ।
दर्शकको बढ्दो आकर्षण र टिकटको उच्च मागलाई मध्यनजर गर्दै क्यानले यस संस्करणमा मैदानको दर्शक क्षमता थप १ हजार ५ सयले बढाउने भएको छ । यसअघि करिब १२ हजार दर्शक क्षमताको मैदानमा खाली स्थानको उपयोग गर्दै थप प्याराफिट निर्माण गरिएको सिंहले बताए ।
यसैगरी, खेलाडीका लागि आधुनिक ड्रेसिङ रुम, नयाँ डगआउट, अन्तर्राष्ट्रियस्तरको आइस बाथ तथा भीभीआईपी र भीआईपीका लागि छुट्टाछुट्टै डाइनिङ हल निर्माण सम्पन्न भएको क्यानले जनाएको छ । सञ्चारकर्मीका लागि समेत छुट्टै सुविधासम्पन्न स्थानको व्यवस्था गरिएको छ ।
यसपटकको एनपीएलमा प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको छ । खेलका क्रममा हुने निर्णयलाई थप निष्पक्ष र पारदर्शी बनाउन क्यानले डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरिरहेको छ ।
करिब ३३ करोड रूपैयाँको कूल बजेटमा सञ्चालन हुने तयारीमा रहेको तेस्रो संस्करणका लागि प्राविधिक टोलीको सिफारिसमा पारदर्शी टेन्डर प्रक्रियामार्फत् उच्चस्तरीय डीआरएस प्रविधि भित्र्याउने तयारी भइरहेको सिंहले बताए ।
उनका अनुसार आईसीसीका प्रतिनिधि, स्टार स्पोर्ट्सको टोली तथा पिच निर्माणसम्बन्धी प्राविधिकले समेत मैदानको स्थलगत निरीक्षण गरिसकेका छन् । उनीहरूले एनपीएलका लागि भइरहेको तयारीको प्रशंसा गरेको सिंहको भनाइ छ ।
नेपालमा आयोजना हुन लागेको यू–१९ महिला विश्वकप तथा एनपीएलप्रति बढ्दो अन्तर्राष्ट्रिय चासोका कारण नेपाली क्रिकेटतर्फ विश्व क्रिकेटको ध्यान केन्द्रित हुँदै गएको क्यानको बुझाइ छ ।
भौतिक पूर्वाधारको सुधार, सुरक्षा व्यवस्था, आधुनिक सेकेन्डरी स्क्रिन, दर्शक क्षमता विस्तार र प्रविधिको प्रयोगसँगै तेस्रो एनपीएललाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताका रूपमा अघि बढाउने तयारी गरिएको छ ।
भिडियो स्टोरी :