
भारतका १५ वर्षीय युवा क्रिकेटर वैभव सूर्यवंशी टाइम म्यागजिनको प्रतिष्ठित सूची 'टाइम १०० नेक्स्ट १००' मा समेटिएका छन्।
विश्वभरिबाट भविष्यका सम्भावित नेतृत्वकर्ता र प्रभावशाली व्यक्तित्वहरूलाई समेट्ने यस सूचीमा वैभव नाम पनि समेटिएको हो ।
बिहारको एउटा सानो गाउँबाट उदाएका वैभवले निकै कम उमेरमै क्रिकेटको मैदानमा आफ्नो जादु देखाउन सुरु गरेका थिए। १२ वर्षको कलिलो उमेरमै व्यावसायिक क्रिकेटमा डेब्यु गरेका उनले सन् २०२४ मा इन्डियन प्रिमियर लिगको बोलकबोलमा कीर्तिमान कायम गर्दै सबैभन्दा कान्छो खेलाडीका रूपमा राजस्थान रोयल्समा अनुबन्धित भएर सबैको ध्यान तानेका थिए।
वैभवको क्रिकेट यात्रा सन् २०२५ मा अर्को उचाइमा पुग्यो। मात्र १४ वर्षको उमेरमा उनले आईपीएलको इतिहासमा सबैभन्दा कान्छो खेलाडी र सबैभन्दा कान्छो 'सेन्चुरियन' (शतक प्रहार गर्ने खेलाडी) बन्ने दुर्लभ उपलब्धि हासिल गरे।
सन् २०२६ मा उनको लय अझ आक्रामक रह्यो। उनले भारतलाई अन्डर-१९ विश्वकपको उपाधि जिताउन निर्णायक भूमिका खेले र 'प्लेयर अफ द टुर्नामेन्ट' घोषित भए। सोही वर्ष, उनले महान् क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमान तोड्दै भारतको तर्फबाट सबैभन्दा कान्छो उमेरमा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने खेलाडीको गौरवपूर्ण इतिहास रचे।
आफ्नो खेल शैलीबारे वैभव भन्छन्, "म जति समय मैदानमा रहन्छु, मेरो लक्ष्य विपक्षीलाई दबाबमा राख्ने र खेललाई आफ्नो हातमा पार्ने नै हुन्छ।" उनको यही निडर स्वभाव र ब्याटिङको आक्रामक शैलीका कारण उनलाई 'भविष्यका सुपरस्टार' का रूपमा हेरिएको छ।
टाइम म्यागजिनले वैभवलाई 'विश्वकै सबैभन्दा रोमाञ्चक खेलाडीहरूमध्ये एक' को संज्ञा दिएको छ।