
भारतबाट ठूलो परिमाणमा सुनका गरगहना लिएर आएकी एक महिला भैरहवाबाट पक्राउ परेकी छन् । साढे दुई किलो बढीका सुनका गहनासहित काठमाडौंकी इला पटेल पक्राउ परेकी हुन् ।
उनलाई सुनका गहना लिएर आउँदै गरेको अवस्थामा भैरहवा र सुनौलीको बीचमा पर्ने डण्डाखोलास्थित शान्ति गेटस्थित सशस्त्र प्रहरीको टोलीले बुधबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर–१९ की ४६ वर्षीया पटेल सुनका गहनासहित पैदलै हिँडेर तीन वटा चेकिङ पार गरिसकेकी थिइन् ।
शुरुमा नेपाल–भारत सीमा गेटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जाँच हुन्छ । भारतीय चेकजाँच पार गरेपछि बेलहियामा रहेको ‘वाक थ्रू’ गेट पार गरेपछि नेपाल प्रवेश गरिन्छ । वाक थ्रू गेटपछि बेलहिया भन्सार कार्यालयमा प्रहरीको टोलीले जाँच गर्छ ।
बुधबार राति साढे ८ बजे सामान्य झोला काखीमा राखेर तीनवटै चेकजाँच पार गरेर आएकी उनी शान्तिगेटमा रहेको सशस्त्र प्रहरीको चेकगुल्मबाट पक्राउ परेकी हुन् ।
जाँचमा खटिएका सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म डण्डालाई शंका लाग्यो । सुरक्षा जाँच टोलीले अस्वाभाविक चालढाल देखाएपछि जाँच गर्दा उनको साथबाट दुई करोडभन्दा बढी मूल्यका सुनका गहना फेला पारेका हुन् ।
सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) गोपीकृष्ण भट्टराईका अनुसार उनी सामान्य फाटेका चप्पल लगाएर काखीमा झोला च्यापेर आएकी थिइन् । उनलाई जाँच गर्दा ठूलो परिमाणमा सुन भेटिएको उनले बताए । ‘हामीलाई अलि पहिलेदेखि हल्का सूचना चाहिँ थियो, सामान्य व्यक्ति सुन ल्याएर नेपाल प्रवेश गर्न सक्छ भनेर,’ भट्टराईले लोकान्तरसँग भने, ‘त्यही सूचनाको आधारमा हामीले निगरानी पनि बढाएका थियौँ । उनी सुनौली गेटबाट प्रवेश गरेको सीसीटीभी फुटेजबाट पनि देखिन्छ ।’
ती महिलाको भनाइअनुसार भैरहवामा कुनै गाडीलाई सुन बुझाएर उनी बुद्ध एयरमार्फत काठमाडौं जाने तयारीमा थिइन् । प्रहरीका अनुसार उनको मोबाइलमा जहाजको टिकट अनलाइनमार्फत लिइएको देखिन्छ । काठमाडौं ठेगाना भए पनि उनी भारतीय रहेकी छन् । नेपालीसँग विवाह गरेको देखिन्छ । ‘उनी राम्रोसँग नेपाली बोल्न र बुझ्न पनि सक्दिनन्,’ भट्टराईले थपे, ‘यति ठूलो मात्रामा स्थलमार्गबाट त्यो पनि पैदल यात्री जस्तै बनेर सुन ल्याउँदा प्रहरीले छोपेको सायद यो पहिलो घटना हो ।’

उनको साथबाट विभिन्न प्रकारका सुनका २ किलो ६५० ग्राम थिए । सुन पसलमा लगेर त्यहाँको मिसावट कटाउँदा एक केजी ठहरिएको भट्टराईको भनाइ छ ।
बरामद गरिएका सुनका गहनामा हार ९ थान, औँठी ८१ थान, चुरा १३ थान, माला ४ थान, हसुली किसिमको सिक्री ८ थान, पत्थरसहितको झुम्का २० थान, झुम्का २४ थान, गोली औँठी १४ थान, लकेट जन्तर १ थान, पोते १७ थान र सिक्री २४ थान रहेका छन् ।
यसैगरी बाली र जुली १८८ जोर, पत्थरसहितको टप ६४ जोर, नाकको फूली २२ थान, पत्थरवाला हार २ थान, सानो झुम्का १० थान, कानको बाली ११ जोर तथा ब्रासलेट ८ थान (सबै विभिन्न डिजाइन, साइजका पत्थरसहितका थिए) ।
सुनौली नाका वीरगञ्जपछि देशकै दोस्रो ठूलो नाका हो । यहाँ भीडभाड धेरै हुन्छ । रातको ८ बजे नेपाल–भारत सीमा नाका बन्द भए पनि स्थानीयहरू खाली हात हिँड्न गरेका छन् ।
त्यही मौका छोपेर हिँड्दै ती महिला सुनसहित नेपाल प्रवेश गरेको उनले बताए । इलाका प्रहरी कार्यालय, सुनौलीका इन्स्पेक्टर हरिराम डाँगीले प्रहरीको जाँच भइरहे पनि कसरी प्रवेश गरिन् अझै खुल्न बाँकी रहेको बताए ।
बरामद सुन प्रहरीले भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी जनकबहादुर शाहीले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।