२२ असोज २०८३, बिहीबार

घाइते पाइलटसँग मोदीको संवाद- घाइते अवस्थामै हनुमान चालिसा पढेँ, भगवानले बचाउनुभयो

असोज १६, २०८३
काठमाडौं
घाइते पाइलटसँग मोदीको संवाद- घाइते अवस्थामै हनुमान चालिसा पढेँ, भगवानले बचाउनुभयो

इजरायलतर्फ जाँदै गरेको फ्लाईदुबई विमानका भारतीय पाइलट स्मित मच्छारले विमान तीव्र गतिमा तल खसिरहेका बेला यात्रुहरूलाई भित्र प्रवेश गर्न र विमानको अवतरण रोक्न आफूले ककपिटको ढोका खोलेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलका क्रममा क्याप्टेन मच्छारले आफू भुइँमा लडेको र सह-पाइलटबाट अझै आक्रमण भइरहेको अवस्थामै विमान खसिरहेको महसुस गरेर केही गर्नुपर्छ भन्ने सोचेको बताएको बीबीसीले जनाएको छ ।

'म घाइते भएर भुइँमा सुतिरहेको थिएँ, तर आफैँलाई भित्रबाट ढोका खोल्न अन्तिम प्रयास गर्नुपर्छ भनेर सम्झाएँ,' उनले भने, 'अरू मानिसहरू पनि भित्र आए र स्थिति नियन्त्रणमा लिन भूमिका खेले। म पक्कै पनि आफ्नै ज्यानका लागि लडिरहेको थिएँ, तर सँगै अरूलाई पनि मर्न दिन्नँ भन्ने मलाई थाहा थियो।'

दुबईबाट तेल अवीवका लागि उडेको उडानमा अर्का पाइलटले आक्रमण गरेपछि उक्त विमान साउदी अरेबियातर्फ डाइभर्ट गरिएको थियो।

मोदीले क्याप्टेनलाई उनको साहस, धैर्य र द्रुत निर्णय क्षमताले धेरै मानिसहरूको ज्यान बचाएको भन्दै सम्पूर्ण देशलाई उनीप्रति गर्व रहेको बताए। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूद्वारा सच्चा हिरोको रूपमा प्रशंसा गरिएका क्याप्टेनलाई शुरूमा उत्तर-पश्चिमी साउदी अरेबियाको ताबुक सहरस्थित एक अस्पतालमा लगिएको थियो। त्यसपछि उनलाई आबुधाबी एयरलिफ्ट गरिएको र हाल उनको अवस्था स्थिर रहेको बताइएको छ।

प्रधानमन्त्रीसँगको कुराकानीका क्रममा पाइलट स्मितले आफू संकटको घडीमा सधैँ भगवानको स्मरण गर्ने बताएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनले भने, 'जब पनि म अप्ठ्यारोमा पर्छु, हनुमान चालिसा पढ्छु। घटनाको दौरानमा पनि म हनुमान चालिसा नै पढेको थिएँ। मलाई थाहा छ कि भगवानले नै मलाई बचाउनुभएको हो।'

कमेन्ट गर्नुहोस्