
महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यसहित ललितपुर महानगरपालिकाले प्रदर्शनीको आयोजना गरेको छ । आइतबारसम्म चल्ने 'महिला उद्यमीहरूबाट उत्पादित वस्तुहरूको प्रदर्शनी- २०८३' को शुक्रबार महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् ।
'लोकल रुट्स टु ग्लोबल रिच' भन्ने नाराका साथ आयोजित प्रदर्शनी पुल्चोकस्थित महानगरको प्राङ्गणमा जारी छ । प्रदर्शनीमा ७५ भन्दा बढी स्टल रहेका छन् ।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्ट , नर्वेका राजदूत डाग्नी म्योस, म्यानमारका राजदूत थान सिन, श्रीलंकाका राजदूत रुवान्ती डेल्पिटिया, नेपालका लागि चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ छिनले, ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
प्रदर्शनीको उद्घाटन गर्दै महानगरका प्रमुख महर्जनले विभिन्न देशका राजदूतहरूको उपस्थितिले महिला उद्यमीलाई प्रोत्साहन मिलेको बताए । महानगरले धेरै तालिम दिए पनि 'एक टोल, एक उत्पादन'को लक्ष्य सोचेजस्तो सफल नभएको बताउँदै उनले उद्यमीहरूलाई राम्रो र बैंकले पत्याउने व्यावसायिक योजना लिएर आउन आह्वान गरे । उद्यमीहरूका लागि महानगर सहुलियत ऋण दिन तयार रहेको उनले बताए ।

ललितपुर देशकै पुरानो शहर भएको बताउँदै उनले महानगरले थुप्रै अन्तर्राष्ट्रिय सम्मान समेत प्राप्त गरेको जानकारी दिए । वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुर महानगरलाई ३५ औँ कला नगर घोषणा गरेको अवगत गराउँदै प्रमुख महर्जनले सांस्कृतिक गतिविधिले महानगरको परिचयलाई उचो बनाएको बताए ।
नेपाल सरकारले यमोरीलाई अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरेको बताउँदै उनले अब छिट्टै यमोरीलाई युनेस्कोले अमूर्त सम्पदाको रुपमा घोषणा गर्नेमा आफू विश्वस्त भएको बताए ।
कार्यक्रममा ललितपुर महानगरपालिकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र सक्षम नबनाएसम्म स्वतन्त्रता प्राप्त हुन नसक्ने बताइन् । महिलाहरूलाई उद्यमी बनाउनुको मुख्य उद्देश्य उनीहरूलाई आर्थिक रूपमा बलियो बनाई समाजमा उद्यमशील संस्कारको विकास गर्नु रहेको उनको भनाइ थियो ।

महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन प्रदर्शनी फलदायी हुने उनले बताइन् । महानगरभित्र २५ सयभन्दा बढी महिला उद्यमी रहेका उनले जानकारी दिइन् ।
यस्तै, महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिलाको आर्थिक शशक्तिकरणका लागि महानगरले धेरै योजना अघि बढाएको बताइन् । आर्थिक शशक्तिकरणविना महिलामाथिको असमानता नहट्ने उनको भनाइ थियो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का डेपुटी चिफ आफ मिसन जुलियन चेभिलार्डले लगानी, बजार र उद्यमशीलता एक अर्काका परिपूरक भएको बताए । धेरै जनाले धेरै ठाउँमा उत्पादन गरेका सामग्रीको बारेमा एकै ठाउँबाट जानकारी लिन प्रदर्शनी महत्त्वपूर्ण स्थान भएको उनको भनाइ थियो ।
उद्यमका लागि लगानी र बजार महत्त्वपूर्ण भएको बताउँदै उनले महानगरले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन गरिएको प्रयासको खुलेर प्रशंसा गरे ।

