२२ असोज २०८३, बिहीबार

आईसीसी विश्वकप लिग–२ क्रिकेट : ओमानमा हुने अन्तिम शृंखलाका लागि नेपाली टोलीको घोषणा

असोज १६, २०८३
काठमाडौं
आईसीसी विश्वकप लिग–२ क्रिकेट : ओमानमा हुने अन्तिम शृंखलाका लागि नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

एकदिवसीय ढाँचाको उक्त शृंखलाका लागि क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

टोलीमा आसिफ शेख (विकेटकपिर), दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलसन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन् ।

लिग–२ मा नेपालले आफ्नो आगामी शृंखला अक्टोबरमै ओमानमा खेल्नेछ । उक्त शृंखलामा नेपाल र ओमानसँगै क्यानडाको पनि सहभागिता रहनेछ ।

लिग–२ प्रतियोगितामा नेपालको यो अन्तिम शृंखला हो । यसपटक लिग–२ प्रतियोगिताको तालिकामा नेपालको अवस्था सन्तोषजनक छैन ।

जारी लिग–२ प्रतियोगितामा सहभागी आठवटै राष्ट्रले ३६/३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।

यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।

सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ ।

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।

त्यसैले सहभागी टोलीहरूका लागि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ ।

तीन पटक आईसीसी टी–२० विश्वकप खेलिसकेको नेपाली टोलीले हालसम्म एकदिवसीय विश्वकप खेल्ने अवसर भने पाएको छैन ।

हालसम्म ३६ खेल खेलेको स्कटल्यान्ड ४५ अंकसहित तालिकाको पहिलो स्थानमा छ । ३२ खेल खेलेको अमेरिका ४३ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ ।

समान ३२ खेल खेलेको नेदरल्यान्ड्स ३८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्यान्ड, अमेरिका र नेदरल्यान्ड्सले विश्वकपको अन्तिम चरणको छनोटमा स्थान बनाइसकेका छन् ।

यसैगरी, २८ खेलबाट ३१ अंक बटुलेको ओमान तालिकाको चौथो स्थानमा छ । ३२ खेलबाट २८ अंक जोडेको नामिबिया पाँचौँ स्थानमा आसिन छ ।

यसैगरी, ३२ खेलबाट २५ अंक जोडेको क्यानडा छैटौँ, ३२ खेलबाट २४ अंक बटुलेको नेपाल सातौँ र २८ खेलबाट १८ अंक हात पारेको यूएई आठौँ स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्