२२ असोज २०८३, बिहीबार

जनसम्पर्क समिति कलस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने शालिकराम गौतमको घोषणा

असोज १६, २०८३
काठमाडौं
जनसम्पर्क समिति कलस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने शालिकराम गौतमको घोषणा

नेपाली कांग्रेसका युवा नेता शालिकराम गौतमले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

असोज १८ गतेबाट हुने १५औँ महाधिवेशनमा ‘जन सम्पर्क समिति’ कलस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने नेता गौतमले लोकान्तरलाई जानकारी दिए । हाल उनी नेदरल्याण्डबाट महाधिवेशन प्रतिनिधि छन् ।

पार्टीलाई समयसापेक्ष, गतिशील र युग सुहाउँदो बनाउनका लागि आफूले उम्मेदवारी दिन लागेको उनले बताए । ‘रूपान्तरित तथा युवाको बाहुल्यता रहेको पार्टीलाई समयसापेक्ष, गतिशील र युग सुहाउँदो बनाउने उद्देश्यसहित उम्मेदवारी दिने निर्णयमा पुगेको छु‚’ उनले भने ।

२०३८ सालमा बागलुङमा जन्मेका गौतम विद्यार्थी जीवनमै कांग्रेसको नीति विचारसँग आबद्ध भएका हुन् ।

उनको राजनीतिक यात्रा श्री महाजन माध्यमिक विद्यालय बागलुङमा इकाई अध्यक्ष हुँदै शुरू भएको हो ।

राजनीतिको यात्रा उनी नेपाली कांग्रेस बेल्जियम जनसम्पर्क समितिको महामन्त्रीसम्म भए । रेस्टुरेन्ट व्यवसायमा संलग्न उनी नेदरल्याण्ड पुगेपछि त्यहाँ जनसम्पर्क समिति महामन्त्री र पछि सभापति बनेका थिए ।

उनी पार्टीको १३ औँ महाधिवेशनमा नेदरल्यान्डबाट महाधिवेशन प्रतिनिधि तथा १४ औँ महाधिवेशनमा पनि महासमिति सदस्य भएका थिए ।

सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतसँग निकट सम्बन्ध बनाएका उनी पार्टीको विशेष महाधिवेशनका अभियन्ता समेत हुन् ।

‘मेरो उमेर र अनुभव पार्टीमा लगानी गर्ने मन छ, कर्मभूमिमा बसेर जन्मभूमिको सेवा गर्ने मन छ‚’ उनले थपे ।

कमेन्ट गर्नुहोस्