२२ असोज २०८३, बिहीबार

परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

असोज १६, २०८३
काठमाडौं
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

जर्मन नागरिक जोसेफ पिटर रिन्डफ्लाइसको निजी सङ्ग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी महत्त्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपाललाई हस्तान्तरण गरिएको छ।

राष्ट्रिय अभिलेखालयमा आयोजित कार्यक्रममा उक्त ८ सयभन्दा बढी दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा. मनिक बज्राचार्य र राजन खतिवडाले संयुक्त रूपमा परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् ।

प्राध्यापक माइकल्स रिन्डफ्लाइशका छोरा वाल्टर रिन्डफ्लाइसका साथी हुन् । छोरा वाल्टरले बुबाका दस्तावेजहरू नेपाल फिर्ता गराउनका लागि प्राध्यापक माइकल्सलाई हस्तान्तरण गरेका थिए । त्यसपछि प्राध्यापक माइकल्सले हाइडेलबर्ग विश्वविद्यालयमार्फत नेपाललाई हस्तान्तरण गरेका हुन् ।

परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा ती ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको हो। जर्मनीका लागि नेपाली राजदूतावास, हाइडेलबर्ग विश्वविद्यालय, हाइडेलबर्ग एकेडेमी अफ साइन्सेज एन्ड ह्युमानिटिज, सराफ फाउन्डेसन र राष्ट्रिय अभिलेखालयको सहकार्यमा ती दस्तावेज नेपाल फिर्ता ल्याइएको हो।

परराष्ट्रमन्त्री खनालले ऐतिहासिक दस्तावेजको स्वदेश फिर्तीले नेपालको सांस्कृतिक अखण्डता र सभ्यतागत सम्पदामाथिको सार्वभौम स्वामित्वलाई पुनःस्थापित गरेको बताए ।

'हाम्रा कला, साहित्य, परम्परा र पवित्र ग्रन्थहरू भौतिक अवशेष मात्र होइनन्, ती हाम्रो सभ्यताका जीवन्त आत्मा हुन्। तिनले शताब्दीयौंदेखिको दार्शनिक चिन्तन, राजनीतिक शासन, कानुनी ज्ञान र आध्यात्मिक जीवनलाई बोकेका छन्,´ उनले भने, `प्रत्येक ऐतिहासिक दस्तावेजको आफ्नै भूमिमा फिर्ती सांस्कृतिक अधिकारको पुनःस्थापना र हाम्रो सभ्यतागत सम्पदामाथिको सार्वभौम स्वामित्वको फेरि प्रतिबद्धता हो।´

मन्त्री खनालले स्वर्गीय जोसेफ पिटर रिन्डफ्लाइसले आफ्नो निजी सङ्ग्रहमा रहेका आठ सयभन्दा बढी महत्त्वपूर्ण नेपाली दस्तावेज स्वदेश फिर्ता गर्ने इच्छा व्यक्त गरेको स्मरण गर्दै उनको सांस्कृतिक सम्पदाप्रतिको सम्मान र दूरदर्शी सोचको प्रशंसा गरे ।

उनले रिन्डफ्लाइसका छोरा वाल्टर रिन्डफ्लाइसले आफ्ना पिताको इच्छालाई सम्मान गर्दै ती दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संस्थानका प्राध्यापक डा. एक्सेल माइकल्सलाई हस्तान्तरण गरेकोमा आभार व्यक्त गरे । 

`यो असाधारण अभिलेखमा प्राचीन ताडपत्र, राजकीय सनद, अदालतका आदेश, संस्कृतका ग्रन्थ र ऐतिहासिक यात्रा विवरणहरू समेटिएका छन्। यी दस्तावेज नेपालको राजनीतिक, कानूनी र बौद्धिक विकासक्रम बुझ्नका लागि अपरिहार्य स्रोत हुन्,´ उनले भने ।

मन्त्री खनालले दस्तावेजहरूको पहिचान, अभिलेखीकरण र स्वदेश फिर्तीमा योगदान पुर्‍याउने प्राध्यापक डा. एक्सेल माइकल्स र उनको अनुसन्धान टोलीको प्रशंसा गर्दै उनीहरूको शैक्षिक इमानदारी, अनुसन्धान र निरन्तर प्रयासले ऐतिहासिक दस्तावेज फिर्ती सम्भव भएको बताए ।

सन् १७८० र १९९० को दशकमा नेपालबाट सङ्कलन गरिएको यस सङ्ग्रहमा ताडपत्र, रुक्का, लालमोहरलगायतका आठ सयभन्दा बढी राजकीय लिखतहरू समावेश छन्। यो सङ्ग्रहलाई हाइडेलबर्ग विश्वविद्यालयको पुस्तकालय र हाइडेलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा–प्रतिष्ठानद्वारा संरक्षण र सूचीकरण गरी नेपाल सरकारको सहकार्यमा नेपाल फिर्ता गरिएको हो।

यस सङ्ग्रहमा रहेका ताडपत्रहरूमा केही नेपालको पुराना मध्येकै छन्। सङ्ग्रहको सूचीअनुसार ताडपत्र, लालमोहरसहित ४६५ मल्लकालीन ताडपत्र तथा माटाको छापसहित ३१२ शाह र राणाकालीन कानूनी सनद तथा राजकीय कागजात, १८ राणा प्रधानमन्त्री कार्यालयका हस्तलिखित ग्रन्थ तथा यात्रा डायरी र ११ विविध विषयका हस्तलिखित ग्रन्थहरू छन्।

नेपाल र जर्मनी सन् १९७० को युनेस्को सांस्कृतिक सम्पत्तिको अवैध आयात, निर्यात तथा स्वामित्व हस्तान्तरण रोकथामसम्बन्धी महासन्धिका पक्ष राष्ट्र भएको उल्लेख गर्दै उनले दस्तावेज हस्तान्तरणले उक्त अन्तर्राष्ट्रिय महासन्धिको भावना र मर्मप्रतिको साझा प्रतिबद्धता उजागर गरेको बताए ।

`आजको हस्तान्तरण हाम्रो साझा अन्तर्राष्ट्रिय प्रतिबद्धताको महत्त्वपूर्ण उदाहरण हो। यी दस्तावेजको सहज फिर्तीका लागि जर्मन सरकार, काठमाडौंस्थित जर्मन दूतावास र हाइडेलबर्ग विश्वविद्यालयले गरेको सक्रिय सहयोगको हामी उच्च कदर गर्दछौँ,´ उनले भने ।

मन्त्री खनालले सन् २०२६ अप्रिल २४ मा प्राध्यापक डा. माइकल्सले बर्लिनस्थित नेपाली दूतावासलाई ती दस्तावेज औपचारिक रूपमा हस्तान्तरण गरेको स्मरण गर्दै यस प्रक्रियामा नेपाली दूतावास, परराष्ट्र मन्त्रालय र राष्ट्रिय अभिलेखालयबीच भएको समन्वयको प्रशंसा गरे ।

कमेन्ट गर्नुहोस्