नेपालमा पहिलोपटक आयोजना हुन गइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीले अहिले व्यापक रूपमा तीव्रता पाएको छ ।
सन् २०२२ मा नै आईसीसीबाट सन् २०२७ को विश्वकप सह–आयोजना गर्ने ऐतिहासिक जिम्मेवारी पाएको नेपालले आफ्नो पूर्वाधार विकासलाई जोडतोडका साथ अघि बढाइरहेको छ ।
यसै क्रममा काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा पूर्वाधार निर्माण, मैदान स्तरोन्नति र आवश्यक सेवा–सुविधा थप गर्ने कार्य धमाधम भइरहेका छन् ।
हालै आईसीसीका प्रतिनिधिहरूले त्रिवि क्रिकेट मैदानका साथै मूलपानीको माथिल्लो र तल्लो दुवै मैदानको प्रत्यक्ष स्थलगत निरीक्षण गरी भौतिक प्रगतिप्रति उच्च सन्तोष व्यक्त गरेको क्यानका उपाध्यक्ष रोशन सिंहले जानकारी दिए ।
विश्वकपका खेलहरूलाई भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि मूलपानी मैदानभित्रका मुख्य संरचनाहरूलाई अन्तिम रूप दिइँदैछ ।
मैदानभित्र मुख्य पिच निर्माणको काम लगभग शतप्रतिशत सम्पन्न भइसकेको छ भने सातवटै पिच तयारीको अन्तिम अवस्थामा पुगेका छन् । वर्षाका कारण केही समय मैदान गिलो भए तापनि पिच र मैदानको भित्री भागको काम पूर्ण रूपमा तयार भइसकेको छ ।
अब बाँकी रहेका काममा आधुनिक ड्रेसिङ रुम, खेलाडीका लागि आवश्यक अन्तर्राष्ट्रिय स्तरको शौचालय, आइस बाथ, डाइनिङ हल, मिडिया सेन्टर र ब्रोडकास्टिङ टोलीका लागि विशेष क्षेत्रको व्यवस्थापन कार्यलाई अघि बढाइरहेको सिंहले बताए ।
दर्शकहरूको सुविधालाई मध्यनजर गर्दै मूलपानी मैदानमा कम्तीमा १५ सयदेखि २ हजार क्षमताको स्थायी प्याराफिट निर्माण गर्ने योजना अघि सारिएको छ । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकासँग विशेष समन्वय भइरहेको सिंहको भनाइ छ ।
सिंहका अनुसार खेलको प्रत्यक्ष अनुभवलाई अझ उत्कृष्ट बनाउन आधुनिक डिजिटल स्कोरबोर्ड जोड्ने विषयमा समेत छलफल भइरहेको छ । आईसीसीको मापदण्डअनुसार सुरक्षा व्यवस्थालाई मजबुत बनाउन घेराबार, पेन्टिङ, अफिस हलको मर्मत तथा पार्किङ क्षेत्रको विस्तार कार्य पनि निरन्तर अघि बढाइएको छ ।
क्यान, स्थानीय सरकार, नागरिक समाज र खेलप्रेमीहरूको एकीकृत प्रयासले मूलपानीलाई अन्तर्राष्ट्रिय क्रिकेटको एउटा प्रमुख हबका रूपमा स्थापित हुनु सकारात्मक सन्देश हो । बालबालिका तथा युवा खेलाडीलाई मैदानसम्म ल्याएर क्रिकेटप्रति आकर्षित गर्ने र विश्वभर नेपालको आतिथ्य तथा क्षमताको सकारात्मक सन्देश पुर्याउने लक्ष्य राखिएको छ ।
यो विश्वकपको सफल आयोजनासँगै नेपालले भविष्यमा थप ठूला आईसीसी र एसियाली स्तरका प्रतियोगिता आयोजना गर्नका लागि बलियो दाबी प्रस्तुत गर्नेछ ।
भिडियो :