२२ असोज २०८३, बिहीबार
महाधिवेशन महासङ्ग्राम

कांग्रेसको हाइटेक महाधिवेशन- जर्मन प्रविधिको मञ्च, आँधी-हुरी र पानीको छैन डर

असोज १६, २०८३
काठमाडौं

नेपाली कांग्रेसको १५ औं महाधिवेशन यही असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा भव्य रूपमा प्रारम्भ हुँदैछ। 

महाधिवेशनको सम्पूर्ण तयारीसँगै मञ्च निर्माणको काम यतिबेला खुलामञ्चमा द्रुत गतिमा अघि बढिरहेको छ । यसपटक खुलामञ्चमा निर्माण भइरहेको मञ्च र बन्द सत्रका हलहरू नेपालमा प्रयोग भइरहेका परम्परागत शैलीभन्दा बिल्कुलै अलग, अत्याधुनिक र उच्च प्रविधियुक्त रहेका छन् ।

मञ्च निर्माणको जिम्मा पाएको इभेन्ट सोलुसनका प्राविधिकका अनुसार जर्मन प्रविधिको ह्याङ्गर र एल्मुनियम फ्रेम प्रयोग गरेर मञ्च तथा हल तयार पारिँदैछ । लगभग २० फिट उचाइमा निर्माण भइरहेको मुख्य मञ्च हलुका भए पनि निकै बलियो हुनेछ । 

आँधी हुरीसँग लड्न सक्ने र माथिबाट परेको पानीलाई पूर्ण रूपमा छेक्ने वाटरप्रुफ प्रविधिबाट यी संरचना खडा गरिएका छन् । सामान्यतया ठूलाठूला साङ्गीतिक कन्सर्ट तथा नाडा र नाइमाजस्ता भृकुटीमण्डपका ठूला अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रयोग हुने यस्ता उच्चस्तरीय ह्याङ्गर र एल्मुनियम बेस यस महाधिवेशनमा प्रयोग गरिएको हो ।

यो मञ्च निर्माणको काम आइतबारको मूल कार्यक्रम अगावै अर्थात् शनिबारसम्ममा बत्ती, साउन्ड र इलेक्ट्रोनिक डिभाइसहरूको सबै टेस्टिङ सकेर सम्पन्न गरिने बताइएको छ।  

महाधिवेशनमा देशभरका सात हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ । बन्द सत्रका लागि खुलामञ्चमै तीनवटा विशाल हल निर्माण भइरहेका छन । जहाँ प्रत्येक हलमा २५०० भन्दा बढी प्रतिनिधि सहजै अटाउन सक्छन् ।

असोज १८ गतेको उद्घाटनका अवसरमा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछ भने सोसलिस्ट इन्टरनेसनलका महासचिवलगायत विदेशी प्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विपद्‌लाई मध्यनजर गर्दै यसपटकको महाधिवेशनलाई कुनै पनि भड्किलो स्वरूप नदिने निर्णय गरिएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बताए । 

शर्माका अनुसार शहरका कुनाकाप्चा, सडक वा भित्ता जस्ता कुनै पनि स्वागतद्वारमा झन्डा राखिने छैनन् । खुलामञ्चभित्र मात्रै दुईवटा गेट बनाइनेछ । साथै, उम्मेदवारहरूलाई पनि फ्लेक्स वा ब्यानर टाँस्न रोक लगाउँदै कडा आचारसंहिता लागू गरिएको छ ।

खुलामञ्चभित्रै अत्याधुनिक मिडिया सेन्टर, हेल्थ डेस्क, खानेपानी र घुम्ती शौचालयको पूर्ण प्रबन्ध मिलाइएको काठमाडौं जिल्ला सचिव तथा मञ्च व्यवस्थापन संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । उनले महाधिवेशनलाई लिएर कुनै पनि अलमल वा भ्रममा नपर्न देशभरका कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

भिडियो सामग्री :

 


 

कमेन्ट गर्नुहोस्