२२ असोज २०८३, बिहीबार

भुटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित

असोज १६, २०८३
काठमाडौं
भुटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित

 नेपालमा क्रिकेट खेल्न आएको भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा खेलिएका चारवटै अभ्यास खेलमा पराजित भएको छ। पोखरा रङ्गशालामा आज सम्पन्न टी–२० पुरुष क्रिकेटको अन्तिम अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान)–११ सँग भुटानी टोली १०४ रनको फराकिलो अन्तरले पराजित भएको हो।

यससँगै भुटानले नेपाल भ्रमणअन्तर्गत खेलेका चारवटै अभ्यास खेलमा पराजय व्यहोरेको छ। घरेलु टोली गण्डकी र क्यान–११ सँगका दुई–दुईवटा खेलमा भुटान पराजित भएको हो।

अन्तिम खेलमा जितका लागि १७७ रनको लक्ष्य पछ्याएको भुटानको टोली १७ ओभरको तेस्रो बलमा ७२ रनमै अलआउट भयो। भुटानका लागि सोनाम चोपेल र आनन्द मोंगरले समान १५ रन बनाए भने नामगे थिन्लेले १३ रन तथा तासी फुन्त्सोले १५ रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

क्यान–११ का बलर विपीन शर्माले घातक बलिङ गर्दै चार ओभरमा १९ रन खर्चेर पाँच विकेट लिए। आकाश चन्दले दुई विकेट लिए भने राशिद खान, प्रकाश जैसी र विपीन खत्रीले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो। त्रितराज दासले सर्वाधिक ५१ रन बनाए। उनले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरे। कप्तान विपीन खत्री ३८ रनमा अविजित रहे। मयंक यादवले १५ बलमा २६, राशिद खानले १३ बलमा २४ तथा सिब्रिन श्रेष्ठले १३ बलमा १९ रन बनाए।

प्रतियोगितामा विजेता बन्न सफल क्यान–११ र गण्डकी प्रदेशको टोलीलाई सामाजिक विकास तथा खेलकुदमन्त्री रेखा गुरुङले च्याम्पियन ट्रफी प्रदान गरिन्।

आइसिसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’को तयारीका लागि भुटानको टोली पोखरा आएको हो। मलेसियामा शनिबारदेखि आइसिसी ‘मेन्स टी–२०’ विश्वकप एसिया सबरिजनल क्वालिफायर ‘ए’ प्रतियोगिता सुरु हुँदैछ।

सोही प्रतियोगितामा सहभागी भुटानले अभ्यास र तयारीका लागि पोखराको मैदानलाई रोजेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए।

कमेन्ट गर्नुहोस्