
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)मा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको सम्बन्ध र भेटघाटबारे प्रधानन्यायाधीशको भनाइ बाझिएपछि तीव्र विवाद भएको खुलेको छ ।
फूल कोर्ट बैठकमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चोलेन्द्रसँग कहिले भेट्दिनँ भनेको र कहिले भेटेको स्वीकार गरेको भन्दै विरोधाभासपूर्ण अभिव्यक्ति दिएपछि बैठकमा तीव्र विवाद भएको खुलेको हो ।
भदौ १२ गते बसेको बैठकमा प्रधानन्यायाधीश शर्मा शुरूमा राणासँग आफ्नो कुराकानी नभएको भन्दै पन्छिन खोजका थिए । तर, पछि फेरि मध्यराति २ बजे भएको फोनवार्ताको प्रसंग निकालेपछि बैठकमा विवाद भएको थियो ।
सर्वोच्चका एक न्यायाधीशले लोकान्तरडटकमलाई दिएको जानकारीअनुसार प्रधानन्यायाधीश शर्माको पूर्वप्रधानन्यायाधीश राणासँगको सम्बन्ध, भेटघाट तथा बिचौलियाको सल्बलाहटबारे व्यापक प्रश्न उठेको थियो । चोलेन्द्रसँगको सम्बन्धबारे कुरा उठेपछि प्रधानन्यायाधीश शर्माले शुरूमा पन्छिँदै ‘मेरो कति दिनदेखि भेटघाट नै भएको छैन’ भन्दै जवाफ दिएका थिए ।
त्यसलगत्तै वरिष्ठतम न्यायाधीश सपनाप्रधान मल्लले मध्यराति २ बजे भएको फोनवार्ताको प्रसंग उठाएकी थिइन् । ‘तपाईंले ढाँट्नुहुन्छ ? अस्ति मध्यराति २ बजे कल गर्नुभएको भनेर तपाईंले नै भन्नुभएको होइन’ भन्दै सपनाले प्रश्न गरेपछि प्रधानन्यायाधीशको भनाइ बाझिएको ती न्यायाधीशले बताए ।
‘सपना श्रीमान्ले कुरा समातेपछि शारङ्गा श्रीमान( न्यायाधीश शारङ्गा सुवेदी)ले पनि कुरा मिलेन नि सम्माननीयज्यू भन्दै कुरा राख्नुभयो,’ ती न्यायाधीशले लोकान्तरसँग भने, ‘त्यसपछि प्रधानन्यायाधीश रक्षात्मक बन्नुभयो ।’
ती न्यायाधीशका अनुसार भदौ १० गते राति प्रहरीले चोलेन्द्रलाई नियन्त्रणमा लिन जाँदा चोलेन्द्रले शर्मालाई मध्यराति नै फोन गरेर जानकारी गराएको कुरा शर्माले अन्तिममा स्वीकार गरेका थिए ।
००००
नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन र त्यसको परिणाम गत भदौ २३ र २४ गतेको घटनाको ‘बाइप्रडक्ट’ भएको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै बादलले भदौ २३ र २४ गते भएको ‘देश दहन’ तथा नागरिक सरकार र संसद्को विघटनलाई नयाँ विश्व व्यवस्था पुनर्गठनको नेपाल संस्करणका रूपमा व्याख्या गरे ।
००००
प्रहरीको पोसाक खरिदमा भएको अनियमितताको विषयमा अध्ययन गर्न उपसमिति गठन भएको छ ।
सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले उपसमिति गठन गरेको हो ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाको नेतृत्वमा उपसमिति गठन गरिएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।
००००
नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वसभापतिहरूको हैसियत विधानमै स्पष्ट गर्ने तयारी गरेको छ । पार्टीको वर्तमान विधानले पूर्वसभापतिहरूको हैसियतबारे नबोलेको उल्लेख गर्दै प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनबाट यस विषयलाई सम्बोधन गरिने बताएका हुन् ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले १८ असोजदेखि शुरू हुने महाधिवेशनले पूर्वसभापतिहरूको स्थान र भूमिकाबारे स्पष्ट व्यवस्था गर्ने जानकारी दिए ।
००००
आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
एकदिवसीय ढाँचाको उक्त शृंखलाका लागि क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
००००
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको सिँचाइ र जलस्रोत क्षेत्रलाई पूर्वाधार विकास मन्त्रालयमा गाभ्ने तयारी गरेका छन् ।
अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रीदेखि प्रशासनिक तहका कर्मचारी समेतसँग यस विषयमा प्रधानमन्त्री शाहले छलफल गरिसकेको स्रोतको दाबी छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पूर्वाधार निर्माणसँग सम्बन्धित निकायलाई ‘वान विन्डो’ (एकद्वार) प्रणालीबाट अगाडि बढाउँदा विकास निर्माणले गति लिने र वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न सहज हुने उद्देश्यका साथ यो विषयमा छलफल भएको हो ।
‘सिँचाइ पनि पूर्वाधारकै एक हिस्सा भएकाले यसलाई पूर्वाधार सम्बन्धी मन्त्रालयमा लैजाँदा द्रुत गतिमा काम हुन सक्छ कि भन्ने विषयमा छलफल भएको हो’, ऊर्जा मन्त्रालयका ती उच्च अधिकारीले लोकान्तरसँग भने, ‘यो अहिले प्रारम्भिक छलफलको विषय मात्र हो, कुनै औपचारिक वा मन्त्रिपरिषद्स्तरको निर्णय भइसकेको छैन ।’
प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार मन्त्रालयसहितका निकायबीच भएको छलफलमा यस्तो अवधारणाबारे विचार-विमर्श भएको ती अधिकारीले जानकारी दिए ।
००००
नेपालमा क्रिकेट खेल्न आएको भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा खेलिएका चारवटै अभ्यास खेलमा पराजित भएको छ। पोखरा रङ्गशालामा शुक्रबार सम्पन्न टी–२० पुरुष क्रिकेटको अन्तिम अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान)–११ सँग भुटानी टोली १०४ रनको फराकिलो अन्तरले पराजित भएको हो।
००००
पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब ७५ करोड ८० लाखको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ।
विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र रोजगारमुखी शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।
००००
विशेष अदालतले सुरक्षा मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर भएको मुद्दामा अदालतले शुक्रबार उनलाई दुई वर्ष कैद र ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ ८५ पैसा जरिवाना गर्ने फैसला सुनाएको छ।
००००
नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता भएका छन्। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले ती विधेयक संसद्मा दर्ता गराएका हुन्।
मन्त्री पौडेलले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८३ प्रतिनिधिसभामा दर्ता गराएका हुन्। यी विधेयक पारित भएपछि प्राधिकरण विभाजनको लागि बाटो खुल्नेछ।
००००
संघीय संसद्को चालु अधिवेशन गएराति १२ बजेबाट अन्त्य भएको छ । संघीय संसद् सचिवालयले दिएको जानकारी अनुसार प्रतिनिधिसभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशन २०८३ साल वैशाख २८ गते सोमबारबाट शुरू भएको थियो ।
यसबीचमा १४५ दिन बैठक मध्ये ६२ दिनहरूमा ६८ वटा बैठक बसेको थियो । यस अवधिमा २७७ घण्टा ३० मिनेट संसदीय काम कारबाहीमा व्यतीत भएको छ ।
राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ। अधिवेशनको अन्त्य गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको विवरणअनुसार अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको थियो।
००००
निर्वाचन आयोगले निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनसम्बन्धी विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग छलफल गरेको छ। छलफलका लागि चौबीस वटा राजनीतिक दललाई बोलाइएको थियो ।
कार्यक्रममा बढीभन्दा बढी मतदाताको सहभागिता सुनिश्चित गर्ने, बदर मत न्यूनीकरण गर्ने, मतदाता नामावलीलाई शुद्ध र अद्यावधिक बनाउने, विदेश तथा अन्तरजिल्ला मतदानको व्यवस्था गर्ने, निर्वाचनमा सूचना प्रविधिको प्रयोग गर्ने तथा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको आयोगले जनाएको छ ।
००००
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता असोज १९ गते हुने भएको छ ।
कांग्रेस निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शुक्रबार विज्ञप्तिमार्फत उम्मेदवारहरूले असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभा गृहमा मनोनयनपत्र दर्ता गराउन सक्ने जानकारी दिएका हुन् ।
००००
प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयका कार्यरत पदाधिकारी र कर्मचारीको नाम आफ्नो आधिकारिक वेवसाइटमा सार्वजनिक गरेको छ। टोलीमा २५ जना पदाधिकारी र कर्मचारी छन्।
कार्यालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टिममा मन्त्री र राज्यमन्त्री सरहका विशिष्ट व्यक्तिहरू समेटिएका छन् ।
कुमार ब्यञ्जनकार अवैतानिक मुख्य राजनीतिक सल्लाहकार रहेको विवरणमा उल्लेख छ। उनीसहित राजनीतिक सल्लाहकार असिम शाहले मन्त्री सरह तलब सुविधा पाएका छन् ।
यसैगरी, अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिशप्रसाद अग्रवाललाई मन्त्री सरहको सेवा सुविधा दिइएको छ। नीति, प्रशासन तथा सुशासन सल्लाहकार यसैगरी सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरहको सुविधा दिइएको छ।