२२ असोज २०८३, बिहीबार
मोफसलबाटै संगीतमा साम्राज्य

बसन्त : बुटवलमै बनेको 'ब्रान्ड'

असोज १७, २०८३
बुटवल
बसन्त : बुटवलमै बनेको 'ब्रान्ड'

संघीय राजधानीको चमकबाट टाढा रहेर पनि संगीतको आफ्नै संसार बनाउन सकिन्छ भन्ने उदाहरण हुन् बुटवलका बसन्त श्रेष्ठ । साढे दुई दशकदेखि नेपाली लोकपप, पप र आधुनिक संगीतमा सक्रिय श्रेष्ठलाई ‘हाम्रो बाबाले किन्देको जुत्ता’ले श्रोतामाझ चिनाएको थियो । आफ्नै ब्याण्ड ‘बासन एन्ड द क्रुज’मार्फत संगीत यात्रालाई निरन्तरता दिइरहेका उनी अहिले पनि बुटवललाई नै कर्मभूमि बनाएर गीत, सिर्जना र सांगीतिक माहोल निर्माणमा रमाइरहेका छन् ।

जन्मथलो बुटवललाई कर्मभूमि बनाएर अघि बढेका श्रेष्ठ गीत/संगीतको क्षेत्रमा रम्न थालेको साढे दुई दशक भयो । २०६५ मा श्रेष्ठले बजारमा ल्याएको ‘हाम्रो बाबाले किन्देको जुत्ता’ गीत युवा पुस्तामाझ निकै रुचाइएको थियो । सरल शब्द, सहज प्रस्तुति र नेपाली समाजसँग जोडिएको भावका कारण यो गीतले एक समयको पुस्तालाई विशेष रूपमा छोएको बसन्त बताउँछन् ।

बसन्तले ब्याण्डमार्फत आफ्नो सांगीतिक गतिविधि र लाइभ शोहरूलाई निरन्तरता दिँदै आएका छन् । राजधानी केन्द्रित सांगीतिक बजारभन्दा बाहिर रहेर पनि मोफसलमै कला साधना गर्ने स्रष्टाका रूपमा श्रेष्ठ आफूलाई चिनाउन चाहन्छन् । बुटवल क्षेत्रमा संगीतको माहोल सिर्जना गर्न उनको ठूलो भूमिका छ ।

उनी ‘म्यूजिक’ पढेरै संगीत क्षेत्रमा लागेका हुन् । मोफसलमा बसेर नाम र दाम दुवै कमाएका श्रेष्ठ ‘आर्ट्स अफ लिभिङ’ सम्बन्धी र विभिन्न भजनहरू पनि गाउने गर्छन् । बसन्तको घरमा बाबा स्व. दुर्गानारायण र दाजु रूपेशले पनि गीत गुनगुनाउँथे, उनीहरूले नारायण गोपालका गीत गाएको सुनेर आमा विमला पनि प्रेरित थिइन् । ‘बाबा, दाइ र आमासँगै म पनि सानैदेखि गीत गाउन थालेँ,’ बसन्त भन्छन्, ‘गीत गाउँदै गर्दा यही क्षेत्र लागियो, रोजियो पनि ।’
गीतमा हाइप, स्वरमा दम र व्यक्तित्व आकर्षक भएका बसन्तसँग संगीतको बृहत् ज्ञान पनि छ । उनले हरेक प्रतियोगितात्मक कार्यक्रममा निर्णायकको भूमिका पनि निभाउँदै आएका छन् ।

बुटवलको कान्ति बोर्डिङ स्कुलबाट उनले २०५६ मा एसएलसी उत्तीर्ण गरे । तिलोत्तमा क्याम्पसबाट व्यवस्थापन संकायमा पठनपाठन पूरा गरे । त्यसपछि काठमाडौं गएर ‘डिप्लोमा इन म्युजिक’ र ‘मास्टर्स’ पनि ‘म्युजिक’मै पूरा गरे ।

पढाइ सकेर बसन्त आफ्नै क्षेत्रमा केही गर्ने सोचसहित बुटवल फर्किए । बुटवल फर्किएर उनले लाइभ म्युजिक सुरु गरे । ‘त्यसबाट मैले निकै रेस्पोन्स पाएँ,’ बसन्त भन्छन्, ‘अमरपथको पट ब्ल्याक रेस्टुरेन्ट, भोजा बार र सिटी भ्यू रेस्टुरेन्टमा गजल साँझ गर्दा बुटवलको माहोल निकै चम्किएजस्तो हुन्थ्यो ।’ गीत-संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, समय, समाज र पुस्ताको अनुभूति अभिव्यक्त गर्ने माध्यम पनि हो ।

null

यही दृष्टिले गर्दा उनी आफ्नो गृहनगरलाई कर्मभूमि बनाएर यही क्षेत्रमा रमाइरहेका छन् । उनले पप तथा आधुनिक संगीतलाई आफ्नो सिर्जनाको माध्यम बनाउँदै स्थानीय परिवेशबाट राष्ट्रिय सांगीतिक धारासँग जोडिने प्रयास गरेका छन् । बुटवलमा सांगीतिक गतिविधि विस्तार हुँदै गएको समयमा उनको सक्रियताले स्थानीय संगीत वातावरणलाई समेत योगदान दिएको छ । उनले ‘रेसम फिलिली’ मुभीको ‘पारी त्यो डाँडा’ बोलको गीत, ‘प्रियसी’, ‘सिरबन्दी’, ‘टाढा धере टाढा चरी’ लगायत दर्जनौँ गीत बजारमा ल्याएका छन् ।

श्रेष्ठको सिर्जनाको विशेषता भनेको सहज र सम्झन सकिने शब्द, नेपालीपन बोकेको भाव र समकालीन संगीतको प्रयोग हो । आजभोलि नेपाली संगीतको स्वरूप धेरै बदलिएको छ । प्रविधि फेरिएको छ, गीत सुन्ने माध्यम फेरिएका छन् र नयाँ पुस्ताका कलाकार तथा संगीतका शैलीहरू आएका छन् । तर, कुनै समय श्रोताको मनमा बसेका गीत र तिनका सर्जक भने सम्झनामा रहिरहने बसन्त बताउँछन् ।

गीत-संगीतलाई मान्छेको हृदयको झंकार पनि मानिने बताउँदै बसन्तले ‘म्यूजिक’ले हरेक तहका मान्छेलाई आनन्द प्रदान गर्दै मानिसमा अनेक भाव पनि जगाउने बताए ।

बसन्तले अब छिट्टै गाउँको एउटा केटा सहरमा झरेपछि बिग्रिएको बारे सन्देश दिने ‘डम्बरे’ गीत र भिडियो ल्याउने तयारी गरेका छन् । त्यस्तै नारी शोषणविरुद्धका गीत र पृथ्वीनारायण शाहसँग सम्बन्धित गीत पनि ल्याउने गरी काम गरिरहेको उनले बताए ।

बसन्तको ब्याण्डमा किरण विकास, अंकित कपाली, जर्मन नेपाल जोडिएर काम गरिरहेका छन् । गीत गाउनु वा सिर्जना गर्नु भनेको केवल मनोरञ्जन दिनु मात्र होइन, संस्कार, बोलीचाली, परम्परा, भाषा, संस्कृति, भेषभूषा आदिबारे बुझ्नु/बुझाउनु पनि हो । अहिले राम्रा गीतहरू बजारमा आएका छन् ।

संगीतको क्षेत्रमा लागेर के उपलब्धि भयो भन्ने प्रश्न कहिलेकाहीँ नआउने पनि होइन । तर, यसलाई उनले प्रश्नै नभई उत्तर दिने गर्छन् । ‘केलाई कमाएँ भन्ने मुख्य कुरा हो । उपलब्धिलाई हेर्ने दृष्टिकोण मात्र हो,’ उनी भन्छन् ।

कमेन्ट गर्नुहोस्