२२ असोज २०८३, बिहीबार

गगन-विश्व लक्षित नेता महतको आरोपः व्यक्तिगत महत्त्वाकांक्षाले कांग्रेसलाई ‘रास्वपाकरण’ गरे

असोज १७, २०८३
काठमाडौं
गगन-विश्व लक्षित नेता महतको आरोपः व्यक्तिगत महत्त्वाकांक्षाले कांग्रेसलाई ‘रास्वपाकरण’ गरे

नेपाली कांग्रेसको असन्तुष्ट समूहका नेता प्रकाशशरण महतले पार्टी नेतृत्वको कार्यशैली र वैचारिक दिशामाथि प्रश्न उठाएका छन् । व्यक्तिगत महत्त्वाकांक्षाका लागि पार्टीका मूल्य-मान्यता, विचार र संस्थागत पद्धतिलाई कमजोर बनाइएको आरोप लगाउँदै उनले कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्तै बनाउने प्रयास भइरहेको टिप्पणी गरेका हुन् । 

शनिबार बिहान चक्रपथस्थित एक होटलमा पत्रकारहरूसँगको अन्तरक्रियामा महतले पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश सहितका वर्तमान पार्टी संस्थालाई लक्षित गर्दै कांग्रेसको मौलिकता छाडेर व्यक्तिकेन्द्रित राजनीतिक अभ्यास अघि बढाइएको आरोप लगाए । उनीहरूले ‘डेमोक्रेटिक सोसियोलिजम’ छाडेर ‘सामाजिक समाजवाद’ भन्नु रास्वपाको नीतिलाई अंगिकार भएको नेता महतले आरोप लगाए । साथै उनले कांग्रेसमा विगतमा हुने वैचारिक बहस र सामूहिक निर्णयको परम्परा कमजोर हुँदै गएको दाबीसमेत गरे ।

‘नेपाली कांग्रेसमा कुनै समय सिद्धान्त र विचारको बहस हुन्थ्यो । विभिन्न दृष्टिकोण आउँथे, सबैलाई संश्लेषित गरेर एउटा निष्कर्षमा पुगिन्थ्यो । अहिले एउटाले बोल्ने र अरूले ताली बजाउने अवस्था देखिँदै छ,’ महतले भने ।

नेता महतले कांग्रेसको वैचारिक आधारका रूपमा रहेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कमजोर पार्न नहुनेमा जोड दिए । राष्ट्रियताको सवालमा सम्झौता गर्ने वा उदासीन बन्ने प्रवृत्तिले मुलुककै आधार कमजोर हुने उनको भनाइ थियो । 

धारणा राख्ने क्रममा उनले बीपी कोइरालाको विचार स्मरण गर्दै उनले राष्ट्रियता कमजोर भए प्रजातन्त्रलगायत अन्य राजनीतिक उपलब्धिको अर्थसमेत कमजोर हुने बताए । कांग्रेसले आम नागरिकको जीवनस्तर उकास्ने र विभिन्न वर्गका आवश्यकतालाई सम्बोधन गर्ने दिशामा काम गर्नुपर्ने उनले उल्लेख गरे ।

उनले कांग्रेसले आफ्नो वैचारिक पहिचान जोगाउँदै नागरिकका पक्षमा काम गर्नुपर्नेमा जोड दिए । पार्टीको नाम, नेतृत्व वा प्रचारप्रसारभन्दा त्यसले अवलम्बन गर्ने सिद्धान्त र व्यवहार महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

उनले कांग्रेसलाई ‘कांग्रेस २.०’ बनाउने नाममा पार्टी सञ्चालनको स्थापित पद्धति र वैचारिक आधारबाट विचलित हुन नहुने बताए । उनका अनुसार कांग्रेस कुनै एक व्यक्तिका लागि निर्माण भएको पार्टी नभई आफ्नै विचार, संस्थागत संरचना र लोकतान्त्रिक अभ्यास भएको संगठन हो । पार्टीभित्र फरक मत राख्ने, आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने र सामूहिक छलफलबाट निष्कर्षमा पुग्ने परम्परा कमजोर हुँदै गएको उल्लेख गर्दै महतले अहिलेको अभ्यासले कांग्रेसलाई रास्वपाको शैलीतर्फ लैजान खोजेको आरोप लगाए ।

‘अन्य पार्टीको, विशेषगरी रास्वपाको जस्तो मोडेल अपनाउने हो भने कांग्रेसको मौलिकता नै हराउन सक्छ,’ उनले भने, ‘पार्टी सञ्चालनको मोडेल पनि छाडिँदै छ र विचार पनि छाडिँदै छ ।’

महतले पार्टीको नेतृत्वले व्यक्तिगत महत्त्वाकांक्षालाई प्राथमिकता दिँदा मूल्य–मान्यता र राजनीतिक संस्कारसमेत ओझेलमा परेको आरोप लगाए । पद प्राप्त गर्नुमात्रै राजनीतिक सफलताको आधार हुन नसक्ने भन्दै उनले विचार र सिद्धान्तप्रतिको प्रतिबद्धता महत्त्वपूर्ण हुने बताए ।

‘व्यक्तिगत महत्त्वाकांक्षाका लागि मूल्यमान्यता र संस्कारलाई तिलाञ्जली दिइन्छ‚’ उनले भने‚‘मूल्य र मान्यता राखिँदैन, विचार गरिँदैन भने त्यसको के अर्थ छ र ? म त्यसको कुनै अर्थ देख्दिनँ।’ 

महतले कांग्रेसले आफ्नो मौलिक विचार र राजनीतिक पहिचान जोगाउन नसके पार्टीको अस्तित्वमै प्रश्न उठ्ने चेतावनीसमेत दिए । लोकप्रियतावादको पछि लागेर तत्कालीन राजनीतिक लाभ खोज्ने प्रवृत्तिले कांग्रेसलाई वैचारिक विचलनतर्फ लैजाने उनको भनाइ छ । प्रजातान्त्रिक व्यवस्थामा प्रतिपक्षीको भूमिका मात्र होइन संविधानको रक्षा र विधिको शासनका विषयमा बोल्दै उनले कांग्रेसले लोकतान्त्रिक मूल्यमान्यताका पक्षमा स्पष्ट अडान लिनुपर्ने धारणा राखे । 

‘लोकतन्त्रको मूल मर्म, संविधानको व्यवस्था र कानुनी प्रावधानविपरीत काम हुन थालेमा त्यसको सशक्त विरोध हुनुपर्छ । अहिले त्यो भूमिका प्रभावकारी रूपमा निर्वाह भइरहेको छैन,’ महतले भने ।
 

कमेन्ट गर्नुहोस्