
मध्यराति १ बजे । चारैतिर सुनसान, चिसो सिरेटो र दर्के झरी । तर, मोरङको सुन्दरहरैँचा–५ की वडा सदस्य इन्दिरादेवी चापागाईंका लागि भने समयको कुनै सीमा छैन । मोबाइलको घण्टी बज्छ र उताबाट आवाज आउँछ– ‘दिदी, आश्रममा फलानो भाइ छट्पटायो, अलि समस्या भयो, आउनुस् न !’
इन्दिरा न समय हेर्छिन्, न मौसम । उनी आफ्नो स्कुटर स्टार्ट गर्छिन् र दौडिहाल्छिन् । उनी जनप्रतिनिधि त हुन्, तर उनको वास्तविक पहिचान वडा कार्यालयको कुर्सी र फाइलमा मात्र सीमित छैन; उनी त सडकमा बेवारिसे, मानसिक सन्तुलन गुमाएर घरपरिवारबाटै दाम्लो र साङ्लामा बाँधिएका असहायहरूको जीवित आमा हुन् ।
इन्दिरादेवीको जीवनको ठूलो हिस्सा संघर्षमै बित्यो । २०५१ सालतिरै परदेशिएकी उनले झन्डै १८ वर्षसम्म खाडी र इजरायलमा बिताइन् । कुवेतमा ११ वर्ष बिताएपछि उनी इजरायल गएकी थिइन् । इजरायलमा उनले बिरामी, वृद्धवृद्धा र अशक्तहरूको स्याहारसुसार (केयरगिभर) गर्ने काम पाइन्, त्यहाँ उनले देखिन राज्य र समाजले अशक्त तथा मानसिक बिरामीहरूलाई कति सम्मान, माया र व्यवस्थित रूपमा उपचार गर्छ ।
२०६९ सालमा जब उनी नेपाल फर्किइन्, यहाँको दृश्यले उनको मुटु चसक्क बनायो । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूलाई समाजले पागल भन्दै ढुङ्गा हान्ने, सडकमा भोकभोकै छोड्ने र आफ्नै परिवारले पनि लाज र गरिबीका कारण वर्षौंसम्म खुट्टामा काठको ठिङ्ग्रो (लकडी) वा साङ्लोले बाँधेर गोठमा थुन्ने गरेको वीभत्स यथार्थ उनले देखिन्
‘विदेशमा बिरामीको हेरचाह गर्दा उनीहरू मसँग निकै खुसी हुन्थे,’ इन्दिरा विगत सम्झिन्छिन्, ‘नेपाल आएपछि लाग्यो– हाम्रा गरिब नेपाली दाजुभाइ–दिदीबहिनी त उपचार नपाएर, अलिकति माया नपाएरै पशुझैँ बाँधिएका छन्। यिनलाई कसले हेर्ने ?’
श्ुरूआती दिनमा इन्दिराले सडकमा भेटिएका असहायहरूलाई आफ्नै खर्चमा उद्धार गर्थिन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरेर गाडी माग्थिन्, आफ्नै खल्तीबाट तेल हाल्थिन् र उपचारका लागि बिर्तामोडसम्म पुर्याउँथिन् । कतिपयको नागरिकता थिएन, कतिपय बालबालिकाको जन्मदर्ता थिएन । बुवाले अस्वीकार गरेका सन्तानको जन्मदर्ता गराउन उनी आफैँ चौकी र वडा धाउँथिन् ।

तर, सधैँ अरूको संस्थामा कति पठाउने ? आफ्नै क्षेत्रमा एउटा सुरक्षित छहारीको आवश्यकता उनले महसुस गरिन् ।
जग्गा खोजिन् । समाजमा यस्ता मानिसहरूका लागि जग्गा दिन सजिलै कोही अघि सरेनन् । उनले साथीभाइसँग कुरा राखिन् । उनीहरूले सुन्दरहरैँचा–५ स्थित नयाँ वृन्दावन गौशालाका संरक्षक पण्डित दीनबन्धु शास्त्रीजीसमक्ष कुरा राखे । ‘दीनबन्धु शास्त्रीले जग्गा दिनुभएछ, मलाई थाहा भएन्,’ उनले भनिन्, पछि त्यहाँ पुग्दा तपाइले अगाडि सारेको योजना शुरू हुन थाल्यो नि भन्दा म छक्क परेँ ।’
गौशालाकै जग्गामा स्थानीय मारवाडी समुदाय (अग्रवाल परिवार)को सहयोगमा एउटा ठूलो हल र भवन निर्माण भयो । त्यहाँ बेडहरूको व्यवस्था गरियो अनि स्थापना भयो– ‘मङ्गल राधिका सदानन्द सेवा केन्द्र ।
आज आश्रममा१७ जना आश्रित छन् । स्थापना भएको एक वर्षको अवधिमा ४० जनाभन्दा बढी बेसहारा, मनोरोगी तथा सडक मानवहरूले यहाँ नयाँ जीवन पाइसकेका छन् ।
घरमा हुँदा तोडफोड गर्ने, मान्छेलाई आक्रमण गर्ने र साङ्लो चुँडाल्न खोज्ने मानिसहरू यहाँ आएपछि शान्त हुन्छन् । ‘मानसिक समस्या भएकालाई औषधीभन्दा ठूलो कुरा माया र सम्मान चाहिन्छ,’ इन्दिरा भन्छिन्, ‘हामी उनीहरूलाई थुनेर राख्दैनौँ । मिठो खान दिन्छौँ, भाइ, बहिनी भनेर अँगालो हाल्छौँ । जब म आश्रम पुग्छु, उनीहरू मलाई घेर्न आइपुग्छन्, ‘दिदीले के ल्याइदिनुभयो ? भन्दै हाँस्छन् । उनीहरूको त्यो मुस्कान नै मेरो संसार हो ।’
कतिपय व्यक्तिहरू त वर्षौंसम्म खुट्टामा काठको लकडी ठोकेर राखिएका अवस्थाबाट उद्धार गरिएका थिए । निरन्तरको औषधोपचार, खानपिन र माया पाएपछि उनीहरू पूर्ण रूपमा निको भएर आफ्नै घर फर्किएका छन् । तर, कतिपय यस्ता अभागी पनि छन्, जसलाई घरपरिवार अझै खोज्न आएका छैनन्, परिवार भेटिएका दुईजना भाइहरूले त घर जानै मानेनन् । उनीहरू भन्छन्, ‘हामीलाई यहीँ राम्रो छ, हामी दिदीलाई छोडेर कतै जाँदैनौँ ।’

आश्रम चलाउनु चानचुने कुरा होइन । बिरामीको खाना, लुगाफाटो, स्याहारका लागि राखिएका दुईजना कर्मचारीको तलब र नियमित मानसिक रोगको औषधीको खर्च निकै ठूलो हुन्छ । तर, इन्दिरा र उनको समितिले यसका लागि कुनै ठूलो दातृ निकायको मुख ताकेका छैनन्
समितिका सदस्यहरू र सहयोगी मनहरूले दैनिक एक रुपैयाँका दरले रकम जम्मा गर्छन् । कहिले स्वास्थ्य महाशाखाबाट औषधी जुट्छ, कहिले मनकारी दाताहरूले दाल–चामल ल्याइदिन्छन् । बाँकी अपुग खर्च इन्दिरा आफैँ र उनका सहयोगीहरूले व्यवस्थापन गर्छन् । अभाव र चुनौतीका चाङ छन्, तर इन्दिराको आत्मबलका अगाडि ती सबै गौण बन्छन् ।
स्थानीय तहको निर्वाचनमा वडा सदस्य निर्वाचित भएपछि इन्दिराको जिम्मेवारी झन् बढेको छ । उनी भन्छिन्, ‘जनताले भोट दिएर जिताएका हुन्, कुर्सीमा बसेर भाषण गर्न होइन । असहायको आँसु पुछ्न नसक्ने राजनीति मलाई आउँदैन ।’
दिनभरि वडाको विकास निर्माण र जनताका काममा खटिने उनी साँझ–बिहान भने आश्रमका बिरामीहरूको सेवामा भेटिन्छिन् ।
‘मलाई थकाइ भन्ने चिजै लाग्दैन सर,’ इन्दिराको आवाजमा अनौठो ऊर्जा सुनिन्छ, ‘जबसम्म शरीरमा सास रहन्छ, सडकमा कसैलाई बेसहारा मर्न दिनेछैन । दाम्लोमा बाँधिएकाहरूको बन्धन फुकाउन मेरो स्कुटर यसरी नै दगुरिरहनेछ ।’