केन्द्रीकृत मानसिकताको चेपुवामा कर्णाली

कमल बहादुर महत
कमल बहादुर महत

महत समसामयिक विषयमा कलम चलाउँछन्।

डा. गोविन्द केसीको १५ औं आमरण अनशन विगतको समृद्ध जुम्ला राज्यबाट शुरू भएर केही अघि मात्रै सकियो । यो आन्दोलनले विगतको कर्णाली अञ्चलको सन्दर्भमा मेडिकल शिक्षा, मार्सी चामल, प्रहरी ज्यादती, सडक, समृद्धि लगायतका मुद्दाहरूलाई फेरि एकपटक केही दिनका लागि भए पनि बाहिर ल्याएको थियो ।

प्रहरी प्रशासनको ज्यादती कर्णाली अञ्चलमा प्रहरी प्रशासनको तल्लोदेखि माथिल्लो पदहरूमा १८४६ सालको जुम्ला राज्यमाथि कठिन गोर्खाली विजय पछि पहुँच नहुनुले पनि काम गरेको देखिन्छ । १८४६ सालपछि पहिलेको बडाहाकिम, अञ्चलाधीश अनि हालको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला न्यायाधीश, क्याम्पस, विकास साझेदारका कर्णालीस्थित प्रमुख पदहरू लगायतमा एकाध बाहेक कर्णालीवासीहरूको प्रतिनिधित्व नहुनुले पनि कर्णालीवासीहरूले ज्यादती, अन्याय भोगिरहनु परिरहेको छ । हाल सो भेगबाट केही प्रतिनिधित्व भएतापनि उनीहरूमा पनि उकालो लागेपछि धरातल बिर्सने वा खोलो तर्‍यो, लौरो बिर्स्यो भन्ने रोग कायम भएको देखिन्छ । 


Advertisement

गोविन्द केसीको सहयोगी भनिएका डा. जीवन क्षेत्रीले आफ्नो ब्लग (जीवनक्षेत्री डट् ब्लगस्पट डट्कम)मा अन्नपूर्ण पोस्ट दैनिकमा तराई आन्दोलनको दौरान भएका रिपोर्टिङ झुटो भएको भनी विनाआधार व्यापक प्रयत्न गरेको देखिएको थियो । साथै उनले विगतको आमरण अनशनको दौरान वार्ता समितिबाट किन पछाडि हटे त्यसबारे पनि प्रस्ट पार्न जरूरी ठानेनन् ।

त्यस्तै केसी र उनका सहयोगी भनिएका डा. जीवन क्षेत्रीलगायतको खासगरी नेपाली कांग्रेस, विवेकशील पार्टी र पश्चिमा शक्तिहरू जो नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लागू गर्न र नेपाल राष्ट्रलाई रसातलमा पुर्‍याउन उद्यत छन् सँग साँठगाँठ देखिन्छ । गोविन्द केसीले नेपाली कांग्रेसका एकजना युवा नेता जो गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पक्षमा दिलोज्यान दिएर लागिपरेका छन् को लागि मत मागेको देखिन्छ त्यस्तै विवेकशील पार्टी जसको पार्टी सञ्चालनदेखि एजेन्डाहरू पश्चिमा राष्ट्रसँग नजिक देखिन्छ साथै गोविन्द केसी लगायतहरू कम्युनिस्टप्रति अनुदार र पश्चिमा एजेन्डाप्रति बफादार छन् भन्ने गन्ध पाइन्छ ।


Advertisement

साथै डा. केसीको अहम्ले प्रस्ट काम गरेको देखिन्छ नत्र त खासगरी नाकाबन्दी, २००७ सालदेखि कर्णाली लगायत नदीहरू भारतलाई बुझाउँदा, हालको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति प्रकरण, रूक्मागंद कटुवाल काण्डमा अघिल्लो दिन एउटा अडानमा कायम ब्रोडशीटहरू भोलिपल्ट अर्को अडानमा कायम हुँदा (जुन पश्चिमा मुलुकमा पनि गर्न दिइँदैन), धर्मनिरपेक्षता, संघीयताले देश थिलथिलो हुँदा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बारम्बार प्रश्नपत्र बाहिरिँदा, कर्णाली अञ्चल अस्पताल हट्याउँदा उनी किन बोलेनन् प्रश्नचिह्न खडा गरिदिएको छ । 

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको र त्यहाँ एमबीबीएस लगायतको अध्ययन अध्यापन हुने भनिरहँदा सुर्खेतमा २ वटा मेडिकल कलेजको लागि बजेट भाषण लगायतमा आउनुले केन्द्रीय सोच, कर्णाली अञ्चलका नेताहरूको सुर्खेतीहरूको तुलनामा पहुँचलाई उजागर गर्दछ । 

रोचक के छ भने अनशनमा बसेका डा. केसीले ‘तिमीहरूलाई (कर्णालीवासीलाई) न्याय हुनेछ’ भन्ने खालको अभिव्यक्ति दिएको कुरा एउटा अनलाइनमा आयो जुन उनको अहंको पराकाष्ठा मान्न सकिन्छ अनि कर्णालीवासीहरूलाई हेर्ने बाहिरिया दृष्टिकोणको प्रतिनिधित्व ।

छिमेकी भारतको मणिपुर राज्यमा आइरन लेडी पनि भनिने आइरोम चामु शर्मिला भनिएकी विश्वकै सबैभन्दा लामो आमरण अनशन (१६ वर्ष) मा बसेकी जुन मणिपुर राज्यमा आर्म्ड फोर्सेस (स्पेसल पावर्स) ऐन (आफ्स्पा), १९५८ जसले विना वारेन्ट भारतको जम्मु कश्मीर लगायत ७ वटा राज्यमा विना वारेन्ट मानिसको घरतलासमा खानतलास गर्न र यदि ‘शंका’ लागेमा नागरिकलाई थुन्न, ‘मार्न’ सम्म अधिकार दिएको छ जसबाट सयौं नागरिकहरूको ज्यान गइसकेको छ विरुद्ध आमरण अनसन बसिन् र अन्त्यमा राजनीतिक दलबाट अनशन तोडी चुनाव लड्दा (सन् २०१६) मा ९० भोट मात्र पाइन् ।

तसर्थ को कति जेल बस्यो वा आमरण अनशन बस्यो भन्दा पनि को कति पवित्र र नैतिकवान् छ त्यसले ठूलो महत्त्व राख्छ । कर्णालीका दुईवटा ज्ञात सपूतहरू योगी नरहरिनाथ र सौभाग्य शाहले सत्य, न्याय, नेपाली राज्यको पक्षमा आवाज उठाउँदा अपमान सहनुपरेको इतिहास साक्षी छ ।

यो आन्दोलनको दौरान देखिएको रोचक पक्ष त के छ भने विगतमा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको जस लिने कर्णाली प्रदेशका एकजना मन्त्री लगायत मुख्यमन्त्री नै अनशनरत डा. गोविन्द केसीलाई लिन प्रतिष्ठान पुगे जहाँ गोली चलेकोसम्म ज्यादती भएको कुरा बाहिर आयो । काठमाडौंले गोली चलेको अफवाह भएको दाबी गरिरहँदा एउटा राष्ट्रिय दैनिकका प्रदेश संवाददाताले प्रदेश ६ को संसदमा गोली चलेको भनी निज मन्त्रीले नै भनेको कुरा प्रकाशमा ल्यायो । आखिर उपयोगितावाद, कुर्सी, पार्टी/सिद्धान्त परिवर्तन, देशभन्दा व्यक्तिगत स्वार्थको प्रधानताले कर्णाली लगायत हाम्रा पूर्खाले विश्वमै कायम रहेका पुराना देशमध्येको नेपालको अस्तित्व नै नामेट नहोला भन्न सकिन्न ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली अञ्चल अस्पताललाई विस्थापन गरेर ल्याइएको हो कर्णालीवासी लगायत स्वास्थ्यपचारको लागि अत्यधिक जाने नेपालगञ्जमा नेपालगञ्ज मेडिकल कलेज र भेरी अञ्चल अस्पताल छँदैछ तर कुनै अमुक पार्टी र व्यक्तिहरूको हठ, स्वार्थ पूरा गर्न कर्णाली अञ्चल अस्पताललाई विस्थापन गरेर स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक कार्यकर्ता (विद्यार्थी) भर्ती केन्द्र, प्रश्नपत्र बाहिरिने, अपारदर्शिता (संसदमा जुम्लाका सांसदले उठाएका), फ्रेश मेडिकल स्नातकहरूको लर्निङ सेन्टर जस्ता पक्षले जग नहाल्दै लरखराउँदो अवस्थामा पुगेको छ ।

पंक्तिकार स्वयंले सो प्रतिष्ठान स्थापनाको जस लिने व्यक्तिले नै सो प्रतिष्ठानमा सामान्य पेटसम्बन्धी उपचार बारम्बार गर्दा पार नलागेपछि जुम्ला चौधबीसका नागरिकलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मौखिक भनसुनसहित पठाएको व्यक्तिहरूसँग जुम्लादेखि नेपालगञ्जसम्म गाडीमा यात्रा गर्ने मौका पाएको थियो । त्यस्तै त्यहाँ जागिर लगाइदिए बापत पार्टी प्रवेश गराएको तथ्य पनि बाहिर आएको छ । अझ कतिसम्म छ भने साना पार्टीका ठालूले पनि सो प्रतिष्ठानमा भाग पाएको देखिन्छ । आखिर पार्टी भन्ने त्यस्तै नै हो, वर्गीय, नातावादको स्वार्थ मिलेपछि संसारभर नै । 

त्यस्तै, रोचक के छ भने अनशनमा बसेका डा. केसीले ‘तिमीहरूलाई (कर्णालीवासीलाई) न्याय हुनेछ’ भन्ने खालको अभिव्यक्ति दिएको कुरा एउटा अनलाइनमा आयो जुन उनको अहंको पराकाष्ठा मान्न सकिन्छ अनि कर्णालीवासीहरूलाई हेर्ने बाहिरिया दृष्टिकोणको प्रतिनिधित्व ।

जुम्ला बजारको थेग्ने क्षमताले नै सो प्रतिष्ठान जुम्लाको अन्य स्थल वा कर्णाली अञ्चलका अन्य जिल्लाहरूमा राख्नुपर्ने हो त्यहाँको अञ्चल अस्पताललाई विस्थापन नगरेर । 

साथै कर्णाली अञ्चलका जिल्लाहरूमा गतिलो, भरपर्दो सडक कनेक्टिभिटीको बन्दोबस्त, विद्युत् आपूर्ति उम्दा बनाएर, त्यस्तै सबैभन्दा महत्त्वपूर्ण त सो प्रतिष्ठानले गुणस्तरीय सेवामा फड्को मारेर नै विश्वसनीयता कमाउन सक्छ न कि दुर्गममा बसेर पैसा, नम्बर, करीयर फड्को मार्ने माध्यम बनाउन गरिन्छ जुन हाल विद्यमान छ । त्यसो त जुम्ला बजार र त्यसको वरिपरि मात्रै विकास भएको बारे जुम्लाभित्र नैै गुनासो छ । त्यस्तै कर्णालीको अन्य ४ वटा जिल्लाहरूमा जुम्ला र जुम्लीहरूको मात्र पहुँच बढ्यो भन्ने आरोपलाई सम्बोधन गर्न पनि अन्य जिल्लाहरूमा सुलभ स्वास्थ्य, शिक्षा, रोजगारी लगायतको पूर्वाधार, सम्भावनालाई प्राथमिकता दिनु जरूरी देखिन्छ । त्यसो त जुम्लामै दशकौंदेखि गतिलो विद्युत् आपूर्ति गर्न नसकेको, सुलभ र सुरक्षित बाटो बनाउन नसकेको सरकार अनि स्थानीय नेताहरूबाट आन्तरिक कनेक्टिभिटीको कल्पना स्वैरकल्पना मात्र हुन सक्छ । 

केसी र सरकारको सहमतिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने ठोस आधार देखिँदैन त्यसले मूर्तरूप नलिँदासम्म । जग नहाल्दै विभिन्न ‘काण्ड’हरूमा फसेको प्रतिष्ठानबाट अहिलेकै अवस्थामा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवाको आश गर्नु मोदीले नेपाली संसदमा भाषण गर्दा भावुक भएको जस्तो मात्रै हो, जसको केही समयपछि नाकाबन्दी शुरू भयो ।

कर्णाली लगायत दुर्गम क्षेत्रको विकास नहुनुमा हुनेखाने, हवाईजहाज चढ्ने, काठमाडौं, नेपालगंज लगायतमा कर्णालीबाट वा कर्णालीको नाममा कमाएर धन सम्पत्ति थुपार्ने चलनले काम गरेको देखिन्छ । 

विगत १८४६ भन्दा अघिको समृद्ध, स्वाभिमानी जुम्ला राज्य हाल दयनीय अवस्थामा पुग्नुमा त्यतिबेला गोर्खालीहरूको विजयमा कर्णालीले जाजरकोट लगायत राज्य जस्तो सहज रूपमा सहयोग नगर्नुले पनि काम गरेको देखिन्छ । भौगोलिक रूपमा दुर्गम वा उस्तै रहेको सुदूरपश्चिमको केन्द्रीय राज्यसत्ता संयन्त्रमा कर्णाली भन्दा धेरै पहुँच हुनुमा सहज गोर्खाली विजयलाई सुनिश्चित गर्नु, केन्द्रसँग बिहाबारी लगायत सम्बन्ध हुनुले काम गरेको देखिन्छ । 

कर्णालीको गुमेको साख जोगाउने हो भने आफ्नो पुर्खाले मान्दै आएको थान, मस्टो छाडेर धर्मपरिवर्तनमा सरिक हुने, अनि बाहिरिएकाको आशभन्दा पनि विगतको स्वाभिमान, आत्मनिर्भरतालाई आदर्श मान्दै पश्चिमा दर्शनमा आधारित साम्यवाद, मार्क्सवाद, समाजवाद भन्दा आफैं एकीकृत हँुदै, एउटै पार्टीका पनि विभिन्न गुटमा झुण्डिनु भन्दा सामूहिक मौलिक नेतृत्वमार्फत कर्णाली र देशकै कायापलट गर्न सकिन्छ । 

५०, ६० वर्ष अघिका अभिलेखहरूले विगतको जुम्ला राज्य अन्तर्गतको हाल तिब्बतबाट डोल्पा, कालिकोट, हुम्ला, मुगु लगायत ठाउँहरूमा तिब्बतीहरू त्यतिबेला प्रचलनमा रहेको मित लगाएर ३,४ महिना कोदो, जौं लगायत अन्नबाट भोकमरी टारेको भेटिन्छ । त्यस्तै, डोल्पा लगायत क्षेत्रमा अन्न बढी भएको, कर्णालीमा अन्न बढी भएर वस्तुभाउलाई दिइने गरेको, महिनौंसम्म दाइँ हाल्ने चलन रहेको अद्यापि सुन्न, पढ्न पाइन्छ । 

जुम्ला राज्य कला (त्रिकोणात्मक झण्डा चन्दननाथ, भैरवनाथ लगायत लिङ्गोहरूमा देखिन्छ), संस्कृति, भाषा, भेषभूषा, व्यापारको केन्द्र थियो जुन हाल ओझेलमा परेको देखिन्छ भूपीको भैरहवा कवितामा जस्तै । 

कर्णालीभित्रै प्रशस्त सरकारी, गैरसरकारी पदहरू नेतृत्वकर्ताको अकमण्र्यता, केन्द्रको दया गर्ने प्रवृत्ति, सौभाग्य शाहकै भाषामा नेपाल भारतकेन्द्रित हो, हिमालय सुरक्षा छाता भन्ने भारतको चासो सम्बोधन गर्नुपर्छ भन्ने वैचारिक तुँवालो नतोडेमा, अझै पनि गोर्खालीहरूलाई खानाको पालो लगाउनुपर्छ (याने कि बाहिरियाभन्दा हामी कमजोर छौं अनि उनीहरूको सेवा गरेर जुनी काट्नुपर्छ भन्ने मानसिकता) नतोडेमा जुम्लीहरूमा सो हीनग्रन्थी, भावना जसले गहिरोसँग जरा गाडेको छ नहटेमा जुम्ला याने कि कर्णालीको समृद्धि फगत कल्पना मात्रै हुने निश्चित छ । 

कर्णालीको तिब्बतसँग नजिकै सिमाना जोडिनु र नेपाल दिल्ली दरबारको पञ्जाबाट अझै मुक्त नभैसकेकोले गर्दा पनि कर्णाली समृद्धिको ढोका अझै खुल्न सकेको पाइँदैन। कर्णालीभित्रै पनि नेतृत्वकर्ताहरूमा कोटा लिन कर्णालीलाई प्रयोग गर्ने, आफनो घर, जग्गा, श्रीसम्पत्ति शहरतिर जोड्ने प्रवृत्तिले गर्दा सो भेगप्रति अपनत्व, लगाव कम भएको पाइन्छ ।

त्यस्तै, भारत लगायत पश्चिमाहरूको तिब्बत, जनजाति मुद्दा भएकाले खसहरूको बाहुल्य रहेको कर्णाली अझै आफैं नउठेमा पछि पर्ने निश्चित जस्तै छ । त्यहाँ पार्टी, संगठन, एनजीओ, पत्रकारिता, नेतागिरीमा हत्कन्डा गर्नेले नै नियमित जसो ठाउँ पाइरहने हो भने कर्णालीको समृृद्धि अझै दूर हुने निश्चित जस्तै छ । 

तसर्थ अब कर्णालीवासीहरूले विगतको शान अनि काठमाडौं लगायत ठाउँहरूमा घर कर्णालीतिर भन्न पनि हिचकिचाउने प्रवृत्ति त्याग्न आत्मस्वाभिमान जगाउन जरूरी छ र कर्णाली मात्र होइन यो धरमराउँदो नेपाली राष्ट्र राज्यलाई एकीकृत भएर सही दिशा दिन जरूरी देखिन्छ । खस राज्यको उत्कर्ष कालमा राजधानी खाल्डोलाई बारम्बार हप्तौं जुम्ला राज्यले कब्जा गरेको विगतको इतिहास कर्णालीवासीले बिर्सन हुँदैन ।

नेपाली भाषाको हालसम्म भेटिएको शिलालेख तत्कालीन जुम्ला राज्यमा नै भेटिएको थियो । सो नेपालीभाषीहरू हाल नेपाल, भारत, बर्मा लगायत विश्वभर फैलिनुले सो राज्यको वैभव, संस्कार, संस्कृतिको उच्चतम समृद्धिको द्योतकलाई जनाउँदछ । त्यस्तै, जुम्लाबाट दुल्लुसम्म रथ हिँड्ने बाटो हुनु, सांस्कृतिक वैभवको चरम विन्दुमा काँक्रेविहार लगायतमा बौद्ध धर्मलाई समभाव अनुसार ठाउँ दिनुले, त्यस्तै सिंजा राज्यको क्याम्ब्रिज विश्वविद्यालय लगायतको टोलीबाट उत्खनन हुँदा सो राज्यको दरबार लगायत जग आधुनिक, वैज्ञानिक हुनु, सो समयमा नै सिंचाईमा उत्कृष्ट इञ्जिनियरिङ, व्यवस्थापन थियो भन्ने जनाउँछ जुन आजकल कथाजस्तो लाग्दछ ।

कालान्तरमा जुम्ला राज्यका तत्कालीन राजा शोभन शाहीले गोर्खाली राज्य समक्ष जाजरकोट, बझाङ राज्य लगायत जसरी सजिलै आत्मसमर्पण नगर्नुले केन्द्रसँग सो राज्यको पूर्वराजाहरूको वैवाहिक लगायत अन्य सम्बन्ध नहुनु लगायत तत्कालीन नेपाल राज्यलाई जुम्ला राज्य एकीकरण गर्न गाह्रो भएकोले गर्दा सो राज्य वा हालको केहीअघिको कर्णाली अञ्चललाई निरन्तर बहिष्करणमा पारेको देखिन्छ ।

सो राज्यका अन्तिम राजा शोभन शाहीले ताक्लाकोटबाट निरन्तर विद्रोह गरी जुम्ला राज्य लान कोशिश गरेको तथा जुम्लामा तेरा लाग्दा शोभान शाही लामाथाडा भङ्गको उखान अद्यापि प्रचलनमा छ । 

जुम्ला राज्य नेपाली राज्यसँग एकीकरण भएपश्चात् पनि काठमाडौंबाट १२ वर्षमाथिका ’विद्रोह’ गर्ने जुम्ली केटाहरूको टाउको काट्नु लगायत फरमानहरू जारी भएका पत्रहरू अभिलेखित भएको पाइन्छ । जुम्ला राज्यमा केन्द्रीय राज्यले गरेका अत्याचार, महिलाहरूको चुल्ठो काटेको लगायत ज्यादती भएका घटनाहरू तत्कालीन जुम्ला राज्यमा भएको पाइन्छ ।

सो राज्य कला, साहित्य, संस्कृतिको केन्द्र थियो भनी योगी नरहरिनाथ, अध्येता सौभाग्य शाह लगायत देशी, विदेशी विद्वानहरूको खोजले पत्ता लगाएको तथ्य हो । 

जुम्ला राज्य एकीकरणपश्चात् पनि जुम्ला राज्यअन्तर्गत रहेको डोटीलाई पछि जुम्ला राज्यकै मुकाम कायम गर्दा तत्कालीन डोटेलीहरूले गरेको ज्यादतीलाई हाल पनि कर्णालीमा ‘जाउँला डोटी खाउँला रोटी आउँदा धोती न टोपी’ भन्ने प्रचलित उखानले कतिसम्म डोट्यालीहरू जो पहिला जुम्ला राज्यअन्तर्गत एकदम न्यायिक, सत्य, समृद्धिको भागेदार थिए पछि तिनैले जुम्लीहरूलाई शासन गर्दा कतिसम्म ज्यादती गरेका थिए भनी औंल्याउने गरेको पाइन्छ । 

हाल केन्द्रमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको भाष्य सृजना गर्न अगुवाहरू लागिपर्दा नेपाली भाषा लगायतको उद्गम थलो मानिएको जुम्ला राज्य पछाडि पर्नु के अनौठो भयो र ! काठमाडौंमा ६ नं प्रदेशले शुरूमै कर्णाली नामकरण गर्दा खसवादी भनेर रोइलो नै भयो केही बाह्य एजेन्डामा काम गर्नेहरूमा ।

२००४ को संयुक्त राष्ट्रसंघीय मानव विकास प्रतिवेदन, त्रिवि समाजशास्त्र, मानवशास्त्र विभागले गरेको अध्ययनले थकाली, याक्खा, नेवार, तराईका बाहुन, राजपुत लगायत उच्च जातकाहरू जो हाल विभिन्न ‘उत्पीडन’ नाममा राज्य, गैरराज्य पक्षबाट फाइदा लिइरहेका छन् भन्दा कर्णालीका उच्च जातकाहरू भनाउँदाहरू धेरै पछाडि छन् उनीहरूको राज्य संयन्त्र : राजनीतिक पार्टी, प्रशासनतन्त्र, विश्वविद्यालय, पत्रकारिता, उद्योगधन्दा, सार्वजनिक संस्थानमा ठूलो संख्यामा प्रतिनिधित्व देखिन्छ । त्यस्तै गलत निचोड निकालेकोमा डोरबहादुर विष्टको सौभाग्य शाह लगायतले आलोचना गरेको पाइन्छ । 

हाल केन्द्रमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको भाष्य सृजना गर्न अगुवाहरू लागिपर्दा नेपाली भाषा लगायतको उद्गम थलो मानिएको जुम्ला राज्य पछाडि पर्नु के अनौठो भयो र ! काठमाडौंमा ६ नं प्रदेशले शुरूमै कर्णाली नामकरण गर्दा खसवादी भनेर रोइलो नै भयो केही बाह्य एजेन्डामा काम गर्नेहरूमा ।

त्यसो त बीपी कोइरालाले कसरी भारतमा बसेर नेपाली राज्यलाई कमजोर बनाउने काम गरे, बंगलादेश पाकिस्तानबाट टुक्रिँदा पुष्पलालले समर्थनमा बोले, माओवादी सशस्त्र ‘विद्रोह’ जसबाट कर्णालीका सर्वसाधारणले धेरै गुमाए जसको घाउ नमेटिनेगरी गहिरो भएको छ कसरी भारतले चलायो भनी सौभाग्य शाहको ‘अ हिमालयन रेड हेरिङ’मा पढ्न पाइन्छ । 

अर्को टड्कारो कुरो भनेको विवेकको प्रयोग पनि हो । हालै जुम्लाका एकजना निजामती कर्मचारी संगठनका नेताले स्थानीय विकास मन्त्रालयमा गमला फुटाएको खबर आयो जसमा एउटा ब्रोडशीटले सम्पादकीय नै लेख्न पुग्यो । 

जुम्लामा कुनै पनि समाज, क्षेत्र विकासमा अत्यन्तै महत्त्व राख्ने शिक्षा क्षेत्रमा खासगरी विद्यालयहरूमा कुनै अमुक पार्टीका अदक्ष कार्यकर्ता र आफ्ना मान्छे भर्तीकेन्द्र बनाउनमा उनी लगायतको धेरथोर योगदान रहेको तीतो यथार्थ खुला रहस्य जस्तै छ । त्यस्ता हतकण्डाहरू त्यहाँ मच्निनैरहन्छन् केही सिन्डिकेटधारीहरूबाट अनि फेस सेभिङको लागि कर्णालीको नाम बेच्ने गरिन्छ जसले कर्णालीलाई पछाडि धकेल्ने काम गरेको पाइन्छ । 

हिङ नभएनि हिङ भएको टालोको रूपमा तत्कालीन जुम्ला राज्यलाई मान्दा अब त्यहाँका विवेकशील नागरिकहरूले जुर्मुराउने बेला आएको छ । त्यसको लागि कर्णाली प्रदेशलाई समृद्ध बनाउन शुरूमा त भारतीय कम्पनीलाई २०६२/०६३ को आन्दोलनपछि सौभाग्य शाहको भाषामा कौडीको भाउमा दिइएको कर्णाली जलविद्युत् आयोजना आफैं कर्णाली प्रदेशले निर्माण गर्न जरूरी छ । श्रीपेचमाथिको हीरा पनि भनिने सो आयोजनाबाट कर्णाली प्रदेशको कायापलट हुने सम्भावना देखिन्छ र सबैभन्दा आर्थिक रूपले तन्नम् प्रदेशबाट कर्णाली प्रदेशले समृद्धिको ढोका खोल्न सक्छ । 

काठमाडौंदेखि कर्णालीका नयाँ पालिकाहरूमा चुनावको बेला स्मार्ट सिटीको नारा खुब उरालिएको थियो तर हाल ती पालिकाहरू कर पालिकाको रूपमा रूपान्तरण भएका छन् । 

विगतको कर्णाली अञ्चल र जुम्ला राज्यले आफ्नो ऐतिहासिक साख गुमाउने क्रममा छ, एक त जुम्लाले केही वर्ष अघिसम्म पाएको अञ्चल सदरमुकामको छवि गुमाएको छ भने जिल्ला सदरमुकाममा केही ठालुहरूले सडक विस्तारमा व्यवधान गर्दा बजार अस्तव्यस्त बन्न पुगेको छ ।

केसी आन्दोलनको दौरानमा जुम्लास्थित पत्रकारहरू प्रस्ट रूपमा पार्टी लाइनमा विभाजन भएको देखियो । काँग्रेससमर्थित मिडिया ग्रुपका पत्रकारले केसीको आन्दोलनको सानासाना घटनाहरूलाई पनि रिपोर्टिङ गरेको पाइयो भने खासगरी सत्ताधारी नजिक पत्रकारहरूले त्यसलाई त्यति ठाउँ नदिएको, मन नलागी नलागी दिएको (किनकि केही ठूला मिडिया हाउसबाहेक) प्रायः सबै मूलधारका पत्रिका/सम्पादकहरूले काठमाडौंमा केसीको आन्दोलनमा समर्थन जनाइसकेका थिए । 

कर्पोरेट मिडिया हाउसहरू कतिसम्म पक्षपाती हुन्छन् भनी पश्चिमा विद्वान् नोम चोम्स्कीले अनुसन्धान गर्दै आएका छन् । नेपालमा पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश को हुनुपर्छ, कुन मुद्दामा के फैसला हुनुपर्छ भन्ने तहसम्म ठूला मिडिया हाउसहरू पुगेको अराजक अवस्था हाल विद्यमान छ भने जिल्लामा स्वतन्त्र, विवेकशील, ब्रह्मले लेखेको कुरा रिपोर्टिङ गर्ने पत्रकार भेटाउनु त जुम्ला राज्यको ऐतिहासिक पात्र पैकालो खोजेजस्तै हुने भयो नै । नत्र त त्यत्रा एलजीसीडीपीका सामाजिक परिचालकहरू जागिर खोसिएकोमा आमरण अनशन बस्दा पनि ठूला कर्पोरेट मिडियाहरू खै त मिसन पत्रकारितामा लागेको । 

‘जुम्लीहरू ओडारमा बस्छन् होला, घर कहाँ बनाउछन् होला’, ‘कर्णालीवासीहरूलाई तराईतिर सार्दा विकास गर्न सजिलो हुन्छ’ जस्ता कुतर्कहरू पंक्तिकारले सुन्दै, भोग्दै आएको हो तसर्थ नजिकको तीर्थ/देउता/थान हेला हुन्छ भने झैं बाहिरका जो जुम्लामा बस्दा मुसा हुन्छन् बाहिर जाँदा बाघ बनेर निस्कछन् ।

हाल कर्णालीवासीहरू जो सदियौंदेखि अस्तित्वमा छन् यो भूखण्डमा उनीहरू गाँसे भएका छन् तर जो हिजो भर्खर बाहिरबाट आएर नागरिकता लिएका छन् नेपालका कमजोर राज्य र नीतिका कारण उनीहरू आसे भएका छन् । राज्यको आरक्षणको एक दशकभन्दा बढीको प्रावधानबाट कर्णालीइतरका महिला, दलित, आदिवासी, जनजातिहरूले व्यापक फाइदा उठाएको देखिन्छ ।

पाल्पाको हीरा विश्वकर्मा र  हुम्लाको हीरा कामीको कदापि तुलना हुन सक्दैन भन्ने तथ्य राज्यले बुझेको देखिँदैन आरक्षणको सवालमा पनि । 

कर्णालीवासीहरूको बारेमा फुटाऊ र राज गर अनि अफवाह, अतिरञ्जना योगी नरहरिनाथ र सौभाग्य शाहजस्ता एकाध ज्ञात सपूतहरू बाहेक विदेशी/नेपाली अध्येता, एक्टिभिस्ट, पत्रकारहरूबाट बखान गरेको देखिन्छ ।

विश्लेषक एडवार्ड सइदले ओरिएन्टालिजम् पुस्तकमा उल्लेख गरेझैं काठमाडौं लगायत शहरी भूभागमा ‘मुगुमा समथर भनेको थाल मात्रै हो‘, ‘जुम्लीहरू ओडारमा बस्छन् होला, घर कहाँ बनाउछन् होला’, ‘कर्णालीवासीहरूलाई तराईतिर सार्दा विकास गर्न सजिलो हुन्छ’ जस्ता कुतर्कहरू पंक्तिकारले सुन्दै, भोग्दै आएको हो तसर्थ नजिकको तीर्थ/देउता/थान हेला हुन्छ भने झैं बाहिरका जो जुम्लामा बस्दा मुसा हुन्छन् बाहिर जाँदा बाघ बनेर निस्कछन्, अनि ‘जाउँला जुम्ला, ल्याउँला कुम्ला’ एकाध बाहेक धेरैको प्रवृत्ति हुन्छ बाट सजग भएर हिँड्ने, खबरदारी गर्ने बेला आइसक्यो ।

विगतमा पनि सिंजामा श्रीपेच लगायत सुन भेटिँदा तत्कालीन प्रशासक लगायतले हात पारेको तथ्य बाहिर आएको नै हो ।

केन्द्रीय पार्टी, पत्रकारिता, पूँजी, गठबन्धन, अध्येता जहाँ कर्णालीइतरका व्यक्तिहरूको हालीमुहाली, मारामार छ त्यहाँ सानै पद, संवाददाता, कामचलाउ मन्त्री, योजना आयोगको सदस्य, पीएचडी होल्डर भएर मुतको न्यानोमा रमाउनु बाहेक कर्णालीवासीहरू लगायत नेपालकै समग्र प्रगति, उन्नति हुने छैन साथै नश्वर शरीर छाड्दा आफैंलाई पनि पश्चात्ताप हुनेछ यदि आफ्नो स्वाभिमान, गौरवलाई बिर्सेमा । तसर्थ कर्णालीवासीहरू फुटेर होइन, जुटेर अघि बढेमा विगतको गौरवलाई पुनर्जागरण गराउन सकिन्छ भन्नेमा कसैको दुईमत नहोला ।

(यस लेखमा व्यक्त विचारहरू व्यक्तिगत हुन्, निज आबद्ध संस्थासँग यसको कुनै सरोकार छैन ।)

कमल बहादुर महत
कमल बहादुर महत

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्