'परराष्ट्रका पात्र' : अध्ययन र अनुसन्धानका लागि सरोकारवालालाई झक्झक्याउने पुस्तक

ध्रुवहरि अधिकारी
ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

सूर्यविक्रम ज्ञवाली ‘नेपाली वीरहरू’ का स्रष्टा हुन् । तर उनले सैनिक वा योद्धालाई मात्र वीर मानेका छैनन् । जस्तो, रामायणका रचनाकार भानुभक्त आचार्य । ‘...नेपाली जातिका निर्माता वीरहरूमध्ये उनले प्रमुख स्थान प्राप्त गरेका छन् ,’ भन्ने रामायणको भूमिकामा परेको ज्ञवालीको उद्‌गार यस कुराको प्रमाण हो । इतिहासकार ज्ञवालीको यस कृतिको उपयोगिता बुझ्नेमध्येका एक विद्वान् भए हृषीकेश शाह जसले कालान्तरमा यसैको अङ्ग्रेजी संस्करण भन्न मिल्ने किताब लेखे ‘हिरोज एण्ड बिल्डर्स अफ् नेपाल’। र, कुनै बखत यो पुस्तक कलेज तहको पढाइमा पुग्ने हरेक विद्यार्थीले नपढीकन धर थिएन । त्रि-चन्द्र कलेजका छात्र मदनकुमार भट्टराईले पनि त्यो पुस्तक पढे र समयोचित लाभ उठाए ।

सुखद् संयोग भन्नुपर्छ, गुरु तहका शाह कालक्रममा नेपालका परराष्ट्रमन्त्री भए भने उतिखेरका छात्र भट्टराई समयको अन्तरालमा परराष्ट्र मन्त्रालयका सचिवको जिम्मेवारी सम्हाल्ने विशिष्ट श्रेणीका निजामती कर्मचारी बन्न पुगे । शाहले झैं भट्टराईले पनि राजदूत हुने अवसर पाए । र, सेवानिवृत्त भएपछि लेखेको पहिलो नेपाली किताब ‘ परराष्ट्रका पात्र’ मा हृषीकेश शाहकै बारेमा ११ मध्येको एउटा अध्याय नै खर्चेका छन् । तर यो उदारता व्यक्तिगत परिचय र निजी सम्बन्धले प्रेरित भएर मात्र देखाइएको भनिहाल्नु उचित नहोला । किनभने चर्चित अध्यायमा शाहलाई ‘विवादमा रमाउने व्यक्तित्व’ को रूपमा चित्रण गर्दा उनको विद्वताको साथसाथै चञ्चलता, अस्थिर र लचिलो बानी-बेहोराको पनि उल्लेख गरिएको छ । प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला संयुक्त राष्ट्रसंघको अधिवेशनमा सहभागी हुन गएका बखत त्यहाँ नेपालका राजदूत रहेका शाह पछि विश्वसंस्थाकै एक खाइहाल्दा कूटनीतिज्ञ हुन पुगे । एकताका महासचिव पदमा एसियाका उम्मेदवार हुने कुरा समेत चर्चामा आयो; राष्ट्रसंघका दोस्रा महासचिव ड्याग ह्यामरशोल्डको सन् १९६१ मा अफ्रिकामा विमान दुर्घटनामा परेर निधन भएको विषयमा राष्ट्रसंघले गठन गरेको छानबीन आयोगको नेतृत्व शाहबाट भएको थियो । नेपाली नियोगको वेबसाइटमा आज पनि यो प्रसङ्गलाई सगौरव राखेको देखिन्छ ।


Advertisement

मुन्सीखाना र दौरा-सुरुवाल

पुस्तकको नाम अनुसार, यसमा पात्र अर्थात् मन्त्री र तिनका तालुकवाला (प्रधानमन्त्री) एवं विशिष्ट पदाधिकारीहरूको नामनामेसी र तिनका भूमिकाको सान्दर्भिक विवरण आएका छन् । परराष्ट्र सम्बन्धबारे रुचि हुने प्रधानमन्त्रीहरूको कार्यशैलीबारे जानकारी दिइएको छ । हो,  प्रसङ्ग कुनै छोटा छन् त कुनै तुलनात्मक रूपमा लामा छन् । जे होस्, पुस्तक पात्रहरूको चिनारीमा सीमित छैन; इतिहास र सन्दर्भमा आउने अन्य आयामहरू पनि खोतलिएका छन् । पृथ्वीनारायण शाहको पालामा भानु जैसीलाई हाकिम बनाएर खोलेको अड्डालाई ‘जैसीकोठा’ भनियो । त्यो पछि मुन्सीखाना बन्यो र सातसालको परिवर्तनपश्चात् ‘मुन्सीखाना परराष्ट्र मन्त्रालयमा परिणत भयो’। मन्त्रालयको ठेगाना कति पटक फेरियो र कहाँ कहाँ पुग्यो त्यसको बेली-विस्तार महाविद्यावारिधि गरेका लेखकले चित्तबुझ्दो ढङ्गले लगाएका छन् । ३१०+ पृष्ठको यस पुस्तकमा परराष्ट्रबारे अन्वेषण गर्न चाहनेका लागि सूचनाको स-सानो भण्डार नै छ । जस्तो, ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दा लबेदा-सुरुवालसहितको पोशाक लगाउने पहिलो नेपाली राजदूत को हुन् ? उत्तर हाजिर छ : यो चलनको आरम्भ अप्रिल १९६१ मा नरप्रताप थापाबाट भयो जुन बेला भारतमा डा. राजेन्द्रप्रसाद राष्ट्रपति थिए ।

त्यसैगरी, शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) को प्रचलन र पात्रहरूको सविस्तार चर्चा गरिएको छ । ‘ठूलाबडालाई रिझाउन पाइने भएकाले पनि शिष्टाचार महापालको महत्व यथावत् छ’। सारांशमा, भूमिकामा लेखकले यस पुस्तकलाई ‘विशुद्ध व्यक्तिगत स्मरण र टिपनपाटनको सँगालो’ मात्र हो भनिएकोलाई निजको नम्रताको रूपमा बुझ्नुपर्ने हुन्छ । पत्रकारिताबाट वृत्तिविकासको खुड्किलो उक्लिएका भट्टराईले गोरखापत्रलाई अभिलेखको एउटा गतिलो स्रोत मानेर त्यसबाट सारेर पुस्तकमा राखिएका सूचनाहरूको विश्वसनीयतामा आश्वस्त हुन सकिन्छ । पाद-टिप्पणीले प्रामाणिकता थपेका छन् । 

यसप्रकार परराष्ट्रबारे उपयोगी सन्दर्भ-ग्रन्थ तयार पारेको श्रेयका हकदार हुँदा-हुँदै पनि पुस्तक छिचोलेपछि, पाठकलाई लेखकको यो कथन दोहो-याएर पढ्न मन लाग्न सक्छ:-‘ प्रस्तुतिमा धेरै कमीकमजोरी हुन सक्छन् ।...खिचडी जस्तो बन्यो कि भन्ने पनि लागेको छ’। हुन त त्रुटि, गल्ती कुन चाहिं प्रकाशनमा हुँदैन र ? र, साना-तिना गल्ती पाठकले सच्याएर पढ्न नसक्ने पनि होइनन् ( जस्तो पृष्ठ १८: बेलायतको मन्त्रालयलाई ‘राष्ट्रसंघीय’ हैन ‘राष्ट्रमण्डलीय’ सहितको परराष्ट्र भनिनु पर्ने विषय ) । तर कताकति के अनुभव हुन्छ भने सन्दर्भमा आउनु पर्ने केही कुरा छुटे र नआए पनि फरक नपर्ने कतिपय विषय तानिएर—लम्बिएर समेत---आए । जस्तो, ‘छाया परराष्ट्रमन्त्री’ भनेर चिनाइएका सूर्यप्रसाद उपाध्याय एकपल्ट टोलीनेता भई संयुक्त राष्ट्रसंघ गएको जानकारीसँग मिल्दोजुल्दो हुने अर्को तथ्य छुट्न गयो, र त्यो हो: प्रधानमन्त्री बीपीका साथ जाने थोरै मन्त्रीमा उपाध्याय पनि परेका थिए । गृहमन्त्री भए पनि चीनसँगको सम्बन्धबारे उपाध्यायको गहिरो रुचि रहेछ ।

अर्कोतर्फ, एमालेका महासचिव माधवकुमार नेपाल मनमोहन अधिकारी सरकारमा उप-प्रधानमन्त्री भई परराष्ट्र (र रक्षा) मन्त्रालयको कार्यभार सम्हालेको विषय । माधवकुमारको परराष्ट्रमा प्रवेश मात्र सान्दर्भिक हुनेमा लेखकले त्यसपछि एमाले पार्टीले वामदेव गौतमलाई उप-महासचिव बनाएको असान्दर्भिक कुरा थपेका छन् (पृष्ठ १९०) । यसरी परराष्ट्रसित सोझो सम्बन्ध नभएका प्रसङ्गहरू थप्नाले किताब छरितो हुन पाएन । हो, राणाका पालामा श्री ३ का छोरा, भाइ, भतिजालाई दर्जा दिइने चलन भएको हुनाले पद पाउनेको तीनपुस्ते पनि चासोको विषय हुन्थ्यो तर सातसाल पछिका दर्जावालहरूका नातागोता आवश्यक जानकारीका विषय नहुन सक्छन् । त्यस्तै, एक ठाउँमा पहिले कुनै बेला नेपालमा सरकारी लेखापढी फारसी भाषामा हुन्थ्यो भनेर लेखिएको छ, तर कुन घटना वा परिस्थितिले त्यस्तो आवश्यकता गरायो त्यसको चर्चा आएन । अनि फारसीलाई कहिले अङ्ग्रेजीले विस्थापित ग-यो, यसबारे पनि उल्लेख्य स्तरको संक्षेप पाठकले पाउन सकेका छैनन् । लेखकले यसमा किन कन्जुस्याञी गरेको होला, बुझ्न सकिएन ।

लेखाइमा एकरूपता आउला र पाठकलाई सजिलो हुन्छ भनेर होला, लेखक भट्टराईले पुस्तक प्रकाशनको वर्ष २०७६ लाई मात्र विक्रम संवत्‌मा लेखेर पुस्तकको मूलपाठमा भने सबैतिर इस्वी संवत् चलाएको देखिन्छ । यस शैलीले त पाठकलाई उल्टै असजिलो पारेको हुनसक्छ : जस्तो ९० सालको भूकम्प, सातसालको प्रजातन्त्र, १७ सालको काण्ड र ७२ सालको नाकाबन्दी भन्ने कुराहरू सहजै बुझ्ने बानी परेका नेपालीलाई सन् १९३४, १९५१, १९६० र २०१५ सित अभ्यस्त गराउन सजिलो छैन । त्यसैगरी, मूलपाठमा आएका सूचनाका स्रोत-सन्दर्भ खुलाउन दिइएका पाद-टिप्पणी तत्-तत् पृष्ठको पुछारमा दिनुको साटो किताबको पछिल्लो खण्डमा पु-याएर विश्वविद्यालयका लेखकहरूको ढाँचामा प्रस्तुत गरिएको छ । पत्रकारिताको प्रचलन बुझेका लेखकले स्रोतहरूको उल्लेख मुख्य बेहोरा सँगसँगै गरिदिएको भए आजभोलिका पाठकलाई सुविधा पुग्दो हो । लेखकलाई थाहै छ, अचेलका युवक-युवतीमा थोरै समयमै धेरै कुरा जान्न-बुझ्न खोज्ने प्रवृत्ति हावी छ ।

खँदिला प्रकाशन र गूढ सन्देश

परराष्ट्र सम्बन्ध, परराष्ट्र नीति र तिनलाई सञ्चालन गर्ने कूटनीतिबारे पर्याप्त पुस्तक, प्रकाशनहरू छैनन् । स्वतन्त्र विवेचना सहितका प्रकाशन त झन् थोरै छन् । विवेच्य पुस्तकमा चित्तरञ्जन नेपालीले लेखेको ‘परराष्ट्र मन्त्रालयको इतिहास’ को उल्लेख छ । त्यसले केही ऐतिहासिक पक्ष त खोतल्दो हो, तर सदा गतिशील रहने अन्तर्राष्ट्रिय सम्बन्धहरूको अनुगमन र राष्ट्रिय हितलाई बल पुग्ने समीक्षा र मार्गदर्शन भएका पुस्तक नगण्य छन् । खँदिला विचार सहितका प्रकाशनको सन्दर्भमा प्रोफेसर यदुनाथ खनालको पुस्तक भने अपवाद हो जुन सन् २००० मा प्रकाशित भएको थियो । जयराज आचार्य, श्रीधर खत्री, माधव खनाल, हरिकुमार श्रेष्ठ, दिनेश भट्टराई र  मोहनकृष्ण श्रेष्ठ जस्ता कूटनीतिक अनुभव बटुलेका लेखकका लेख, आलेख र पुस्तकले पनि परराष्ट्र सम्बन्धका नीतिगत र स्थलगत आयामको झलक दिएका छन् । कुमार ज्ञवालीका स-साना आकारका केही प्रकाशनमध्ये ‘राजदूतको चिठी’ ले मनोरञ्जनका साथसाथै गूढ सन्देश प्रवाह गरेको छ । स्थापित कथाकारको रूपमा समेत चिनिएका ज्ञवालीले जस्तै मधुवन पौड्यालले पनि कथा-साहित्यको माध्यमबाट विकृति विसंगतिका झलक प्रस्तुत गर्ने गरेका छन् । समकालीन अन्तर्राष्ट्रिय सम्बन्धको परिप्रेक्ष्यमा नेपालका नीति, रणनीतिको गहन विश्लेषण गर्ने पत्रकार मनरञ्जन जोशीको पुस्तक (२ भाग) सूक्ष्मदृष्टि भएका अन्वेषकले उतिबेलै (सन् १९८५) उपयोगी पाएका हुन् । त्यसमा परराष्ट्र सचिव र पछि मन्त्री भएका पद्मबहादुर खत्रीको छोटो तर मौलिक मन्तव्य छ ।

लेखकको उद्‌घोषण छ:--यो पुस्तक लेख्नुको उद्देश्य परराष्ट्र विषयमा थप अध्ययन र अनुसन्धानको लागि सरोकारवालाहरूलाई ‘झकझक्याउनु’ हो । अपेक्षा गरौं, त्यस दिशामा निजको यो ‘सानो प्रयास’ ले ठोस योगदान गर्नेछ ।

 

कमेन्ट गर्नुहोस्