चुरेको दोहनले पर्यावरणीय संकट : पूर्व राष्ट्रपति यादव

जनकपुरधाम – पूर्व राष्ट्रपति डा. रामवरण यादवले चुरेमा लोकराजमार्ग बनाउने योजनाबारे पुनः चिन्तन गर्नुपर्ने खाँचौं औंल्याएका छन् ।

नेपाल साहित्य महोत्सवअन्तर्गत शनिवार जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा उनले चुरेको दोहनले भइरहेको पर्यावरणीय संकटतर्फ सबैको ध्यानु जरुरी रहेको बताए ।


Advertisement

पूर्व राष्ट्रपति डा. यादवले चुरे भएर राजमार्ग बनाउने र स्काभेटर लगायतका यन्त्र प्रयोग गरी दोहन गर्ने क्रियाकलापले पानीको मुहान सुक्दै गएको, पशुपन्छी पलायन तथा लोपको अवस्था सिर्जना भएको प्रसङ्ग उल्लेख गरे ।

नेपालको ६० प्रतिशत जनसंख्या र अन्न भण्डार भएको क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै विकास योजना कार्यान्वयन गर्नुपर्ने भन्दै उनले तराई मधेशलाई डुबान पार्ने क्रियाकलाप तुरुन्त बन्द गर्नुपर्ने बताए ।

वैज्ञानिक अध्ययन नगरी निजगढमा विमानस्थल निर्माण कार्य गर्नु विडम्बना भएको बताउँदै पूर्व राष्ट्रपति डा. यादवले सखुवाका रूखलाई कटान गरी विमानस्थल बनाउने योजनाको पुनः मूल्यांकन गर्नु आवश्यक रहेको धारणा राखे ।

‘जंगल नष्ट गरी रेलको विस्तार गर्ने योजनाबारे पनि पुनः चिन्तन गर्नुपर्दछ,’ उनले भने । पूर्वराष्ट्रपति डा. यादवले चुरेबाट निस्केको नदीको व्यवस्थापन हुने गरी विज्ञद्वारा चुरे संरक्षणका लागि बनाइएको गुरुयोजनाअनुरूप छुट्टै ऐन बनाउनु आवश्यक रहेको बताए ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा अल्पदृष्टि एवं चिन्तन राखी योजना बनाउने प्रवृत्तिका कारण संकट बढ्दै गएको भन्दै सिंगो देशकै गुरुयोजना बनाउनुपर्ने बताए । लहरे भरमा कार्य गर्न खोज्दा गहन संकट देखिएको चर्चा गर्दै उनले देशमा ३ राजमार्ग आवश्यक भएको यथार्थभन्दा टाढा गई एउटै निकायको सोचका आधारमा राजमार्ग बनाउने योजना अघि सारिएका कारण जटिलता उत्पन्न भएको चर्चा गरे ।

प्रकृतिसँग खेलबाड गर्ने नाममा अपूरणीय क्षति गर्न नहुने भन्दै उनले निजगढ विमान निर्माणस्थलका सन्दर्भमा मूल वनमा असर नपर्ने गरी निर्माण योजना बनाउनु आवश्यक रहेको बताए । पूर्व प्रधानमन्त्री नेपालले चुरेको संरक्षणका लागि सबैको ध्यान जानु जरुरी भएको बताउँदै यसका लागि प्रणालीमा नै सुधारको आवश्यकता रहेको बताए ।

कमेन्ट गर्नुहोस्