'बाथरूम जान्छु सर' भनेर फूटबल मैदान पुग्थे सुजल !

'अभिभावकले छोराछोरीलाई 'जा फूटबल खेल्' भन्न सक्ने अवस्था अझै छैन'

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

हालै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ वटा स्वर्ण पदक जित्यो । यो  साग इतिहासमै नेपालले जितेको सर्वाधिक स्वर्ण हो । यसअघि ८औं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

नेपालले ५१ वटा स्वर्ण जित्दा एक थियो- फूटबल । ०७२ सालको विनाशकारी भूकम्पपछि औपचारिकरूपमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली टोलीले फूटबल खेल्यो र नेपाललाई सागमा स्वर्ण पदकसमेत दिलायो ।


Advertisement

समग्रमा भन्नुपर्दा नेपालले उत्कृष्ट फूटबल खेल्यो । नेपालमा पुन: फूटबल फर्कियो । नेपाली टोलीको कप्तानी सुजल श्रेष्ठले सम्हालेका थिए । 


Advertisement

सुजल श्रेष्ठ (२८) धनकुटामा जन्मिए । उतै हुर्के, बढे । फूटबल उनलाई निकै मनपर्ने खेल । तर बच्चाबेलामा फूटबल हुँदैनथ्यो । बच्चा बेलामा पैसा नहुने भएका कारण उनी मोजाको बल बनाउँथे अनि त्यसैलाई लात हान्थे ।

उनी बाल्यकाल सुनाउँछन्, 'मोजाको बलसँगै हामीले प्लास्टिकको बलहरू पनि खेल्थ्यौं, जुन सस्तो पर्थ्यो ।'

बाआमाले पढाइमा जोड दिन भन्थे तर उनको मनमा फूटबल थियो । पढाइमा प्रगति गरोस् भनेर उनलाई घरमै ट्युसनको व्यवस्था समेत थियो । तर उनी अनेक बहाना बनाएर भाग्थे । भागेर फूटबल ग्राउन्ड पुगेर अडिन्थे । 

फूटबल खेल्न उनले झिक्ने एउटा नियमित बहाना थियो- बाथरूम जान्छु है सर !

'बाथरूम जान्छु भनेर सरलाई सोध्थेँ । अनि घरको छतछतै भागेर टोलको ग्राउन्डमा पुग्थेँ,' बाल्यकालका किस्सा सुनाउँछन् उनी । 

छोराको फूटबलप्रतिको लगावसामु बाआमाको जोर चलेन । अनि जोडिए- एन्फा एकेडेमी । 

पहिला फूटबलभन्दा पढाइमा जोड गर्ने सुजलको परिवारले एन्फामा भर्ना भएपछि भन्न थाले- फूटबल र पढाइ सँगसँगै लैजानू । 

१२ वर्षको उमेरमा एन्फा छिरेका सुजलले त्यहीँ फूटबल सिके । अनुशासन सिके । अनि पढे पनि । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको ग्राउन्डमा लोकान्तरकर्मीले सुजललाई सोध्यो- फूटबल नै किन ?

उनले यसको जवाफ बुवाको फूटबल मोहसँग जोडेर दिए । सन् १९९८ को वर्ल्डकपले उनलाई फूटबलप्रति मोह जगाएको थियो रे । उनको बुवा ब्राजिलको फ्यान । उनले पनि ब्राजिलको एक जना मात्रै खेलाडी चिन्थे, रोनाल्डो ।

अरू कुनै पनि खेलाडी चिन्दैनथे । 'बुवाको कारण फूटबलमा लगाव भयो,' बाल्यकालबारे उनी खुल्छन्, 'त्यो टाइममा राति गेम हुन्थ्यो । त्यसबेला पनि एकपटक सुतेर राति १२ बजे वर्ल्डकपका खेलहरू हेर्न म पनि उठ्थें ।'

***

फूटबलमा संघर्ष गरिरहेका हरेक खेलाडीको चाहना हुन्छ, सिनियर राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने । फूटबलको लत लागेपछि सुजलले पनि राष्ट्रिय टोलीमा आउन अनेक संघर्ष गरे । 

क्बल फूटबल खेलिरहँदा उनलाई कल आउँथ्यो । तर टोलीमा अटाउँदैनथे । यतिसम्म कि १०-१५ पटक सेलेक्सन खेल्दा पनि उनी सिनियर टीममा परेनन् । तर जब नेपाली टोलीको प्रशिक्षकको रूपमा ग्राहम रोबर्ट आए, सुजलजस्ता इनर्जेटिक खेलाडीहरूले मौका पाए । 

'शुरूमा पनि नेसनल गेमको सेलेक्सनहरू खेलेको थिएँ । तर १०-१५ पटक सेलेक्सन खेल्दा पनि म टीममा परेको थिइनँ,' राष्ट्रिय टीममा आउँदाका दिन सम्झिन्छन् उनी, '२ वर्ष कल भइसक्दा पनि पनि नेसनल टीममा परेको थिइनँ । तर ग्राहम रोबर्ट सरले नयाँ, योङ र इनर्जेटिक प्लेयरहरूलाई लिने कुरा आएपछि हामी टीममा परेका हौं ।'

***
गाउँको चौरमा फूटबल खेल्ने सुजल यु-१४ को एउटा टुर्नामेन्ट खेल्न काठमाडौं आए । पहिलोपटक रंगशाला देखे । 'पहिला शुरूमा दशरथ रंगशाला देख्दा ओहो ! लाग्थ्यो, त्यतिबेला मलाई रंगशाला ठूलो लाग्थ्यो । अहिले पनि ठूलो लाग्छ,' उनी नोस्टाल्जिक हुन्छन् । 

त्यतिबेला रंगशालामा खेल्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई । तर उनले सोचेका पनि थिएनन् रे- रंगशालामा नेपालको प्रतिनिधित्व गरेर फूटबल खेल्छु भन्ने ।

अहिले उनलाई लाग्छ- मेहनत गर्दै जानुपर्ने रहेछ, बिस्तारै सफलता हासिल हुन्छ । 

पहिलो गोल

नेसनल टीमबाट पहिलो गोल उनले दशरथ रंगशालामै गरे । क्राउड पनि अहिले साग गेममा जत्तिकै थियो । सन् २०१२ मा टिमोर लेस्टेसँग वर्ल्डकप क्वालिफाइङ खेल्दा उनले पहिलो गोल गरेका थिए । 

सब्सिच्यूटमा मैदान छिरेका सुजललाई निराजन खड्काले पास दिए । उनले 'वान टच'मै गोल गरे । 'त्यो गोलले एकदमै ठूलो महत्त्व राख्छ मेरो लाइफमा । त्यो दिन म एकदमै खुशी थिएँ,' पहिलोपटक गोल गर्दाको क्षण सम्झिन्छन् उनी । 

अविस्मरणीय गोल 
 

नेपालले सोलिडारिटी कप जित्दा सुजलले फाइनलमा मकाउविरुद्ध गोल गरेका थिए । त्यो गोलले आफूलाई चिनाएको उनको बुझाइ छ । अझ त्यही एक गोलले 'लाइफ'नै  परिवर्तन गराएको समेत उनी बताउँछन् । 

'त्यो गोलले मेरो लाइफ पनि चेन्ज गरायो । मानिसहरूले चिने । त्यो गोलले परिवारलाई पनि राम्रो गर्‍यो । मानिसहरूले ममीड्याडीलाई पनि बधाई दिए,' गोलपछिको अवस्था सुनाउँछन् सुजल, 'सबैभन्दा ठूलो कुरा त परिवारलाई खुशी दिनु हो । त्यो बेला मैले परिवारलाई खुशी दिन सकेको थिएँ । त्यसैले त्यो गोल नै मेरो लाइफको अविस्मरणीय गोल हो ।' 

***
सागमा नेपालको 'अनबिटन वन' हो । मानिसहरूले सोचेका पनि थिएनन् होला नेपालले अपराजित हुँदै उपाधि कब्जा गर्छ भन्ने । यो कप्तान सुजल आफैंलाई पनि लाग्छ । 

सागको पुरुष फूटबलमा नेपालले गरेको प्रदर्शनलाई लिएर सुजल भन्छन्, 'नेपालको जीतलाई लिएर सम्पूर्ण नेपालीहरू खुशी छन् । यत्रो दर्शकमाझ खेलिरहँदा हामीमा पनि छुट्टै खाले जोश थियो । जित्नुपर्छ भन्ने हुटहुटी थियो । हामीले गरेर पनि देखायौं । चुनौती पनि थियो तर हामीले नजिता आफ्नो पक्षमा पार्‍यौं ।' 

रंगशालामा 'रातो र चन्द्र सूर्य' गुञ्जिँदा …

सागअन्तर्गत पुरुष फूटबललाई नेपाली दर्शकहरूले निकै चाख दिएर हेरे । सक्दो समर्थन गरे । यतिसम्म कि टिकट नपाएर नाराबाजी समेत भयो । त्रिपुरेश्वर चोकमा राखिएको एलईडी बोर्डमा हेर्नेहरूको घुँइचोले फूटबल अवधिभर सवारी आवागमन समेत ठप्प रह्यो ।

यो 'फूटबल क्रेज'लाई सुजल पनि सकारात्मक ठान्छन् । नेपाली दर्शकको मायाको रूपमा ग्रहण गर्छन् । तर यसपटक रंगशालामा दर्शकदीर्घाबाट एकाएक ठूलो स्वरमा 'रातो र चन्द्र सूर्य' गुञ्जियो । यसले खेलाडीहरूलाई ऊर्जा दिएको सुजल बताउँछन् । मैदानमा खेल्दै गर्दा त्यो आवाजले सुजललाई सिरिङ्ग–सिरिङ्ग बनायो रे ! 

'हामी खेल्नुअगाडि राष्ट्रभाव बोकेका यस्ता गीतहरू गाउने गर्थ्यौं तर हामीले खेल्दै गर्दा एकैपटक ठूलो आवाजमा 'रातो र चन्द्र सूर्य' सुन्यौं,' उनी भन्छन्, 'मलाई त्यतिखेर सिरिङ्ग–सिरिङ्ग भएको थियो । सम्झँदा अहिले पनि सिरिङ्ग हुन्छ । त्यत्रो क्राउडमा त्यो गीत गाउनु भनेको राम्रो हो ।' 

खेलमा हारजीत हुन्छ । जित्दा दंग, हार्दा निराश । यो नियमित हो । यो हरेक खेलमा हुन्छ । 

खेलमा आफ्नो वा टीमको प्रदर्शनलाई लिएर कहिलेकाहिँ 'यो क्षेत्रबाटै' टाढा भागौं झैं लागेन भन्ने प्रश्नमा उनले भने, 'त्यस्तो चाहिँ लागेको छैन । कहिलेकहिले सोच त्यस्तो आउँछ तर मैले सिरियस्ली लिएको छैन । कहिलेकाहिँ लाइफमा फ्रस्टेसन हुन्छ । गेममा गरिने प्रदर्शन तलमाथि हुन्छ । त्यस्तो बेला सोचिन्छ ।'

उनले जानेको फूटबल नै हो अरू केही सिकेको छैनन् । उनले फूटबलबाट टाढा जाने सोच गरेका छैनन् अहिलेसम्म । अहिले पनि थाहा छैन उनलाई भोलिपर्सि गएर आफू के गर्ने ?  केही डिसिजन लिन सकेका पनि छैनन् । 

उनलाई अझै पनि यसैगरी, यही गतिमा चार-पाँच वर्ष फूटबल खेल्न मन छ । सोचेका पनि छन्- नेसनल टीममा भएपनि, नभए पनि क्लब गेम त खेल्न सकिन्छ नि ! 

***
सुजलले संकटाबाट 'ए' डिभिजन लीग फूटबल खेले । लामो समय मनाङमर्स्याङ्दीबाट खेले । उनलाई मनाङमर्स्याङ्दी क्लब तथा अफिसियलले माया दिए । 

मनाङमर्स्याङ्दीबाटै रिटायर लिने सोचेपनि अहिले मन्छिन्द्र पुगेका छन् । क्लब परिवर्तन गर्नुको कारण नयाँ अनुभवको खोजी भएको उनी बताउँछन् ।

क्लब परिवर्तन गर्नुको कारण सुनाए उनले, 'अहिले जहाँ छु, जे छु त्यो मनाङमर्स्याङ्दीकै कारण पनि छु । क्लब परिवर्तन गर्नुको कारण म सन्तुष्ट नभएर होइन । अरू क्लबबाट खेल्दा के हुँदो रहेछ ट्राइ गरेर हेरुम् न भनेर हो । नयाँ फील गर्न हो ।'

***
अन्तिममा लोकान्तरकर्मीले सुजललाई सोधेको थियो, फूटबल खेलेर बाँच्न सकिने अवस्था छ कि छैन ? 

'लीग चाहिँ नियमित हुनुपर्‍यो । खेलाडीहरूले आफ्नो लिभिङ स्टान्डर्ड मेन्टेन गर्न सक्छन् । सकिरहेका पनि छन्,' उनले जवाफ दिए, 'खेलुञ्जेल खेलाडीहरूले घरमा समेत पैसा दिन सक्ने अवस्था छ अहिले चाहिँ ।'

रिटायर्डपछि के गर्ने भन्ने खेलाडीहरूलाई अझै पनि थाहा नभएको उनले बताए । अहिलेसम्म पनि अभिभावकहरूले बच्चाहरूलाई 'जा फूटबल खेल' भनेर भन्न सक्ने अवस्था नभएको उनको भनाइ छ । 

अन्तिममा उनले भने, 'त्यो अवस्था भयो भने चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ कि नेपाल विकसित भयो । नेपालमा फूटबल  विकास भयो ।'

प्रदिप अधिकारी
प्रदिप अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्