सिन्धुली गढीलाई फर्केर हेर्दा …

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

‘सिन्धुली गढी’ भन्ने वित्तिकै उही कृष्ण विक्रम थापाले गाएको ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति पो राम्रो दरबार’ भन्ने गीतको पंक्तिले जो कोहीको मानसपटलमा एक फन्को मार्छ ।

थोरै खोजीनीति गर्दा पृथ्वी नारायण शाहले अंग्रेज फौजलाई त्यही सिन्धुली गढी किल्लामा घुँडा टेकाएको, अत्याधुनिक हतियार लिएको अंग्रेज फौजलाई घरेलु हतियार र अरिंगालको गोलाले परास्त गरेको लगायत ऐतिहासिक घटनाक्रम समेटिएको अनगिन्ती तथ्यहरू बर्गेल्ती आउँछन् । इतिहासकार, लेखक, पत्रकारहरूले त्यहि कुरा लेखे । गुगलको सर्च इन्जिनमा पनि तिनै कुरा भेटिन्छ । पछिल्लो समय व्यवस्थापनको स्वामित्व लिएको कमलामाई नगरपालिकाले तिनै कुरालाई जोड दिँदै संरचना निर्माण अघि बढाएको छ ।  


Advertisement

तर जब सिन्धुली गढीबारे निश्चल मानसिकता बोकेर गएको नव आगन्तुक सिन्धुली गढीको जनजीवनसँग अन्तरघुलन हुन थाल्छन्, तब ती तथ्यभन्दा केही फरक पाटाहरूले मुन्टो उघार्न थाल्छन् । औंला उठाउन थाल्छन् । इतिहासको गर्भभित्र दबिएका र दबाइएको अर्धचेतन सुस्केराहरू फुट्न थाल्छन्, ‘लेखिएको सबथोक होइन है । केही लेखियो । लेखियो त केवल शासकको । असली कर्मवीरको वीरताको गाथा खोई ?’

जब पंक्तिकार पश्चिम नेपालको कैलालीबाट २४ घण्टाको अनवरत यात्रा तय गर्दै सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाको खनियाँ खर्कमा पाइला टेक्छ । नजिकै वीरताको निशान बोकेर ठिङ्ग उभिएको सिन्धुली गढीको एक फन्को मार्छ । तब सिन्धुली गढीवारे मनभरि सजाएका एकथरी परिकल्पनाहरू फिक्का लाग्छन् ।


Advertisement

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पुस ६–७ सम्म त्यही सिन्धुली गढी किल्लाको चुचुरोमै राष्ट्रिय भेला डाकेको थियो । बाग्मती प्रदेश सरकार (प्रदेश नं. ३) का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलको सहभागिता रहेको भेलामा कमलामाई नगरपालिकाका मेयर खड्कबहादुर खत्रीले सो किल्लामा पृथ्वीनारायण शाहको शालिक ठड्याउनेसहित युद्ध संग्राहलय बनाउने योजना सुनाए ।

तर उनको उत्साहरूपी योजनाको बयान भुइँमा खस्न नपाउँदै नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजीर मगरले भने, ‘राष्ट्रिय निर्माणमा सिन्धुलीको ठूलो बलिदानी छ । सामरिक महत्त्व छ । आजसम्म शासकको मात्रै इतिहास लेखियो । तर ज्यानको बाजी लगाउने, त्यही युद्धको मोर्चा हाँक्ने योद्धाहरू खोई ? वंश गुरुङको इतिहास खोई ? अब पृथ्वीनारायणको होइन, वंश गुरुङको शालिक यहाँ ठडिनुपर्छ ।’

अर्का वक्ता फोनिज प्रदेश नं. ३ का अध्यक्ष काजीमान थिङले ‘क्ष' बाट क्षेत्री, 'त्र' बाट पशुपतिनाथको त्रिशुलका आलवा त बाट तामाङ, 'थ' बाट थारु पढाइने पाठ्यक्रम कहिले आउने ? विशेष र स्वशासित क्षेत्र कहिले बन्ने ?, संघीयता नदी नाला, पहाडको लागि कि उत्पीडित वर्गको लागि ?’ भन्दै प्रश्न गरे ।

दिइएका ती अभिव्यक्तिले भेला अवधिभर सहभागीहरूको मनमस्तिष्क हल्लाइरहयो । इतिहासका पानामा नसमेटिएका वंश गुरुङको वीरताको गाथा गुञ्जिरह्यो । वक्ताहरूले आदिवासी पुर्खाको बलिदानीको लेखाजोखा राज्यले नगरेको भन्दै आक्रोश समिश्रित गुनासो पोखिरहे ।

को थिए सरदार वंशु गुरुङ?

गृहजिल्ला नै सिन्धुली भएका फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ भन्छन्, ‘ विश्व मानचित्रमा आजको नेपालको स्वरूप देखिनुमा वंशु गरुङको योगदान ठूलो छ । तर उनको यकीन इतिहास अझै पनि अन्योलताका गर्भमै सीमित छ । खोज्न बाँकी नै छ । लेख्न बाँकी नै छ ।’

फोनिज अध्यक्ष डण्ड गुरुङले सरदार वंशु गुरुङका पछिल्लो पुस्तालाई उद्धृत गर्दै वंशुका शाखा सन्तानहरू इतिहासको खोजीमा लागेका बताउँछन् । वंशुका सन्तानहरूले राज्यले उपेक्षा गरेको गुनासो पोख्दै आएका अध्यक्ष गुरुङ बताउँछन् ।

वंशुका पछिल्लो पुस्ताले आफ्नो थातथलो तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरमा शालिकसमेत बनाएका छन् । जसअनुसार वंशुको जन्म थलो जसपुर नै हो भन्न केही सहज भएको छ । तर ठोस प्रमाण नभएको पनि बताइन्छ ।

तर वंशु गुरुङ स्मृति प्रतिष्ठानका पूर्वअध्यक्ष क्याप्टेन लालजंग गुरुङको नेतृत्वमा जसपुरमा शालिक निर्माण गरिएको छ । प्रतिष्ठानका पूर्वअध्यक्ष क्याप्टेन लालजंगले आफ्नो पूर्खाको वीरताका बारेमा तथा वंशुप्रति राज्यले उचित सम्मान भने नगरेको गुनासो पोख्छन् ।

सरदार वंशु गुरुङ नेपाल एकीकरण अभियानमा ठूलो गुन लगाएको बताइन्छ । अंग्रेजको सपनालाई चकनाचुर पार्दै एकीकरण अभियानलाई तीव्र गतिमा अगाडि बढाउने उनी एक वीर योद्धा हुन् । त्यसैले सरदार वंशु गुरुङको बहादुरीको थप तथ्य र उनका सन्तानको खोजी गरिनु अत्यन्तै आवश्यक रहेको छ ।

त्यो ऐतिहासिक जीत

हाल सिन्धुली गढी २ सय ५२ वर्षदेखिको वीरताको इतिहास बोकेर उभिएको छ । सिन्धुलीगढीमै राखिएको गढीको संक्षिप्त परिचय अनुसार नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले वि.स. १८२२ सम्ममा काठमाडौं, पाटन, भक्तपुर राज्य अन्तर्गतका धेरै प्रदेशहरू आफ्नो अधिनमा लिइसकेका थिए । पृथ्वीनारायण शाहको गोर्खाली फौजलाई काठमाडौंबाट हटाउन राजा जयप्रकाश मल्लको अनुरोधमा कप्तान किनलोक नेतृत्वको अंग्रेज फौज नेपाल प्रवेश गरेको इतिहास छ । पटना, जनकपुर, सिन्धुली हुँदै अगाडि बढेको अंग्रेज फौज वि.स. १८२४ असोज ९ गते सिन्धुलीमाढी पुगेको थियो । काठमाडौंतर्फ बढ्दै गरेको अंग्रेज फौजलाई रोक्न गोरखाली फौज सिन्धुलीमा तैनाथ थियो । वि.स. १८२४ असोज १५ गते गोर्खाली फौजले अंग्रेज फौजलाई परास्त गर्‍यो ।

भनिन्छ, कहिल्यै पराजित नभई संसारमा साम्राज्य खडा गर्दै हिँडेको बेलायती अंग्रेज फौजलाई हराएको त्यो स्वर्णिम कालखण्ड हो । त्यसताका युद्ध प्रसंग नेपाली इतिहासमा निकै रोचक मानिन्छ । जुनअनुसार अंग्रेज फौज तराई हुँदै सिन्धुली पुगेको थियो । गोर्खाली सेना पहाडको टुप्पामा किल्ला जमाएर बसेको थियो । अंग्रेज फौज अगाडि बढिरहेको बेला गोर्खाली फौजले अरिंगालको गोलामा ढुंगा हानिदिए । ढुंगाले लागेर बिच्किएका अरिंगाल अंग्रेजी फौजमाथि खनिए । त्यस भेगमा पाइने सिस्नु सेउलाले अरिंगाललाई धपाउन खोज्दा अंग्रेज फौजलाई झन् सही नसक्नु भयो । भनिन्छ, त्यतिखेर अंग्रेजी फौज ‘झिंगै (अरिंगाल) बैरी, पातै (सिस्नु) बैरी, मान्छेको त के कुरा गर्नु’ भन्दै लडाईं छाडेर भागेको थियो । वंशु गुरुङले नेतृत्व गरेको गोर्खाली फौजबाट परास्त भएको अंग्रेज फौजको संसारमै पहिलो हार रहेको बताइन्छ ।

प्राकृतिक सौन्दर्यको पर्याय सिन्धुली

वीरताको इतिहास बोकेको स्थान मात्रै होइन सिन्धुली गढी, सामरिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । प्राकृतिक सौन्दर्यले भरिएको छ । सिन्धुली गढी हरेक नेपालीको गन्तव्यस्थल हो । त्यहाँको हावापानी, यातायातको सुगमता र प्राकृतिक वातावरणले वीरताको निशानीमा सुनमा सुगन्ध थपेको छ ।

महाभारत डाँडामा रहेको यस स्थलबाट तराईका फाँट र उत्तरका हिमालको रमणीय दृश्य हेर्न सकिन्छ । तराईमा चर्को गर्मी हुने बेला यहाँ आउनेहरू शीतल अनुभूति गर्न सक्छन् । यहाँ कहिल्यै गर्मीको अनुभूति नहुने स्थानीय बताउँछन् ।

सिन्धुली गढी वरपरका गाउँ जुनार उत्पादनका लागि प्रसिद्ध छ । हिमालतिर फर्किएका उच्च पहाडमा हुने रसिलो जुनारले सिन्धुली जिल्लालाई मुलुकमा मात्रै होइन विदेशमा समेत चिनाएको छ । नवअगन्तुक सिन्धुली पाइला टेक्दा स्थानीय जुनारको रसिलो फलबाटै स्वागत गर्छन् ।

काठमाडौंबाट धुलिखेल हुँदै बीपी राजमार्ग भएर सिन्धुली गढी पुग्न सकिन्छ । सुनकोशीको तिरैतिर भएर जाने नागवेली सडक आफैंमा एउटा पर्यटकीय गन्तव्य हो । काठमाडौंबाट सार्वजनिक सवारी साधनमा ४ घन्टामा सिन्धुली गढी पुग्न सकिन्छ भने तराईबाट जाँदा पूर्व–पश्चिम राजमार्गको बर्दिबासबाट करीब २ घन्टाको बस यात्रापछि सिन्धुली गढी पुग्न सकिन्छ ।

सुधारका केही प्रयास

वीरताको गाथा बोकेको सिन्धुली गढी केही वर्ष अगाडिसम्म भग्नावशेषको रूपमा परिणत भएको थियो । उचित संरक्षण र सम्वर्द्धन हुन नसक्दा ओझेलमा पर्दै गएको थियो । तर हाल सो ऐतिहासिक क्षेत्रको मुहार फेरिँदै गएको छ । हाल कमलामाई नगरपालिकाले सो क्षेत्रको गुरुयोजना बनाएर भौतिक संरचना निर्माण थालेको छ । युद्ध संग्राहलय बनाउने उद्देश्यका साथ लागिपरेको छ नगरपालिकाका । त्यहाँस्थित सानो गढी, ठूलो गढी, युद्धताका जेल घर तथा अदालतलगायत क्षेत्रको संरक्षणमा जुटेको छ ।

गढी परिसरमा पृथ्वीनारायण शाहसहित सरदार वंशु गुरुङ, काजी वंशराज पाण्डे, काजी हर्ष पन्त र खजान्ची वीरभद्र उपायध्यायको शालिक निर्माण गरिने भएको छ । नेपाली सेनाको साढे ४ करोड र प्रदेश सरकारको ३ करोड गरी साढे ७ करोड लागतमा युद्ध संग्राहलय निर्माणमा जुटेको नगरपालिकाले जनायो ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्