२ दिनको लगातार वर्षा र हिमपातपछि मौसममा सुधार आएकोले शनिबार नेपालगञ्जबाट हुम्लाको सिमकोटबाहेक कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका लागि हवाई उडान पुनः सुचारु भएका छन् ।
दुई दिन लगातार हवाई उडान नहुँदा नेपालगञ्जमा अलपत्र जुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङका धेरै यात्रु शनिबार गन्तव्यमा पुगेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
तर, हुम्लाको सिमकोटमा फोनलगायत कुनै पनि सम्पर्क हुन नसकेकोले त्यहाँ शनिबार पनि उडान गर्न नसकिएको जनाउँदै सिमकोटका यात्रु अझै पनि नेपालगञ्जमै रोकिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
उनले हुम्लामा अझै पनि निरन्तर हिमपात भइरहेकाले त्यहाँ कुनै सम्पर्क हुन नसकेको र सिमकोट अझै पूर्ण रूपमा सम्पर्कविहीन रहेको बताए ।
लगातार दुई दिन नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङका लागि कुनै पनि हवाई उडान हुन नसक्दा धेरै यात्रु फसेकाले शनिबार धेरै ठाउँमा दुई/दुईवटा उडानसमेत गरिएको जनाइएको छ ।
बुधबार रातिबाटै यस क्षेत्रका अधिकांश पहाडी र हिमाली जिल्लामा निरन्तर वर्षा र हिमपात भइरहेकाले ती जिल्लास्थित विमानस्थल नखुलेका कारण यहाँबाट भइरहेका सबै हवाई उडान बिहीबार र शुक्रबार रद्द गरिएका थिए ।
सडक यातायातसँग नजोडिएको हुम्लाका लागि चार दिनदेखि हवाई उडान नहुँदा अति आवश्यक कामले त्यहाँ जाने धेरै यात्रु मानिस विमानस्थलमा पर्खिरहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
शनिबार मौसममा सुधार आएपछि नेपालगञ्जबाट सङ्घीय राजधानी काठमाडौँका लागि हुने हवाई उडान भने नियमित समयमै भइरहेको विमानस्थलले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
छापाबाट