उपत्यकाका प्रहरी कार्यालयमा नागरिक सहजकर्ता सेवाको शुरूआत

महानगरीय प्रहरी कार्यालय मातहत कार्यालयमा आउने सेवाग्राहीको सहजीकरणको लागि बुधवारदेखि नागरिक सहजकर्ता सेवाको शुरूआत गरिएको छ ।

प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित मुद्दा चल्ने हरेक प्रहरी कार्यालयमा कार्यालय समयमा नागरिक सहजकर्ताको ‘ब्याच’ लगाई कार्यालयको गेटमा नागरिकलाई सेवादिने गरी बस्ने व्यवस्था शुरू गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।


Advertisement

विभिन्न प्रहरी कार्यालयबाट कार्यमा खटिएका प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिँदै भने, ‘हामी अन्यायमा पर्नेको साथी, सहयोगीका पक्षधर हौं । न्यायको लागि आउने जो कोही नागरिकलाई दिने हाम्रो सेवा सहज, सरल, समान, पारदर्शी, निष्पक्ष र छिटोछरितो हुनुपर्छ ।’ 

कार्यालयमा आएका सेवाग्राहीले न्यायको लागि मसँग राज्य, सरकार, प्रहरी संगठन छ भन्ने अनुभूति गर्ने गरी बोली वचन र सहयोगी भावना सहितको सेवा दिन निर्देशन दिएका छन्  ।


Advertisement

नागरिक सहजकर्ताले सम्बन्धित कर्मचारी र शाखा समक्ष पुर्‍याउन सहयोग गर्ने पोखरलले बताए । सेवा प्रवाहमा उच्चताका साथ काम गर्न निर्देशन दिँदै कोही कसैबाट कमजोरी भएमा वा सेवा प्राप्तिका लागि आउने नागरिकहरू असन्तुष्ट भएमा सम्बन्धित कर्मचारी जिम्मेवार हुने बताए ।

नागरिक सहजकर्ताको सेवा बुधवारैबाट पहिलो चरणमा ३ वटै महानगरीय प्रहरी परिसर, ट्राफिक महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसर, अपराध महाशाखा र परिसर मातहतका सबै वृत्त र प्रभागमा शुरूआत गरिएको प्रहरीले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्