शहरबाट घर फर्किने ‘क्याराभान’ पच्छ्याउँदै राजमार्ग चहार्दा

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

कोरोना संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) शुरू गरेको एक वर्ष पूरा भएको छ । सरकारले हवाइ उडान र अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरी २०७६ चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन शुरू गरेको थियो । 

सरकारले बन्दाबन्दी (लकडाउन) गर्नुभन्दा २ दिनअघिदेखि नै हामी लोकान्तरकर्मी साथीहरू सबैले घरबाटै काम गर्ने निर्णय भइसकेको थियो । अनलाइन सञ्चारमाध्यमको एउटा विशेषता जहाँबाट पनि काम गर्न सकिने भएकाले घरबाट काम गर्न सकिने सहजता थियो । 


Advertisement

सरकारले लकडाउन गरेको शुरूआतका केही दिन घरबाटै समाचार बनाउने र अपडेट गर्ने काम भयो । काम त जसोतसो चलिरहेको थियो, तर मनमा त्रास ज्यादा थियो । नेपालमा कोरोना संक्रमितको संख्या त फाट्टफुट्ट मात्र देखिएको थियो । मानिसहरू आतंकित बढी थिए ।  

शुरूमा एक साताका लागि गरिएको लकडाउन दोस्रो, तेस्रो हप्तामा प्रवेश गर्दै गयो । बन्दाबन्दी तेस्रो हप्तामा प्रवेश गर्दैगर्दा काठमाडौंमा कोठाभित्र निसास्सिएका मजदूरहरू घरबाट बाहिर निस्कन थाले । 

दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरू सर्वाधिक मारमा थिए । खाद्यान्न र पैसा सकिएपछि श्रमजीवी वर्ग पैदलै घर फर्किन थाले । 

काँधमा लालाबाला बोकेर मानिसहरू पूर्वतर्फ हिँड्दै छन् भनेर भक्तपुर बस्ने एकजना साथीले जानकारी गराएका थिए ।

चैत्र–वैशाखको गर्मीमा सयौं किलोमिटर पैदलै हिँडेर मानिसहरू पैदलै हिँडेको कुरा धेरै रुचिकर थियो । जसरी २०७२ सालमा महाभूकम्पपछि मानिसहरू ज्यान जोगाउन उपत्यका छाडेर थातथलो फर्किएका थिए, त्यसैगरी कोरोनाको समयमा मानिसहरू गाउँ फर्किदै थिए । यो संख्या, दर्जन, सयमा होइन हजारौंमा थियो । पैदलै घर फर्किने यात्रुको दुःखबारे रिपोर्टिङ गर्न फिल्डमै जाने कुरा भयो । 

माओवादीको सशस्त्र संघर्षको समयदेखि नै अलिकति जोखिम मोलेर रिपोर्टिङ गर्ने बानी परेका र जोखिम नमोली नयाँ कुरा आउँदैन भन्ने मान्यता राख्ने लोकान्तर सम्पादक विमल गौतम र म फिल्ड रिपोर्टिङमा जाने निर्णयमा पुग्यौं । कोरोना संक्रमणको जोखिम मोलेर हामी फिल्ड रिपोर्टिङमा हिँड्यौं । 

गाउँमा पुगेपछि भोकै मरिन्न भन्ने सोच बनाएर गाउँ पुग्न हतारिएका गरीब, सर्वसाधारण र दीनदुःखीको समाचार बनाउन हामी बीपी राजमार्ग हुँदै खुर्कोट, पृथ्वी राजमार्ग हुँदै मुग्लिन र दक्षिणकालीको बाटो हुँदै कुलेखानीसम्म पुग्यौं ।  काठमाडौंको नागढुंगा र काभ्रेको साँगा त कयौंपटक गयौं । 

गाडीमा पानीका बोत्तल, बिस्कुट र केही फलफूल बोकेर राजमार्गको  यात्रा, उद्देश्य एउटै हुन्थ्यो– पैदल यात्रुले व्यहोर्नुपरेका समस्याबारे रिपोर्टिङ । बाध्यता भएपनि पैदलै बाँके, बर्दिया र सुर्खेतसम्म पुग्ने भन्दै सडकमा भेटिएका मानिसहरू साहसी लाग्थ्यो । 

बीपी राजमार्ग हुँदै पूर्व जाँदै गरेका सर्वसाधारणको पहिलो स्टोरी लेखियो– चैत्र २७ गते । ​

लालाबाला काँधमा बोकी काठमाडौंबाट पैदल हिँडेर सप्तरी र सिराहा !

लकडाउनको समयमा पैदलै घर फर्किने मजदूरहरूको स्टोरी गर्दा नेपालको श्रम बजार र यसको सामाजिक परिवेशबारे पनि केही कुरा थाहा भयो ।

काठमाडौंबाट पश्चिमतर्फ जाने अधिकांश बर्दियाका थिए भने पूर्व जानेहरू सप्तरीका थारू । श्रम र रोजगारीका लागि नेपालका श्रमिकहरू कसरी छरिएका छन् भन्ने यो अध्ययनको विषय हुनसक्ला ।

सिन्धुपाल्चोकका गाउँमा विद्यालय भवन र घर बनाउन सुर्खेत र जाजरकोटका कामदार आएका । म्याग्दीमा भवन निर्माणका लागि रामेछापका कामदार पुगेको पाइयो ।  

त्यो चप्पलको स्टोरी 

कोरोना संकटका बीच धुलिखेल चोकमा राखिएका पुराना जुत्ताको कथा

लकडाउनको समयमा स्थानीय सरकारले कसरी काम गरिरहेका छन् भनेर रिपोर्टिङका लागि काभ्रेको पाँचखाल पुगिएको थियो । पाँचखाल नगरपालिकाले सर्वसाधारणका लागि अत्यावश्यक औषधि काठमाडौंबाट किनेर घरघरमै पुर्‍याउने व्यवस्था गरेको थियो । राहत वितरणमा पनि पाँचखालले अन्य पालिकालाई पाठ हुने खालको काम गरेको थियो । 

पाँचखालबाट फर्किँदै गर्दा धुलिखेल चोकमा देखिएको एउटा दृष्यले हाम्रो ध्यान खिच्यो । सडकको किनारामा केही पुराना जुत्ता र चप्पल पुछ्दै मिलाएर राखिएको थियो । ती चप्पल पक्कै पनि पैदल यात्रुका लागि राखिएका हुन् भन्ने कुरा बुझ्न कठीन थिएन । केही अगाडि बढिसकेको गाडीलाई ब्याक गर्न लगाएर धुलिखेलमा राखिएको चप्पलको रिपोर्टिङ गर्‍यौं ।

धुलिखेलमा राखिएका पुराना चप्पलको कथा शीर्षकमा एउटा फिचर लेखियो । मानवीयता र समाजसेवाको अनुपम नमूना थियो त्यो । व्यक्तिगत रूपमा पनि मलाई धेरै फोन आएको फिचर थियो । राज्यका निकाय गाउँ घर फर्किन हिँडेका सर्वसाधारण जनतालाई गौंडा-गौंडामा कुरेर फर्काइरहेका थिए, तर सचेत युवाहरू भने पैदल यात्रुका लागि पुराना भएपनि जुत्ता चप्पलको जोहो गर्दै थिए । हातहातमा जीवनजलको प्याकेट थमाउँदै थिए ।

बजार पसल पूर्ण रूपमा बन्द भएका कारण पैसा भएपनि जुत्ता किन्न नपाइने, तिनै पुराना जुत्ता पैदल यात्रुका लागि सहारा भएका थिए । जुत्ताका साथमा पैदल यात्रुको सहजताका लागि च्युरा दालमोठसहित खाजाको पोको, पानीको बोत्तल र जीवनजलका प्याकेट पनि धुलिखेलमा बाँडिएको थियो । 

धुलिखेलका युवाले पुराना जुत्ता, जीवनजल र खाजाको प्याकेट बाँडेको समाचार लोकान्तरमा पढेपछि काठमाडौं थानकोटका केही युवाले पनि त्यो अभियान शुरूआत गरेका रहेछन् ।

हामीले लेखेको समाचारबाट प्रभावित भएर थानकोटका केही मनकारी व्यक्तिले पैदल यात्रुलाई खाजा, पानी र जीवनजल बाँडेको थाहा पाउँदा मन फुरुङ्ग भयो । 

राजमार्गमा खाली खुट्टा रगत चुहाउँदै

गाउँ फर्किन चाहने सर्वसाधारणको लावा लस्कर राजमार्ग भरी देखिन्थ्यो । जिल्लाको सिमानामा प्रहरी र प्रशासनले प्रवेशमा निषेध गरेपछि सामान बोकेका ट्रकले पनि सर्वसाधारणलाई लैजान मानेका थिएनन् ।

पश्चिम जानेहरू धादिङको नौबिसे या बैरेनीबाट ट्रक चढे भने चितवनको सीमा मौवा खोलामा गएर झर्नु पर्ने ।

काठमाडौंबाट बर्दिया, सुर्खेत र जाजरकोट पुग्न पैदल हिँडेका नागरिक के खान्छन्, कहाँ सुत्छन् ?

राजमार्गमा भेटिएका एक ट्रक चालकले अलपत्रलाई उद्धार गरेबापत प्रहरीले सास्ती दिएको गुनासो गर्थे । सरकारले एक ठाउँबाट अर्को ठाउँमा जान निषेध गरेका कारण पैदल यात्रुलाई प्रहरीले सहयोग गरेको थिएन ।

बर्दिया जाने यात्रुलाई धादिङबाट नवलपरासीमा पुर्‍याएपछि प्रहरीले जहाँबाट ल्याएको त्यहीँ लगेर छाड भनेर धम्क्याएपछि चितवनमा ल्याएर छाडिदिएका थिए । 

राजमार्गमा भोकभोकै पैदल– कसैका खुट्टा फुटे, कसैका जुत्ता टुटे !

म्याग्दीबाट १४ दिन हिँडेर काठमाडौं हुँदै रामेछाप

म्याग्दीबाट ७ दिन हिँडेर काठमाडौं : रामेछाप फर्किँदै गरेका वृद्धको मुटु हल्लाउने कहानी !

​राजमार्गमा पैदल यात्रा गरेका मजदूरको रिपोर्टिङ गर्दै जाँदा एउटा फरक दृश्य पनि भेटियो । अधिकांश यात्रुहरू काठमाडौंबाट बाहिरिएका थिए । एक यस्ता यात्रु भेटिए जो पश्चिमबाट काठमाडौं आउँदै थिए ।

म्याग्दीबाट पैदलै पोखरा, पोखरामा बेखर्ची भएपछि काठमाडौं हुँदै रामेछाप हिँडेका भीमबहादुर तामाङ सडकमा भेटिए । यी वृद्धले यात्राका क्रममा व्यहोरेका दुःख र पीडा मानिसहरूका लागि जीवन जिउने हिम्मतको पाठ पनि हुन सक्छ । यो स्टोरी पढेर धेरैले प्रतिक्रिया दिए ।

यो स्टोरी पढेर केहीले सहयोग गर्न खोजेका थिए, तर उनीसँग मोबाइल नभएका कारण कनेक्ट गराउन नसकिएकोमा हामीलाई दुःख लाग्यो । बीपी राजमार्गमार्फत घर जाने बताएकाले हामी उनलाई खोज्दै गयौं, शायद उनी अर्को बाटो लागेर होला भेट हुन सकेन । 

हजारौंको उद्धार गर्ने प्रहरी इन्स्पेक्टर शान्ता वाइबा

इन्सपेक्टर वाइबाको लोभलाग्दो सक्रियता– यसरी भयो ७ हजार मजदुरको उद्धार !

​अधिकांश स्थानमा यात्रुलाई प्रहरीले अवरोध गरेपनि केही प्रहरीहरू अपवाद थिए । तीमध्येकी एक थिइन्, इलाका प्रहरी कार्यालय खुर्कोटकी इञ्चार्ज इन्सपेक्टर शान्ता वाइबा । वाइबाले अलपत्र यात्रुको उद्धारमा खेलेको भूमिकाबारे एउटा फिचर स्टोरी लेखियो । यो मानवीय कामको व्यापक प्रशंसा भयो । सामान लिएर फर्किएका ट्रकमा अलपत्र यात्रुलाई गन्तव्यमा पठाउने काम गरेकी थिइन् । 

हिँड्दै सिन्धुलीको सीमामा पुगेका सर्वसाधारणलाई ट्रकमा उठाएर उनले गन्तव्यमा पठाइदिन्थिन् । गरीब मजदूरसँग पैसा नभएकाले जबरजस्ती भाडा नलिन भन्दै उनले ड्राइभरहरूलाई सम्झाइरहेकी थिइन् । हामीले फिचर लखेपछि कोरोनकालकी नायक बाइवाको कामको धेरै प्रशंशा भयो । 

पुलमा ताल्चा, आवत जावत बन्द

कोरोनाले गाउँमा अनौठा नियम : झोलुङ्गेपुलमा भोटेताल्चा, आपतै परे पुलको बीचमा गफगाफसम्म

कोरोना भाइरसले गाउँमा कस्तो असर गरेको थियो होला ? हाम्रो मनमा कौतुहलता थियो । पैदल फर्किने यात्रु खोज्दै जाँदा राजमार्ग आसपासमा केही अनौठा दृश्यहरु देखिए । शदियौंदेखि एक अर्को गाउँको अन्तरसम्बन्ध थियो । कोरोनाले गाउँ–गाउँको सम्बन्ध विच्छेद गराएको थियो, जसरी अन्तर्राष्ट्रिय नाका बन्द गरेर दुई देशबीच आवतजावत बन्द भएको थियो । 

त्रिशूली नदी माथिका झोलुंगे पुलमा ताल्चा लगाएर आवतजावत बन्द गरिएको थियो । चितवन र धादिङतर्फबाट गोरखा जोड्ने पुलका बीचमा ताला लगाइएको थियो । 

खासगरी भारतबाट फर्किने युवाहरू गाउँपालिकाको सम्पर्कमा नआई क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था छलेर सिधै घरमा जान्छन् कि भनेर पुलमा ताला लगाइएको थियो । एक अर्थमा भन्दा भारतबाट हिँड्दै आएकालाई आफ्नै गाउँघर प्रवेशमा बन्देज लगाइएको थियो । २१ औं शताब्दीको खुला समाजमा यो दृश्य नौलो लाग्ने खालको थियो ।

लकडाउनको समयमा अस्पतालमा अलपत्र बिरामीको पनि स्टोरी गरियो ।

लकडाउन बज्रपात : डाक्टरको चन्दाले उपचार, भाडा अभावमा अस्पतालमै बास !

​​सहयोगका नाममा अलपत्र यात्रुमाथि ठग्ने विचौलियाको स्टोरी पनि लेखियो । 

अलपत्र यात्रुसँग बिचौलियाको मोलमोलाइ– ट्रक भाडा बुटवलको १५ सय, धनगढीको २ हजार !

लकडाउन लम्बिएपछि झनै बढ्यो घर फर्किनेको लर्को, कोही ट्रकमा झुण्डिएर त कोही पैदलै यात्रा

कहिले घर कहिले कार्यालय 

कोरोनाको सन्त्रास फैलिन शुरू गरेपछि दैनिक पत्रपत्रिकाले आफ्नो प्रकाशन नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो । त्यसैमाथि सरकारले लकडाउन गरेर बजार बन्द गरेपछि घरबाटै काम गर्ने निर्णय भयो । चैत्र ९ गते अफिसमा मिटिङ बसेर १० गतेदेखि घरबाटै काम गर्ने निर्णय लियौं । १० गतेदेखि त घरबाट काम शुरू गर्‍यौं । ११ गतेदेखि सरकारले बन्दाबन्दी शुरू गर्‍यो । 

झण्डै दुईमहिना घरबाट काम गर्‍याैं । डेढ दशकपछि कार्यालय समय अर्थात दिउँसोको समयमा यति लामो समय घरमा बसियो । 

लकडाउन हल्का खुकुलो भएपछि २०७७ वैशाख २८ गतेदेखि फेरि अफिसबाट काम गर्न शुरू भयो । 

पर्याप्त सावधानी अपनाएर कार्यालयमा उपस्थित भएर काम गर्ने निर्णय भएअनुसार सोही अनुसार काम शुरू भयो । केही साथीहरू त्यो भन्दा अगाडिदेखि नै कार्यालयबाटै काम गरिरहेका थिए । 

वैशाख ३१ गतेसम्म कार्यालयबाट काम गरियो । कोरोना संक्रमण फैलिने दर बढेपछि फेरि जेठ १ गतेबाट घरबाटै काम गर्ने निर्णय भयो । जेठ २४ गतेसम्म घरबाटै काम भयो । फेरि जेठ २५ देखि कार्यालयमा उपस्थित भएर काम गर्न थालियो । नेकपा भित्रको विवाद, राजनीतिक घटनाक्रमका कारण पनि कार्यालयमै उपस्थित हुँदा सहज हुने भएकाले कार्यालयबाटै काम गर्ने सहमति भयो । 

कोरोना संक्रमण फैलिन थालेपछि साउन १ गतेदेखि फेरि घरबाट काम शुरू भयो । साउन २८ गतेबाट पुनः कार्यालयमा उपस्थित भएर काम गर्न थाल्यौं । असोज २५ गतेपछि फेरि कार्यालयबाट काम शुरू भयो । कोरोना संक्रमण कसैमा नफैलियोस् भनेर नै हामीले कहिले घर कहिले कार्यालयबाट काम गर्ने निर्णय गरेका थियौं । 

कोरोना संकटको समयमा पनि हामीले आर्थिक पुनरुत्थान बहस भनेर कोरोनाले थला पारेको अर्थतन्त्रलाई उकास्न के गर्न सकिन्छ भनेर लामो बहस चलायौं । 

व्यक्तिगत अनुभव– छोरीलाई उचाल्न संकोच लागेको समय

राजमार्गमा गएर मजदूरहरूको दुःखको रिपोर्टिङ त गरियो तर, घरमा भने सधैँ शंकाको नजरले हेर्ने, कतै कोरोना ल्याएको छ कि भनेर । सबभन्दा ठूलो डर त छोरीलाई लिन लाग्ने, भर्खर १ वर्ष पुग्दै गरेकी छोरीलाई केही हुने हो कि भनेर । 

खोकी लागे, हाँच्छ्यु आए, अन्य कारणले ज्वरो आउला जस्तो भएपनि कोरोना नै भयो कि भन्ने उपशंकाले घेर्ने । भौतिक दूरीसहित सावधानी त पर्याप्त अपनाइएको थियो, त्यति हुँदाहुँदै पनि कतै छोरीलाई कोरोना सर्ने हो कि भन्ने चिन्ताले सताइरहने । 

बजारबाट तरकारी फलफूल किनेर ल्याएपछि घरबाहिरै धोएर मात्र भित्र लग्ने । घरको गेटको चुकुलमा कयौँपटक स्यानिटाइज गर्ने । 

भगवान भरोसा भनौं या सावधानीका कारण कोरोना त घरमा भित्रिएन, तर कोरोनाको महामारीले जनजीवन अस्तव्यस्त बनेको समयमा पाँच दिन अस्पतालको बसाइ भयो, छोरी बिरामी परेका कारण ।

मानिसहरू अस्पतालको बाटो हिँड्न समेत हिच्किचाइरहेको समयमा अस्पतालको बसाइ कम्ति कष्टपूर्ण थिएन । 

लकडाउन भएको वर्ष दिन पुग्दै गर्दा फेरि कोरोनाको दोस्रो लहरको त्रास बढेको छ । तर फ्रन्टलाइनमा खटिनेले कोरोनाको खोप लगाइसकेको र कारोना संक्रमण भएका ९९ प्रतिशत निको भइसकेको अवस्थामा अब फेरि त्यस्तो कहालीलाग्दो दिन नआउने कल्पना गरौं । खोप लगाउँदैमा पूर्ण रूपमा सुरक्षित नहुने विभिन्न अध्ययनहरूको निष्कर्ष छ, त्यसैले पर्याप्त सावधानी अपनाऔं अनि फेरि लकडाउन हुने कल्पना नगरौं !

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्