‘तानाशाह’ आरोपित प्रधानमन्त्रीसँग बालुवाटारमा दुई घण्टा

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

गएको शनिवार बिहान साढे ११ बजेका लागि प्रधामनन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ताको समय तय भएको थियो । साढे ११ भन्दा अगावै क्यामेरा सेट गर्नुपर्ने भएकोले हामी ११ बजेर ५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्‍यौं । 

उपप्रधानन्त्री ईश्वर पोखरेल र अन्य कुनै मन्त्री केही जरुरी कामले आएका कारण अन्तर्वार्ता केही ढिला हुने भयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रेस संयोजक रामशरण बजगाईं र प्रधानमन्त्रीका फोटोग्राफर राजन काफ्ले लगायतसँग हाम्रो भेट भैसकेको थियो । केहीबेर उनीहरूसँग अन्तर्वार्ता गर्ने कोठामा चिया खाँदै समसामयिक विषयमा छलफल भयो । नेकपा एमालेकी सांसद मनकुमारी जिसी पनि केहीबेर त्यही कार्यकक्षमा थिइन् । 


Advertisement

नेकपामा विवाद बढाउने त्यो कुर्सी 

प्रधानमन्त्रीको अन्तर्वार्ताका लागि कुर्सीको सेटअप मिलाउनुपर्ने भयो । ‘तपाईंहरूलाई जसरी अनुकूल हुन्छ, मिलाउन सक्नुहुन्छ । यदि अन्तर्वार्ता लिने व्यक्तिलाई पनि प्रधानमन्त्री बस्ने कुर्सी जस्तै अर्को कुर्सी चाहिन्छ भने हामी त्यो पनि व्यवस्था गरिदिन्छौं,’ त्यहाँ खटिएका एक उच्च सुरक्षा अधिकारीले भने । 

सामान्यतया प्रधानमन्त्री बस्ने कुर्सी फरक हुनुपर्ने र अन्तर्वार्ता गर्ने व्यक्ति बस्ने कुर्सी फरक हुनुपर्ने सोच सरकारी अधिकारीमा पाइन्छ । तर त्यस दिन बिल्कुल फरक ढंगले हामीलाई व्यवहार गरियो ।  

प्रधानमन्त्री ओली बस्ने कुर्सीलाई पनि हामीले थोरै घुमाएर अन्तर्वार्ता गर्दा एकअर्काले फेस टू फेस गर्न सक्ने गरी मिलायौं । सामान्यतया प्रधानन्त्रीको कुर्सी दायाँबायाँ सार्न मिल्दैन या त्यसो गर्न दिइँदैन । 

‘यो यही कुर्सी हो तत्कालीन कार्यकारी अध्यक्षले मैले सँगै बस्न पाइन भनेर गुनासो गरेको कुर्सी !’ प्रधानमन्त्रीको सचिवालयका एक सहयोगीले ठट्टा गर्दै भने । तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष –पुष्पकमल दाहाल ‘प्रचण्ड’) को कुर्सी प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँगैको लहरबाट हटाइएको विषय नेकपाभित्र लामो विवादको एक कारण बनेको थियो ।

‘तपाईं सोझो भएर हो, म भएको भए त कुर्सी उचालेर सँगै राखेर उता सर् भन्ने थिएँ भन्दै माधवजीले भन्नुहुन्छ,’ प्रचण्डले पुस ५ गतेपछिका सभामा त्यो प्रसंग निकालेका थिए ।

प्रचण्डले बस्न पाइनँ भनेको कुर्सी जुन प्रधानमन्त्री बस्ने कुर्सीसँग हुबहु मिल्छ । त्यो कुर्सी अन्तर्वार्ता लिनेका लागि व्यवस्था मिलाइयो । हामीलाई जुन कुर्सी भएपनि हुन्छ, कुर्सीमा हामीहरूको ध्यान छैन भनेर जवाफ दिएका थियौं ।

तर प्रधानमन्त्रीका सुरक्षा अधिकारी र सहयोगीहरूले उस्तै कुर्सी ल्याएर त्यहाँ राखिदिए । प्रधानमन्त्रीका सल्लाहकार र सहयोगीहरूको व्यवहार त्यस दिन अत्यन्तै नरम, उदार र मिलनसार देखियो । 

ली क्वान यू को प्रसंग

लगभग १ बजेको समयमा प्रधानमन्त्री ओली अन्तर्वार्ताका लागि कोठामा छिरे । अन्तवार्ता शुरू हुनुअघि ओलीको बारेमा लोकान्तरमा लेखिएको एउटा लेखको प्रसंग उठ्यो । लोकान्तर डट्कमका स्तम्भकार दिलनिशानी मगरले ६ साउन २०७५ मा लेखेको ‘यो देशमा म एउटा ली क्वान यू खोजिरहेछु’ शीर्षकको । सामाजिक सञ्जालमा पनि सक्रिय निशानी अहिले केपी शर्मा ओलीको कट्टर आलोचक भएका छन् । 

‘दिलनिशानीले पनि केपी ओलीको पक्षमा लेखेका रहेछन् ?’ त्यहाँ प्रसंग उठ्यो ।  

त्यो कुरा सुनेका ओलीले अनौपचारिक कुराकानीमा भने ‘ली क्वान यु हाम्रोमा आवश्यक छैन ।’ आधुनिक सिंगापुर निर्माणमा ली क्वान यूको योगदान अतुलनीय मानिन्छ । शहरी विकासमा ली क्वानलाई एउटा आदर्श मान्ने गरिन्छ ।

‘ली क्वान जस्तो तानशाही पनि होइन ।  नेपालको जस्तो एनार्किज्म (अराजकता) पनि होइन । डिसिप्लिन डेमोक्रेसी (अनुशासित लोकतन्त्र) चाहिएको हो,’ अन्तर्वार्ता अघिको अनौपचारिक कुराकानीमा ओलीले भने । 

चालकलाई किन एक घण्टा कुराउने ?

छोटो अनौपचारिक कुराकानी सकिएपछि अन्तर्वार्ता शुरू हुन लागेको थियो । प्रधानमन्त्री निवास बाहिर जेनेरेटरको ठूलो आवाज आयो । प्रधानमन्त्री निवासमा ट्याङ्करले पानी खन्याउन लागेको रहेछ । जेनेरेटरबाट निस्केको चर्को आवाजले भिडियो अन्तर्वार्ता रेकर्डिङमा अवरोध पुर्‍याउने देखियो । प्रधानमन्त्रीको इशारा अगावै सुरक्षाकर्मीले जेनेरेटर बन्द गर्न लगाइसकेका थिए । 

प्रधानमन्त्रीले सोधे– ‘पानी खन्याउन कतिबेर लाग्छ ?’

‘१० मिनेट हजुर’ एक सुरक्षाकर्मीले भने । 

‘त्यसो भए १० मिनेटमा सकिने कामका लागि चालकलाई एक घण्टा किन कुराउने ? हामी बरू माथिबाट मगाएर मीठो कफी खाऊँ, उसलाई छिटो पानी खन्याउन लगाएर पठाइदिऊँ’ ओलीले भने । 

सामान्यतया शासक र प्रशासकहरू आफूभन्दा तल्लो दर्जाका कर्मचारी, मजदूर र श्रमिकहरूलाई कुराउन मन पराउँछन् या पेल्न रुचाउँछन् । तर त्यो दिन बालुवाटारमा प्रधानमन्त्रीको व्यवहार त्यस्तो देखिएन । बरू हामीले केहीबेर कुरौं, चालकलाई नकुराऔं भन्ने प्रधानमन्त्री ओलीको भनाइ उदार र नरम सुनिन्थ्यो । 

त्यसपछि जेनेरेटर फेरि अन भयो । ट्याङ्करले पानी झार्न शुरू गर्‍यो ।  प्रधानमन्त्रीको आग्रहबमोजिम कफी, मिल्क टी, ब्ल्याक टी र ग्रीन टी आयो । 

प्रधानमन्त्रीलाई कफी आयो । अन्तर्वार्ता लिन प्रधानमन्त्रीको अगाडि कुर्सीमा बसेका सम्पादक विमल गौतमले ग्रीन टी लिनुभयो । 

‘मैले अघि नै लिइसकें, धन्यवाद !’ मैले भने । 

‘यहाँ आएपछि कहाँ त्यसो भन्न मिल्छ, लिनैपर्छ । प्रधानमन्त्रीले यसो भनेपछि मैले ब्ल्याक टी लिएँ ।

हामीले चिया खाँदै गफ गर्‍यौं । २०७४ सालको चुनाव प्रचारको अन्तिम दिन ओलीसँग लिएको अन्तर्वार्ताको प्रसंग पनि उठ्यो त्यहाँ । यस पटकको औपचारिक अन्तर्वार्तामा प्रधानमन्त्रीले त्यो प्रसंगपछि आफैँ कोट्याउन पुगे ।  

चिया खाइकेपछि अन्तर्वार्ता शुरू भयो । झण्डै डेढघण्टा लामो कुराकानी भयो । अन्तर्वार्तामा रेशम चौधरीको रिहाइको विषयमा चलेको चर्चाबारे केही नयाँ खुलासा पनि थियो ।

हेर्नुहोस्, अन्तर्वार्ता :

संविधानले फेरि त्यहीँ पुर्‍याए चुनावको विकल्प नै रहँदैन– प्रधानमन्त्री ओली [अन्तर्वार्ता]​

विकास निर्माणका बारेमा सोध्नुभएन नि !

औपचारिक अन्तर्वार्ता सकिएपछि हामीले यो महत्त्वपूर्ण समयका लागि धन्यवाद भन्यौं । ‘समय मिलाउने उहाँहरू (विष्णु रिमाल र सूर्य थापालाई देखाउँदै) मेरो काम त बोल्दिने मात्र हो,’ प्रधानमन्त्रीबाट यस्तो ठट्टासँगै एउटा जिज्ञासा पनि रह्यो, ‘विकास निर्माणका बारेमा त सोध्नुभएन नि !’

‘आज त लामो भयो । अब बजेट आएपछि फेरि दोस्रो अन्तर्वार्ता गर्नुपर्ने भयो विकास निर्माणमा फोकस भएर,’ मैले भनें । हामी अन्तर्वार्ता सकेर बालुवाटारबाट निस्कियौं । 

प्रतिनिधि सभा विघटन गरेपछि केपी ओलीलाई विपक्षी र आलोचकहरूले ‘तानाशाह’, ‘निरंकुश’ र ‘प्रतिगामी’को बिल्ला भिराइदिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘लोकतन्त्रको हत्यारा’को आरोप पनि लगाए । नसामा रगत भन्दा राजनीति बग्ने मानिसहरूले ओलीप्रति एक प्रकारको धारणा बनाइरहेकै छन् । तर स्वयं उनकै मुखबाट ‘तानाशाही होइन, डिसिप्लिन डेमोक्रेसी’ भनेको सुन्दा र ‘त्यो पानी ट्याङ्करको चालकलाई एक घण्टा किन कुराउने ?’ भनेको सुन्दा ओलीमा त्यस्तो तानाशाही प्रवृत्ति हामीले भेट्टाएनौं । ओली त उल्टै नरम पो सुनिए ।  

ओली निरंकुश या तानाशाह हुन्, होइनन् यो आ–आफ्नै बुझाइ र व्याख्या होला । तर शक्तिशाली प्रधानमन्त्रीले एक ‘ट्याङ्कर चालक’को समय र मर्म बुझेको देख्दा मलाई चाहिँ सुखद् अनुभूति भयो । ‘मानिसको एउटै अन्तर्राष्ट्रिय जाति हुनेछ’ भनेर गीत गाउने कम्युनिस्टहरू पदमा पुगेपछि आफूलाई शासक नै ठान्छन् ।

एक मजदूरको समयको मूल्य बुझिदिने प्रधानमन्त्रीको यो शैली काठमाडौंदेखि गाउँ–गाउँका सिंहदरबारमा बस्ने ‘शासक’हरूले बुझिदिने हो भने वास्तविक अर्थमा सामाजिक न्याय र समाजवादको गफ गरेको सुहाउला कि !

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्