राजनीतिको विद्रूप

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

‘गान्धारी ! एउटा कुरा भन्छु मान्छ्यौ ?’ एकदिन साँझ धृतराष्ट्रले भने –

‘म जन्मान्ध छु । तिमीले पनि आँखामापट्टी बाँधेकी छ्यौ । बाहिरको कुरा थाहा पाउँदैनौं । अरूले जे भन्यो त्यसैमा विश्वास गर्नुपर्छ । भाइ विदुर आउँथे, यथार्थ कुरा बताउँथे तर उनी पनि बाँउठिन थालेका छन्, टेढा कुरा गर्छन् । मेरो कुराको विपरीत अर्थ लगाउँछन् । जस्तो मैले चाहेको हुन्छु, त्यसको उल्टो अर्थ निकाल्छन् । सुन्छु हाम्रा छोरा र भाइ पाण्डुका छोराहरूबीच मिल्ती छैन रे ! पाण्डुले असमयमै छाडेर गए । उनका छोराहरू फर्केर नआएका भए हुन्थ्यो तर आए । पाण्डुको जंगलमै निधन भयो । विचरी माद्री उनकै साथमा सती भएर गइछिन्, राम्रै भयो । कुन्ती पनि सती गइदिएको भए हुन्थ्यो तर गइनन् । छोराहरू पालेर बस्छु भनिछन् ।  


Advertisement

त्यतिसम्म त ठीकै थियो । पाण्डवहरूलाई लिएर हस्तिनापुर नआएको भए जाती हुन्थ्यो । पाण्डुकुमार जंगलमै जन्मेका थिए, जंगलमै बस्थे, जंगलमै मर्थे, के फरक पथ्र्यो र ? तर के गर्ने कुन्तीले लिएर आइहालिन् । नल्याउने कि भन्न नखोजेको होइन तर काका भीष्मले ठाडै खाउँला जस्तो गरे । भाइ विदुर पनि उतैतिर लागे । मैले चाहेर पनि रोक्न सकिनँ । 

आएर पनि चुपचाप बसिदिएको भए हुन्थ्यो, त्यो पनि गरेनन् । उल्टै मेरा छोराहरूसित वैरभाव गर्न लागे । कुमार दुर्योधनको स्वभाव अलि कडा छ । ऊ अन्याय गर्दैन, अरूले अन्याय गरेको सहन पनि सक्दैन । यो कुरा पाण्डु कुमारलाई मन नपरे जस्तो छ । काका भीष्म पनि उनीहरूकै पक्षमा छन् । अस्ति यमुना नदीमा पौडी खेल्न जाँदा भीमसेन डुबेछन् । त्यसको दोष पनि दुर्योधनमाथि नै लगाइएको छ । 

एक पटक भीमसेनले विष खाएछ । थाहा छैन कसले खुवायो वा आफैंले खायो । मूर्ख स्वभावको छ, एकोहोरो, आफैंले खाएको पनि हुनसक्छ, कस्तो हुँदो रहेछ भनेर । अरूले नै खुवाइदिएको पनि हुन सक्छ, दोष दुर्योधनलाई जाओस् भनेर । के थाहा वा कुन्तीले नै खुवाएकी पो थिइन् कि तर दोष भने दुर्योधनलाई नै लगाइयो । उनीहरू दुर्योधनलाई देखिसहँदैनन् । तिमीलाई थाहै छ विदुरले त जन्मँदै त्याग्नुपर्छ भनेका थिए । 

दुर्योधनले त्यसैको बदला लिन खोज्दैछ भने के अन्याय भयो र ! बहादुर छ, बुद्धिमान छ, चलाख छ । उसले ममाथि अन्याय भएको थाहा पाइसकेको छ, काका भीष्म, पितामही सत्यवतीले अन्यायपूर्वक मेरो अधिकार खोसेका हुन् भन्ने बुझिसकेको छ । त्यसको समेत हिसाब खोज्ने विचार छ उसको । यो त राम्रै हो नि ! बुवाले अन्धो भएर आफ्नो अधिकार लिन सकेन, सकेन । यसको अर्थ यो होइन कि सक्षम छोराले पनि त्यसलाई सहेर बसोस् । ऊ अधिकार कसैले दिएनन् भने खोसेर भए पनि लिन चाहन्छ, मलाई लाग्छ यसमा ऊ सक्षम पनि छ भने के फरक पर्छ र ? हामीले उसको उत्साह बढाउनुपर्छ, होस्टेमा हैंसे गरिदिनुपर्छ । के छ तिम्रो विचार, कुमार दुर्योधनलाई युवराज घोषणा गरिदिऊँ कि भन्ने ठानेको छु, के भन्छ्यौ ?’

‘छिः के कुरा गर्नुभएको त्यस्तो ?’ आक्रोशित मुद्रामा गान्धारीले भनिन् –

‘तपाईंको अधिकार खोसिएकोमा म पनि खुशी छैन । कुमार दुर्योधनले आफ्नो अधिकार लिन खोजेको छ भने त्यो पनि अस्वाभाविक मान्दिनँ तर हरेक कुराको समय हुन्छ । यसै पनि दरबारमा मेलमिलाप छैन । कोही पनि हाम्रा पक्षमा छैनन् । हस्तिनापुरवासी पनि हाम्रा पक्षमा छैनन्, अहिले नै यस्तो निर्णय अवस्था थप नाजुक हुन सक्छ ।’

‘धत् लाटी त्यत्तिकै आत्तिन्छ्यौ ।’ आशय प्रस्ट पार्दै धृतराष्ट्रले भने, ‘सिधै युवराज घोषणा गर्ने कुरा कहाँ गरेको हुँ र ? कूटनीतिले काम गर्नुपर्छ बुझ्यौ ?’

‘हुन त हो तर ?’ 

‘के तर ?’

‘यही कि उनीहरूलाई वारणावत पठाइदिने ।’

‘त्यसले के फरक पार्छ र ?’

‘धेरै फरक पार्छ ।’

‘त्यही त भनेको नि ! के फरक पार्छ ?’

‘वारणावत प्रान्तका निवासी पाण्डु कुमारलाई चाहन्छन्, निकै माया पनि गर्छन् ।’ भावी रणनीति सुनाउँदै धृतराष्ट्रले भने –

‘१ हप्तापछि वारणावत हस्तगत भएको बाह्रौं वार्षिकोत्सव हुँदैछ । यसको आतिथ्य गर्न निम्तो आएको छ । प्रमुख अतिथि बनाएर पाण्डु कुमारलाई पठाइदिने ।’

‘ठीकै छ यसमा मेरो भन्नु केही छैन तर यससँग कुमार दुर्योधनलाई युवराज घोषणा गर्ने कार्यको के सम्बन्ध छ र ?’

‘छ, छ ।’ थप प्रस्ट्याउँदै धृतराष्ट्रले भने, ‘यसबाट पाण्डु कुमारलाई सदाका लागि कुमार दुर्योधनको मार्गबाट हटाउन सकिन्छ । प्रमुख अतिथि भएर जान पाएपछि पाण्डु कुमार पनि खुशी हुनेछन् । काका भीष्मले पनि विरोध गर्ने छैनन् । विदुर अलि चलाख छ । ऊसित भने बच्नुपर्छ । त्यो पनि केही छैन, यसको व्यवस्था दुर्योधन र उसको मामा शकुनीले मिलाउँछौं भनेका छन् ।’

‘यसको अर्थ ?’ गान्धारीले प्रतिप्रश्न गर्दै भनिन्, ‘मैले सुन्न चाहेको भूमिका होइन, योजना हो ।’

‘त्यही त भन्दैछु ।’ लामो सास फेर्दै धृतराष्ट्रले भने, ‘पाण्डु कुमारलाई त्यतातिर पठाइदिने तर उनीहरू पुग्नुभन्दा अघि नै लावा महल निर्माण गर्न लगाउने । यसको पनि योजना दुर्योधनले बनाइसकेको छु भनेको छ । उनीहरू पुग्दा भवन निर्माण भइसक्नेछ । भवन भव्य र आकर्षक हुुनेछ । त्यसलाई देख्ने बित्तिकै पाण्डु कुमारको हर्षको सीमा रहने छैन । उनीहरू त्यही निवास गर्नेछन् तर रातको बीचमा आगो लगाइदिने र त्यहीँ भष्म बनाइदिने । यसबाट साँप पनि मर्नेछ, लौरो पनि भाँचिने छैन ।’

‘छ्या, छ्या, छ्या !!! के कुरा गर्नुभएको त्यस्तो ?’ कडा प्रतिवाद गर्दै गान्धारीले भनिन्, ‘यस्तो पनि चिताउने ? कसरी आँट गर्नुभयो यस्तो कुरा गर्न ? के भन्लान् पूर्खाले । एक पटक मर्नु पर्दैन र ? तपाईं जेसुकै भन्नुस् यसमा मेरो सहमति छैन ।’

‘हरे शिव ! कुरै नबुझी त्यत्तिकै च्याँठ्ठिन्छ्यौ वा ! यो राजनीति हो, राजनीति बुझ्यौ ? राजनीतिमा जे पनि चल्छ, राजनीति जति फोहरी के छ दुनियाँमा ? फेरि पनि सबै राजनीतिकै कुरा गर्छन् । यसैमा मरिमेटिरहेका हुन्छन् । राजनीतिमा सबै जायज हुन्छ । आफ्नो हक सुरक्षित गर्न पापै गर्नुपरे पनि पछि पर्नुहुन्न भन्छ राजनीति शास्त्रले । यसमा पितृहत्या पनि चल्छ, मातृहत्या पनि चल्छ । पुत्रहत्या पनि चल्छ, पुत्रीहत्या पनि चल्छ, भ्रातृहत्या पनि चल्छ, बन्धुहत्या पनि चल्छ, गोत्रहत्या पनि चल्छ । राजनीति भनेको ठूलो नीति हो, त्यसैले राजनीति भनिएको हो । यसको जलप लागेपछि सातखत माफ हुन्छ । माफी दिन्छन् समाजले, माफ गर्छ कानूनले, विधानले, संविधानले । हत्या, हिंसा, आतंक, अराजकता, ध्वंश, तोडफोड, सार्वजनिक सम्पत्ति हिनामिना, चोरी, डकैती, ज्यानमारा, बलात्कार जस्ता जघन्य अपराध र अपराधीलाई पनि शुद्ध पार्छ, पार्न सक्छ राजनीतिले । 

सिधासाधा मानसिकता भएकाहरू राजनीतिमा उपयोगी हुँदैनन्, मानिँदैनन् । यस्ता मानिस आउनै सक्दैनन्, आएका पनि पाखा लाग्दै जान्छन् । तिमीलाई के थाहा गान्धारी ! जति बढी ध्वंश गर्न सकियो, जति बढी लुट्न सकियो, जति बढी मानिस मार्न सकियो, त्यति बढी ठूलो मानिस बन्छ, बनाइन्छ राजनीतिमा । समाजले पनि त्यस्तै मानिस खोज्छ, त्यस्तै मानिस मन पराउँछ, त्यस्तै मानिसलाई राजनेता बनाउँछ, बनाउने गरेको छ, बनाउँदै ल्याएको छ । 

अशान्ति, झगडा कलह, मारकाट, लुट, खसोट सबै चल्छ राजनीतिमा । जिउँदै समातेर आगोमा हालेर मारे पनि हुन्छ, रुखमा बाँधेर हातगोडा काटे पनि हुन्छ, गोली ठोके पनि हुन्छ । टाउको गिंडेर मारे पनि हुन्छ, खुकुरीले रेटेर गर्धन छियाछिया पारेर मारे पनि हुन्छ । चक्कुले रोपेर, भालाले घोचेर, घचेटेर, अचेटेर मारे पनि हुन्छ, कुटीकुटी, चुटीचुटी जसरी मारे पनि हुन्छ । जस्तोसुकै अपराध गरे पनि जनताको नाम लिनुपर्छ, जनताको नाम दिनुपर्छ सबै शुद्ध हुन्छ । न कानूनका दफाले छुन्छ, न संविधानका धाराले छुन सक्छ ।’

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्