नयाँ वर्षलाई स्वागत गर्दै आफ्नै अनुभूतिमा वर्ष २०७७ लाई फर्केर हेर्दा

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

गत वर्ष विश्वले नयाँ वर्ष मनाएन । स्तब्धता, अनिश्चय र भयबीच कोभिडबाट कसरी बच्न सकिन्छ भन्ने छटपटीका कारण अघिल्ला वर्षहरूमा झै नयाँ वर्षको उत्साह कत्ति पनि थिएन । 

जीवन कि अरू कुरा भन्ने विकल्पमा सबै मानिस जीवनलाई प्राथमिकतामा राख्न पुग्छन्, जीवन अमूल्य हो र सेलिब्रेसन भन्दा सावधानी सबैको प्राथमिकता थियो । 


Advertisement

नयाँ वर्ष शुरू हुनुभन्दा तीन हप्ताअघिबाट मुलुकभरि बन्दाबन्दी शुरू भयो । करीब ९१ लाख विद्यार्थी कक्षाकोठाबाट घरभित्र बन्द थिए । करीब ६ लाख सार्वजनिक क्षेत्रका कर्मचारीहरू अत्यावश्यक सेवामा रहने बाहेक घरभित्र थिए । कल कारखाना, यातायात साधन, होटेल, सेवास्थल आदि सबै बन्द थिए । पढाइ हुने कक्षा कोठा आइसोलेसन केन्द्र र क्वारेन्टाइनमा परिवर्तित थिए ।

अस्पतालहरू आत्तिएको तयारीमा थिए । सीमित पत्रिका, त्यसमा पनि अनलाइन पत्रिका र डिजिटल सञ्चार माध्यमले दुःख र भयका सन्देश छाप्थे, सावधानीको शिक्षा दिन्थे ।

जो जहाँ थिए, ती त्यहीँ अडेका थिए । काठमाडौंबाट महेन्द्रनगरसम्मको यात्रा पैदलमै जान बाध्य थिए, नागरिक । जनजीवनमा अकल्पनीय अदृश्य त्रास सम्पन्न, विपन्न मुलुक सबैतिर फैलिएको थियो । लाग्थ्यो, कलियुगले मानव सभ्यतामाथि धावा बोल्दैछ, जहाँ कसैको कोही सहारा थिएन । 

कार्यालयहरू बन्द भनिए पनि सरकारी साधन प्रयोग गर्ने र अत्यावश्यक सेवा व्यवस्थापनमा संलग्न हुनेहरू स्वास्थ्य सुरक्षा सावधानीसाथ कार्यालय जानुको विकल्प थिएन । कार्यालयका ढोका र कार्यस्थलमा स्यानिटाइजर र दूरी कायम गर्ने उपकरणहरू सहित स्वास्थ्य शतकर्ता अपनाइएको थियो ।

शुरूका दिनमा कोरोना परीक्षणमा पोजेटिभ देखिने संख्या निकै कम भए पनि हामीहरू त्यत्तिकै डराएका थियौंं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि कार्यालयहरू अलिकति पनि चहलपहलविहीन हुन थाले । सडक लमतन्न निद्रामा पसारिएको थियो । सधैँ चहलपहल हुने होटल, मल, सिनेमा घरमा सन्नाटा थियो । 

म महालेखा नियन्त्रकको जिम्मेवारीमा थिएँ । मुलुकभरि सरकारी भुक्तानी र राजस्व संकलनको प्रणाली सञ्चालन गर्ने काम मेरो कार्यालयको थियो । सरकारी कारोबार सञ्चालन हुन नसके कोरोना कोष सञ्चालन लगायत अत्यवश्यक भुक्तानी हुन सक्दैनथ्यो । कोरोना नियन्त्रण कोषको सञ्चालक समितिमा म पनि सदस्य थिएँ ।

प्रत्येक आइतवार ९ बजेबाट नै अर्थमन्त्रीको कार्यकक्षमा उच्च व्यवस्थापन समूहको बैठक हुन्थ्यो । सामाजिक दूरी कामय गरेर बैठक बस्नुपर्ने, कोष तथा नगद व्यवस्थापनको समीक्षा र रणनीति निर्माण गर्नुपर्ने अवस्था थियो, तर मनभरि डर थियो । जिम्मेवारी र त्रासबीचको कार्यालय व्यवस्थापन आफैँमा चुनौतीपूर्ण त छँदै थियो, कार्यालयमा अत्यन्तै थोरै कर्मचारीको उपस्थितिले मुलुकभरिका करीब ५६०० भुक्तानी केन्द्र कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताइरहन्थ्यो ।

यसबीच एक दुर्गम जिल्लाको कोष कार्यालयका प्रमुखमा कोरोना पोजेटिभ देखिएपछि उनको संसर्गमा रहेकाहरू कन्ट्याक्ट ट्रेसिङमा परे । कार्यालय बन्द गर्नु पर्‍यो तर महालेखा नियन्त्रक कार्यालयबाट नै त्यस जिल्ला मातहतका भुक्तानी क्लियर गर्नुको विकल्प थिएन, त्यसै गरियो ।

एकएक गरेर कार्यालयहरूमा संक्रमण देखिन थाल्यो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु दैनिकजसो भिडियो बैठक गर्नुपर्ने थप जिम्मेवारी थपियो । महालेखा नियन्त्रक कार्यालयमा साथीहरूलाई संक्रमण होला भनेर घर–घरबाट काम गर्ने र प्रणाली सञ्चालन गर्ने साथीहरू मात्र त्यो पनि आलोपालो गरेर कार्यालय आउने व्यवस्था गरियो । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ कार्यान्वयनमा आए पनि नियमावली तर्जुमा भएको थिएन । यसैबीच सरोकारवालाको सुझाव सहित नियमावली तर्जुमा गर्नुपर्ने दायित्व पनि महालेखा नियन्त्रक कार्यालयमा नै थियो । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, महालेखा परीक्षकको कार्यालय र विषयगत मन्त्रालयहरूसँग पृथकपृथक छलफल गरी त्यसलाई व्यावहारिक खाका दिने काम सम्पन्न गर्न सकियो ।

कोभिडको सन्त्रासबीच स–सानो बैठक बस्नु पनि निकै साहसिक काम थियो । 

कोभिडले मानिसहरूको गतिविधिलाई निकै साँघुर्‍याएकाले केही महत्त्वपूर्ण काम गर्ने समय यही नै हो भन्ने निष्कर्ष महालेखा नियन्त्रक कार्यालयका उच्च व्यवस्थापन समूहले निकाल्यो । नेपालको लेखा प्रणाली गतावधिक थियो, न बजेट क्रियाकलाप ट्र्याकिङ गर्न सक्थ्यो, न सरोकारवालाको आवश्यकता पूरा गर्न सक्थ्यो, न वैज्ञानिक नै थियो । २०७२ बाट लागू गरिएको मन्त्रालयगत बजेट सूचना व्यवस्थापन प्रणाली (एलएमबीआइएस)सँग पनि लेखाप्रणाली एकीकृत गर्न सकिएको थिएन ।

कोरोनाको बन्दाबन्दीबीच क्रियाकलापमा आधारित लेखाप्रणाली विकास गर्ने निधो गरियो र चार समूह चार स्थानमा रही भर्चुअल नेटवर्कमा आबद्ध भै प्रणाली विकासको काम थालनी गर्‍यौं । साथीहरू रमेश सिवाकोटीको संयोजकत्वमा परिचालित टोलीमा प्रणालीगत पक्षमा संसार देवान र बिजिनेसको पक्षमा भेष भुर्तेललगायत अन्य साथीहरू र विज्ञहरूले काम गर्ने र साप्ताहिक रूपमा मलाई प्रतिवेदन दिने काम गरियो । यसैबीच केही विज्ञ साथीहरू संक्रमणमा परेकाले पनि प्रणाली निर्माण र प्रयोग असार भित्रमा गर्न निकै असजिलो भयो ।

नयाँ प्रणाली निर्माण र अवलम्बनमा पुरानो प्रणालीमा अभ्यस्त साथीहरूबाट असजिलो महशुस समेत भयो । तर कसैगरी प्रणाली स्थापना गर्ने काम श्रावण अन्तमा सम्पन्न गर्न सकियो । प्रणाली अभिुखीकरणका लागि दैनिक दुई सिटमा जुम बैठकको क्रम शुरू गरियो र करीब पाँच हजार व्यक्तिलाई प्रशिक्षित गरियो । श्रावणमा परीक्षण समेत गरी नयाँ लेखा प्रणाली कार्यान्वयनमा ल्याउन सम्भव भयो । यसले नेपालको लेखा प्रणाली मात्र होइन, समस्त सार्वजनिक वित्तीय व्यवस्थापनको स्तर नै उठेको छ ।

अब त यो लेखा प्रणाली (सिगास) र यसैका परिपूरकका रूपमा निर्माण गरिएका सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली र राजस्व व्यवस्थापन प्रणाली संस्थागत भैसकेका छन् । नगद, कोष तथा बजेट व्यवस्थापनलाई रियल टाइममा व्यवहार गर्न सकिने भएको छ । यी प्रणालीहरूको जगमा अरू प्रणाली व्यवस्थापन गर्ने आधार खडा भएको छ । विद्युतीय भुक्तानीले आकार विस्तार गर्दैछ । परिणामतः वित्तीय जवाफदेहिता र पारदर्शिताको वैज्ञानिक आधार बसेको छ । केन्द्रीय भुक्तानी प्रणाली पनि विकास हुँदैछ । यसलाई म कोरोना महामारीले दिएको उपलब्धिका रूपमा लिन्छु ।

कोरोना संकटका समयमा भयभित जनजीवनलाई आशा र उमंग भर्नु आवश्यक थियो । कतिपयमा जीवन नै निरर्थक हो कि भन्ने निरिस्वरताको विकास भएको आभास हुन्थ्यो भने व्यवसायहरू ठप्प थिए । यसैबीच चैतन्य मञ्चबाट योगचिन्तक र दार्शनिक चिन्तामणि योगी र साथी गणेश जोशीबाट शुरू भएको सकारात्मक अन्तरक्रियामा वक्ताका रूपमा अनलाइनमार्फत जोडिएर देशविदेशका साथीहरूसँग आबद्ध हुने काम गरियो ।

यसले जीवनको अर्को पाटो उघारेको महशुस गरें । धेरै साथीहरू जीवन र जगतप्रति नयाँ दृष्टिकोण र असल संस्कृति राख्न थाले । यसै समयतिर सहकारी बैंक लगायत सहकारी संघ–संस्था र पेशागत सञ्जालसँग आबद्ध भएर व्यवसायलाई संकट मोचन रणनीतिमा पनि प्रक्रियाबद्ध भएँ । तालिम, छलफल र अन्तरक्रियाको भर्चुअल प्लेटफर्मले समय र स्थानको अवरोध भत्काएर धेरै गर्न सिकायो । 

२०७७ आश्विनमा मेरो सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भयो । एकातिर कोरोना महामारीले विद्यालय/विश्वविद्यालय बन्द भएको, लामो तथा छोटो अवधिका शैक्षिक कार्यक्रमको परीक्षा हुन नपाएको र अर्कातर्फ चिकित्सा शिक्षा सुधारका माग राखी प्रा.डा. गोविन्द केसीले उन्नाइसौं अनशन बसिरहेको अवस्था थियो ।

आश्विन ५ गते शिक्षा मन्त्रालयमा पद बहाली गर्दा मसँग दीर्घकालीन सुधार भन्दा पनि तत्कालका समस्याबाट शैक्षिक क्षेत्र कसरी उठाउने भन्ने चिन्ता थियो । शिक्षा क्षेत्रमा खासै अनुभव पनि थिएन, महालेखा नियन्त्रक कार्यालयको जस्तो कर्मचारी साथीहरू र मन्त्रीसँगको सामिप्यता पनि थिएन । उसै पनि शैक्षिक संगठन क्षतविक्षत थियो, कोरोनाले झनै चुनौती थपेको थियो । 

गोविन्द केसीसँगको वार्ता संयोजक मलाई तोकिएकाले पहिलो काम उहाँसँग वार्ता गरेर तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने ठूलो चुनौती ममाथि थियो । म आगोमा होमिएको महशुसमा थिएँ, सहसचिव दीपक शर्मा र केही साथीहरूले सहयोग गरिरहेका थिए । म हाजिर हुँदा डा. केसीको आमरण अनशन सोह्र दिन भैसकेको थियो ।

मनमनै प्रश्न उठ्यो, मैले सोह्र दिनमा कम्तिमा ४८ पटक खाएँ, कति भोक लाग्यो होला ? उहाँलाई छिट्टै अनशन तोडाउनु पर्छ भन्ने मनभित्र कटिबद्धता थियो । उहाँ अर्कोपटक अनशन बस्न नपर्ने गरी सम्झौतामा पुग्न चाहनुहुन्थ्यो । दिनरातको वार्तापछि आमरण अनशनको अठ्ठाइसौँ दिनमा डा. केसी र सरकारी वार्ता संयोजकका रूपमा म बीच सम्झौता भयो । वार्ताका क्रममा कोभिड– १९ प्रोटोकल अवलम्बन गर्न पनि सकिएन, सधैँ भीडभाडमा रहें । मन्त्रीज्यू, प्रधानमन्त्रीज्यूसँग छलफल गर्दा भने वार्ता टोलीका सबै साथीहरूले प्रोटोकल अवलम्बन गर्थ्यौं ।

यसै क्रममा मन्त्रीज्यू लगायत मन्त्रालयका १८ जना साथीहरूमा कोभिड संक्रमण देखियो । कोभिड संक्रमणका सन्दर्भमा त्यतिखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय दोस्रो थियो । सम्झौता कार्यान्वयनको कार्ययोजना बनाई त्यसको नियमित प्रगति समीक्षा गर्ने परम्परा बसाएँ । विषम अवस्थामा पनि डा.  केसीको जीवन रक्षा गर्न र चिकित्सा शिक्षा सुधारको अभिन्न भागका रूपमा काम गर्ने अवसर पाएकोमा मनमनै गौरवान्वित पनि भएँ । यो वार्ता सफल नभएको भए मेरो जागिरे छवि धुमिल हुनसक्थ्यो । 

चैत्रदेखि बन्द भएका शैक्षिक अनुष्ठान खुलेका थिएनन् । कक्षकोठाबाट घरमा बन्द भएका बालबालिकाहरू जेखिम मुक्त थिएनन् । स्वास्थ्य जोखिम, बच्चाहरूलाई कुलतबाट जोगाउने र शैक्षिक सत्र क्षति हुने तीन प्रकारका चिन्तामा अभिभावकहरू थिए । यसबीच वैकल्पिक सिकाई विधिलाई कार्यान्वयनमा ल्याइयो । शिक्षणको आकस्मिक कार्ययोजना कार्यान्वयनमा ल्याइयो । तर कक्षा १२, विश्वविद्यालय तथा प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका शैक्षिक कार्यक्रमको परीक्षा हुन सकेको थिएन । कक्षा १२ को परीक्षा निकै चुनौतीप्रद थियो । परीक्षा नहुँदा विश्वविद्यालयले भर्ना पनि अनिश्चय हुने सम्भावना थियो ।

४,३३,१८० विद्यार्थीमा मनोसामाजिक समस्या आउने सम्भावना थियो । शिक्षक, अभिभावक, जनप्रतिनिधि सबैसँगको छलफलका आधारमा मंसिर ९ बाट ४१०५ परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरेर संक्षिप्त परीक्षा लिने काम सम्पन्न गर्न सकिएकोमा हामी सबै कर्मचारीले गर्व महशुस गर्‍यौं । यसले विद्यालय तथा विश्वविद्यालय सञ्चालनका लागि के कस्ता जनस्वास्थ्य सुरक्षा सावधानी अवलम्बन गर्नुपर्छ भन्ने आधार पनि दियो । विश्वविद्यालयहरू पनि हाइब्रिड मोडेलबाट परीक्षा लिन सफल भए भने छोटा अवधिका शैक्षिक कार्यक्रमको परीक्षा लिने वातावरण पनि बन्यो । 

करीब नब्बे लाख विद्यार्थीको शैक्षिक सत्र क्षति हुनबाट कसरी जोगाउने भन्ने प्रश्न शिक्षा मन्त्रालयसँग थियो । सरोकारवालाहरू विद्यालय सञ्चालनको पक्ष विपक्षमा विभाजित थिए । कतिपय मुलुकले शैक्षिक सत्र क्षति गरिसकेका थिए । विद्यालय सञ्चालनको ढाँचाअनुरूप जोखिम आंकलन गरेर विद्यालय सञ्चालन वा बन्द स्थानीय तहले गर्ने र शैक्षिक वर्ष दुईमहिना पर सार्ने र पाठ्यभार समायोजन निर्णय अनुरूप विद्यालय सञ्चालनमा आएका छन् । 

विश्वमा फेरि संक्रमण बढ्दैछ । छिमेकी मुलुक भारत संक्रमणका दोस्रो मुलुक बनिसक्यो । यस अवस्थामा जोखिम व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता फेरि बढेको छ । तर हामीहरू नआत्तिइकन जोखिम पनि कम हुने र शैक्षिक क्षति पनि नहुने सुरक्षित सिकाइ वातावरण कायम गर्नु अहिलेको उत्तम उपाय हो । शैक्षिक क्षति हुन भने दिनु हुन्न । जीवनमा एक वर्षको धेरै ठूलो महत्व हुन्छ । एक वर्ष क्षति भएमा फेरि त्यसलाई ल्याउन सक्ने अवस्था आउने छैन । 

कोभिड–१९ महामारीले जनजीवन संत्रासमय बनायो, आर्थिक गतिविधि ठप्प पार्‍यो, मानिसबीचको व्यवहार बदलिदियो, माया र समवेदना साट्ने शैली पनि बदलियो र आर्थिक–शैक्षिक गतिविधिलाई रोकिदियो । तर यति हँदाहुँदै पनि यसले केही शिक्षा भने दिएको छ ।

यसले जबर्दस्त रूपमा प्रविधि ग्रहण गर्न सिकायो । कोभिडका कारण सरकारी लेखा प्रणाली, भुक्तानी प्रणाली, सिकाई प्रणाली, परीक्षा प्रणाली लगायत सेवा व्यवस्थापनका धेरै क्षेत्रमा प्रविधिले ठूलै फड्को मारेको छ । जनजीवन सामान्यीकरण भैसकेपछि पनि प्रविधि ग्रहणमा अभ्यस्त भैसकेका हामीहरू जीवनशैली सजिलो बनाउन यसलाई अवलम्बन गर्ने नै छौं । 

दोस्रो, महामारीले संघर्ष गर्न, जिउने वैकल्पिक उपाय अपनाउन, दैनिकी परिवर्तन गर्न, दुःखमा एकअर्कालाई सघाउन अनि स्वास्थ्य सावधानी अपनाउन सिकाएको छ । यस्तै अझ ठूला महामारी आउला कि भनेर तयारी गर्न सिकाएको छ । आर्थिक, सामाजिक र विकासका रणनीतिको पुनर्खोजलाई बल पुर्‍याएको छ । 

२०७७ को पीडाबीच अब नयाँ वर्ष २०७८ ले पाइला टेकिसकेको छ । यसले हामी समस्तलाई विगतबाट शिक्षा लिँदै नयाँ सामान्यीकरणमा जान, जीवनमा आशा र उमंग लिन र सकारात्मक र सिर्जनशील बन्न दबाब दिएको छ । क्यालेन्डरका पाना परिवर्तन नयाँ वर्ष होइन, यसले नयाँ सोच, संस्कृति र उत्साहका साथ नयाँ थालनी गर्न सन्देश दिएको छ । नयाँ वर्ष सबैलाई शुभ होस् ।

(mainaligopi@gmail.com​)

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्