डोटीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ जिल्ला घोषणा गरिएको छ । 

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कोरोना भाइरसको त्रासका बीच डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो । 


Advertisement

जिल्ला खोप समन्वय समितिद्वारा शनिवार डोटीमा आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरे । 

सो अवसरमा मन्त्री सुवेदीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, ‘सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ, गत आार्थिक वर्षमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ३५ करोड खर्च गरेको छ ।’

मन्त्री सुवेदीले प्रदेशका सबै महिला स्वयंसेविकालाई पहिलो वर्ष प्रत्येकको बैंक खातामा १०/१० हजार रुपैयाँ प्रदान गरिएको र अहिले परिवारका ५ सदस्यसहित स्वास्थ्य बीमा गरिएको जानकारी दिए । 

दिपायलसिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले एउटा व्यक्ति पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन छुट्यो भने देशलाई नै अप्ठ्यारो पर्ने भएकाले सबैलाई खोप लगाउन जरुरी रहेको बताए ।

जिल्ला समन्वय समिति तथा जिल्ला पूर्ण खोप समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नमा सबै स्थानीय तहका जनप्रतिनिधि र सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

कमेन्ट गर्नुहोस्