चैत ६, २०७९
बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा रोगको संक्रमण फैलिएको हो । यी वडाका करीब ६० पशु चौपा...
काठमाडाैं | माघ २१, २०७९
सानोबाबु सुनुवार रामेछापमा जन्मे–हुर्के । बाल्यकालमै गाउँ नजिकको सुनकोशी नदीमा र्याफ्टिङ गर्न आउने विदेशी पर्यटकको भरिया भएर काम गरिसकेका थिए । भरिया बनेबापत त्यतिबेला उनी दैनिक ५० रुपैयाँ ज्याला पाउँथे । पर्यटकको संगतले उनी र्याफ्टिङप्रति आकर्षित भइसकेका थिए ।
२०५५ सालमा एसएलसी दिएपछि सानोबाबु काठमाडौं हानिए । काठमाडौंमा पढ्न उनलाई रुचि जागेन । किनकि गाउँमै छँदा पर्यटकको संगतले उनी लोभिइसकेका थिए । पोखरामा बढी संख्यामा विदेशी पर्यटक जान्छन् भन्ने सुनेका उनी पढाइ छाडेर त्यतै लागे । ‘काठमाडौंबाट २० रुपैयाँ बोकेर पोखरा आएँ, ट्रेकिङ जाने काम मिल्यो, ट्रेकिङ थालेको केही समयपछि र्याफ्टिङ कम्पनीमा काम थालें,’ उनी भन्छन्, ‘र्याफ्टिङ गर्दागर्दै कायकिङ प्रतिस्पर्धामा सहभागी बन्ने मौका पाएँँ, त्यसपछि मेरो साहसिक गतिविधिमा झन् लगाव बढ्यो ।’
सानोबाबु सन् २००३ मा भएको सेती रिभर कायकिङ प्रतियोगितामा च्याम्पियन बने । त्यसपछि उनलाई विभिन्न नदीनालामा कायकिङ गर्ने रुचि बढ्यो । अप्ठ्यारा गल्छी, खोच, नदीहरूमा कायकिङ गरेर साहस देखाउन थाले । सन् २००४ मा गुमनाम सेती हेर्दै २ घण्टामा रामघाट पुगेको उनी स्मरण गर्छन् ।
सानोबाबुका अनुसार त्यसपछि यो नदीमा कसैले कायकिङ गरेका छैनन् । १५ वर्षको उमेरमा नेसनल जुनियर च्याम्पियन, १६ वर्षको उमेरमा नेसनल च्याम्पियन गरेका उनले १७ वर्षको उमेरमा इन्टरनेसनल ह्वाइट वाटर कायकिङका लागि बेलायती संस्थासँग हिमालय नदीको अनुसन्धान गर्ने टीमसँग काम गर्ने अवसर पाएका थिए । उनकै नेतृत्वमा भुटानदेखि नेपाल, तिब्बत, भारत र पाकिस्तानका १५० नदीनालामा कायकिङको सम्भावना र विस्तृत अध्ययन, अनुसन्धान भएको थियो । ३८ वर्षीय सानोबाबुले हालसम्म विश्वका विभिन्न ४० देशमा प्याराग्लाइडिङ र कायकिङ गर्दै जोखिमपूर्ण यात्रा गरेका छन् ।
अनि जोडिए प्याराग्लाइडिङमा
सानो छँदा गिद्धको खुट्टा समाएर उड्न खोज्ने, छाताको डण्डी समाएर, बाँसको भाटा बनाएर भीरबाट हाम फाल्ने गर्दथे । उनको यस्तो क्रियाकलाप देखेर गाउँलेहरू मूर्ख भन्थे, पागल भन्थे । सुनकोशीमा विदेशीले र्याफ्टिङ गरेको नजिकबाट देखेका थिए उनले । पौडी खेल्न मन पराउँथे उनी ।
पोखरामा कायकिङ क्षेत्रमा उनको नाम चलिसकेको थियो । सन् २००५ मा स्वीजरल्यान्डका पाइलट डेभिड आरफार्डसँग पोखरामा भेट भएपछि सानोबाबुको नाता प्याराग्लाइडिङसँग जोडियो । ती पाइलटले प्याराग्लाइडिङमा उनलाई सराङकोटको आकाशमा उडाएनन् मात्र, आफैं उड्न पनि सिकाए । उड्न सिकेपछि सानोबाबुले २००६ मा ब्लुस्काई प्लाराग्लाइडिङ कम्पनी खोलेर ज्ञान र सपनालाई एकत्रित गरे । ३ वर्षको उडान अनुभवपछि सन् २००८ मा उनले अमेरिकाको कम्पनीबाट पाइलटको लाइसेन्स पाए । बाल्यकालदेखि साहसिक गतिविधि रुचाउने सानोबाबु प्याराग्लाइडिङ पाइलट बनेपछि पोखरादेखि विभिन्न गन्तव्यसम्म उड्न थाले । २००८ देखि उनलाई लामो दूरीको उडानमा नसा जाग्यो ।
पोखराबाट लमजुङ हुँदै काठमाडौं । २००९ मा पोखराबाट–काठमाडौं उडे, पोखराबाट सिक्लेस–लमजुङ–काठमाडौं र २०१० मा मेची–महाकालीसम्मको लामो यात्रा गर्ने सपना पूरा गरे । मेचीकाली प्याराग्लाइडिङ यात्रामा उनले १८ ठाउँमा अवतरण गरेका थिए । दैनिक ७ घण्टा र दैनिक ८ जिल्ला उडान गर्थे । ३६ दिनमा ८३२ किलोमिटर हवाई दूरी पार गरेका थिए ।
संविधानसभा निर्वाचनमा मत खसाल्न काठमाडौंबाट प्याराग्लाइडिङमै रामेछाप पुगेको सानोबाबु बताउँछन् । अहिलेसम्म उनले आकाशमा २२ हजार घण्टा उडान भरेका छन् । पश्चिम डडेल्धुरादेखि पूर्व पाँचथरका पहाडदेखि तराईको कञ्चनपुरदेखि झापासम्मको मेचीकाली प्याराग्लाइडिङ यात्रा गरेका छन् उनले ।
नेपालमा सन् १९९६ मा भित्रिएको प्याराग्लाइडिङ यो अवधिसम्म आउँदा आकाशमा दशौं लाख मानिस उडेका छन् तर हालसम्म २ जनाको मात्र मृत्यु भएको छ । साहसिक उडानले नेपालको नाम विश्वभर चिनाएका सानोबाबु भन्छन्, ‘प्याराग्लाइडिङ सुरक्षाका दृष्टिले धेरै सुरक्षित छ, नागरिक उड्डयन सुरक्षा, बीमा लगायतका सबै मापदण्ड यसमा लागू गरिन्छ ।’
अनेकौं जोखिमपूर्ण कायकिङ यात्रा, प्याराग्लाइडिङ उडान गरे पनि उनको अहिलेसम्म हातखुट्टाको नङ भाँच्चिएको छैन । उनी भन्छन्, ‘अस्पताल जानु त परको कुरा हो, औषधि समेत खानुपरेको छैन ।’
कीर्तिमानको ओइरो
सानोबाबुले सन् २०११ मा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथादेखि सबैभन्दा होचो समुन्द्री सतह बंगालको खाडीसम्म उड्ने र नदीमा कायकिङ गर्ने उद्देश्यले ‘समिट टु सी’ अभियान शुरू गरे । सगरमाथाको चुचुरोबाट सन् २०११ मे २१ मा प्याराग्लाइडिङमा उडेर जुन २८ मा समुद्री सतह छुन सजिलो थिएन । ‘सबैले असम्भव छ, नगर्नुस् पनि भनेका थिए तर सफल भएँ,’ सानोबाबु सम्झन्छन् ।
त्यसपछि बल्ल उनको साहसले चर्चा बढ्न थाल्यो । ‘समिट टु सी’मा उनका साथी थिए लाक्पाछिरी शेर्पा । सर्वाेच्च शिखर सगरमाथाबाट प्याराग्लाइडिङमा उडेर समुद्री सतहसम्म पुग्न सफल भएकोमा सानोबाबु सुनुवार र लाक्पाछिरी शेर्पालाई नेसनल ज्योग्राफी च्यानलले सन् २०१२ को साहसिक व्यक्ति घोषणा गरेको थियो । त्यसअघि च्यानलले हजारौं सहभागी मध्येबाट उनीहरूलाई उत्कृष्ट १० मा छनोट गरेको थियो । ‘वल्र्ड टुर’मा राखिएको त्यो यात्राको भिडियोलाई ७२ हजार बढीले अनलाइनबाट मत दिएका थिए । भोटबाट ‘समिट टु सी’ यात्राको क्रममा सानोबाबु र लाक्पाछिरी १२ दिनसम्म प्याराग्लाइडिङमा उडेर र २८ दिन पानीमा कायकिङ गर्दै बंगालको खाडीसम्म पुगेका थिए ।
‘समिट टु सी’ यात्राकै कारण फ्रान्सको एक संस्थाले ‘पब्लिक जज’, क्यानडाको पर्यटनसँग सम्बन्धित संस्थाले ‘रियल एड्भेन्चरर’ अवार्ड प्रदान गरेको थियो । सगरमाथाबाट बंगालको खाडीसम्म पुगेर पाएको सफलताबाट सानोबाबु झन् साहसिक कार्यमा हौसिएको बताउँछन् । ‘डर नलागेको होइन, साहस, निर्णय र आत्मविश्वासले डरलाई भगायो,’ उनी भन्छन्, ‘विभिन्न देशका अग्ला हिमालदेखि नदी नाला, खोचसम्म छिरेर निकै जोखिमपूर्ण यात्राको अनुभव संगालेको छु ।’
‘समिट टु सी’ यात्राले गिनिज बूकमा पनि सानोबाबु र लाक्पाले वल्र्ड रेकर्ड कायम गरेका छन् ।
सगरमाथापछि उनको हिमालय क्षेत्रको उडान विश्वका अरु अग्ला हिमशिखरतर्फ सोझियो । ती चुचुराहरूबाट पनि प्याराग्लाइडिङ गर्ने लक्ष्य लिए । विश्वमै साहसिक मानिएको रेडबुल एक्स आल्पसमा प्रतिस्पर्धाबाटै छानिए । सन् २०१३ को प्याराग्लाइडिङ संस्करणमा विश्वका हजारौं साहसिक पाइलटबीच भएको छनोट चरणमा प्रतिस्पर्धा गरेका थिए । यो निकै चुनौतीपूर्ण यात्रा थियो । सानोबाबुले अफ्रिकी महादेशको सबैभन्दा अग्लो हिमाल किलीमान्जारोबाट प्याराग्लाइडिङमा उड्ने सपना पनि पूरा गरे । किलीमान्जारो हिमालबाट प्याराग्लाइडिङमार्फत समुद्री सतहसम्म उडान गर्न विश्वव्यापी रूपमा उनी छनोटमा परेका थिए । यस प्रतिस्पर्धाका लागि विश्वभरका हजारौं साहसिक पाइलटले आवेदन दिएका थिए । त्यसमा पनि सानोबाबु सफल भए । युरोपेली महादेशको सबैभन्दा अग्लो हिमालबाट पनि प्याराग्लाइडिङको सफल उडान गरेका छन् उनले । युरोपको अग्लो चुचुरोबाट टेण्डम (२ जना उड्ने) उडान गरेर नयाँ रेकर्ड बनाएर सानोबाबुले पहिलो पाइलटका रूपमा नाम लेखाउन सफल भएका छन् ।
रसियाको माउन्ट एलब्रसबाट पनि सफल उडान गरेका छन् उनले । माउन्ट एल्ब्रसबाट टेण्डम उडान गर्ने पनि उनी विश्वकै पहिलो पाइलट हुन् ।
एसियाकै पहिलो प्याराग्लाइडिङ स्कूल
पोखराबाट दक्षिण पश्चिममा पर्दछ, स्याङ्जाको स्वरेक क्षेत्र । यो हाल भीरकोट नगरपालिका ५ मा पर्दछ । पोखरामा प्याराग्लाइडिङ स्कूल सञ्चालन गर्न उपयुक्त नभएपछि सानोबाबुले ५८ किलोमिटर टाढाको स्वरेक क्षेत्र रोजेका हुन् । नेपालको आकाशमा विदेशी पाइलट ल्याउन सम्भव थिएन । हजारौं डलर खर्च गर्नुपथ्र्यो । दक्ष जनशक्ति उत्पादन गर्ने वैधानिक संस्था थिएन । त्यसपछि उनी प्याराग्लाइडिङ स्कूल खोल्ने सोचमा पुगे ।
सन् २०१४ देखि नै उनले बाबु एड्भेन्चरर्सको नामबाट पाइलटको तालिम दिँदै आएका थिए । नेपाल सरकारले २०७२ सालमा अनुमति दिएपछि स्वरेक मैदानमा बाबु एडभेन्चर्स प्याराग्लाइडिङ इन्टरनेसनल नामक स्कूल सञ्चालनमा छ । यो दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कूल हो । स्कूल सञ्चालनमा ल्याउनु ५ वर्षअघिदेखि उनले स्वरेक क्षेत्रमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्दै आएका थिए ।
स्कूलमा सानोबाबु मुख्य प्रशिक्षक बनेर विद्यार्थीलाई पाइलट कोर्स सिकाउँदैछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रत्यक्ष अनुगमनमा प्रशिक्षण दिन्छन् उनी । ४० रोपनी जग्गा किनेर स्कूलसँगै होमस्टे सञ्चालन गरेका छन् । उनले उत्पादन गरेका ७०० जनामध्ये ४०० जना पाइलटले हाल व्यावसायिक उडान गरिरहेका छन् ।
मौसम अनुकूल, नदीनाला भएको, पोखरा नजिकै हुँदा स्याङ्जा रोजेको उनी बताउँछन् । स्कूलमा बेलायत, अमेरिका र अस्टे«लिया लगायतका मुलुकबाट प्याराग्लाइडिङ सिक्न आउँछन् । बाबु एडभेन्चर स्कूलमा आधारभूतदेखि एडभान्ससम्मको पढाइ हुन्छ । प्याराग्लाइडिङ भित्रिएपछि, स्कूल र होमस्टे सञ्चालनमा आएपछि भीरकोट क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ ।
सन् २०१८ मा स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ वल्र्डकप आयोजना गरेका थिए । त्यसैले नेपालको खेलकुदमा प्याराग्लाइडिङ विधाको नाम दर्ज गराउने मुख्य श्रेय उनैलाई जान्छ । सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको एसियन खेलकुदमा पनि प्याराग्लाइडिङ विधामा पनि उनको टीम दोस्रो भएको थियो । उनले प्रशिक्षक बनेर भाग लिएका थिए । सानोबाबुकै प्रेरणाबाट छोरा हिमालयशम्शेर सुनुवार ९ वर्षकै उमेरमा प्याराग्लाइडिङ पाइलट बनेका थिए । पत्नी सुस्मिता पनि कायकिङमा ३ पटक नेसनल स्पर्धामा च्याम्पियन बनेकी थिइन् । उनी पनि प्याराग्लाइडिङ पाइलट हुन् । अहिले बाबु एड्भेन्चरर्स गु्रपको सबै बिजनेश सुस्मिताले सम्हाल्दै आएकी छन् ।
सानोबाबुको कर्णाली गन्तव्य
कर्णाली प्रदेश सरकारले २०७५ वैशाख १ गते रारातालमा ‘कर्णाली रारा पर्यटन वर्ष’ शुभारम्भ गरेको थियो । सानोबाबु पहिलोपटक प्याराग्लाइडिङ लिएर रारा पुगेका थिए । सोही वर्ष सुर्खेतको बुलबुले तालमा पर्यटन वर्ष २०२० मा उनको टीम प्याराग्लाइडिङ उडानका लागि आएको थियो ।
प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीको वेलकम प्याराग्लाइडिङ कम्पनी गत वर्षदेखि सानोबाबुले नै चलाएका छन् । शाहीले यो कम्पनीलाई बाबु एड्भेन्चरर्सलाई हस्तान्तरण गरेका हुन् । सबै कानूनी प्रक्रिया पूरा गरेपछि २०७८ माघदेखि उनकै नेतृत्वमा सुर्खेत उपत्यकाको आकाशमा प्याराग्लाइडिङ भइरहेको छ । सुर्खेतको गोठीकाँडामा मुख्य स्टेसन बनाइएको छ ।
कर्णालीका नागरिकको प्रतिव्यक्ति आयलाई मध्यनजर गरी अन्य स्थानको भन्दा सस्तो शुल्क निर्धारण गरिएको छ । मेला महोत्सवहरूमा विशेष प्याकेजमा प्याराग्लाइडिङ गर्ने गरिन्छ । अन्य समयमा कम्पनीले प्रतिव्यक्ति ४ हजार ५०० शुल्क लिने गरेको छ । सानोबाबुका अनुसार प्याराग्लाइडिङका लागि सुर्खेत उपत्यकाको मौसम, हावापानी, भू–बनावट निकै उपयुक्त छ ।
कर्णालीमा आगामी ३ वर्षपछि हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ विधालाई पनि समावेश गर्नुपर्ने उनी बताउँछन् । ‘यसले साहसिक पर्यटन, साहसिक खेल र मनोरञ्जनका माध्यमबाट कर्णालीमा योगदान पुर्याइरहेको छ,’ सानोबाबु भन्छन्, ‘कर्णालीको पर्यटनको प्रचूर सम्भावना छ भन्ने कुरा प्याराग्लाइडिङको सफल र व्यावसायिक उडानले पनि पुष्टि गरेको छ ।’
बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा रोगको संक्रमण फैलिएको हो । यी वडाका करीब ६० पशु चौपा...
वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित इत्र्वाबाट एकसय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्प...
राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जना...
पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखि नै ठप्प बनेका...
इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ शुरू भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ शुरू भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ...
प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिव...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...