चैत १९, २०७९
बाराको देवताल गाउँपालिकामा करोडौं रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको पाइएको छ । यसअघिका गाउँपालिका अध्यक्ष चन्दनकुमार सिंह, उपाध्यक्ष रामपति देवी महतो र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद...
काठमाडाैं | फागुन १०, २०७९
नामुद अपहरणकारीको रूपमा कुख्यात भारतीय अपराधी सुनिलकुमार सिंहले नेपालमा पनि अपराध गरेरै करोडौं रुपैयाँको गैरकानूनी सम्पत्ति आर्जन गरेका छन् । नेपालमै नक्कली कागजात तथा झुटो विवरणका आधारमा नागरिकता, राहदानी समेत लिएर नेपाली नागरिकसँगै बिहे गरेका सिंहले नेपालमै पनि विभिन्न अपराध गरेर करोडौं रुपैयाँको गैरकानूनी सम्पत्ति आर्जन गरेको फेला परेको हो ।
सिंह भारतको उत्तरप्रदेशस्थित देवरिया जिल्ला भटनी थाना रामपुर गाउँका स्थायी बासिन्दा हुन् । उनी भारतमा नाम चलेका कुख्यात अपहरणकारी समूह भारत बिहार सर्साका पप्पुदेव यादव समूहमा आबद्ध भएर अपहरण गरी फिरौतीको धन्दा गर्थे । २०६० सालमा विराटनगरमा भएको तुलसीराम अग्रवालको अपहरणका मुख्य योजनाकार पप्पुदेव नै थिए ।
भारतमा अपहरण गर्ने, फिरौती माग्ने गरेका सिंह भारतमा मुद्दा चल्दा फरार भई लुक्न नेपाल आए । तर, नेपाल आएर पनि उनले अपहरण गर्ने, बन्धक बनाउने तथा फिरौती असुल गर्ने धन्दालाई जारी राखेका थिए।
अस्ट्रेलिया पठाउँछु भन्दै नेपालको बिर्तामोडमा ल्याएर तीनजना भारतीय नागरिकलाई सिंहकै नेतृत्वमा बन्धक बनाएर राखेका बेला झापा प्रहरीले उनीसहित उनको टोलीलाई पक्राउ गरेको थियो ।
भारतको राजस्थानका कमलेश भाटी, छोटी खत्तु र गुजरातका अशोक भाइ पमारलाई उनीहरूले अस्ट्रेलियाको एक कम्पनीमा जागिर लगाइदिने भन्दै एक भाडाको घरमा बन्धक बनाएर राखेका थिए ।
उक्त मुद्दामा झापा जिल्ला अदालतले २०७६ भदौ २६ गते अपहरण तथा शरीर बन्धक र हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय समेत गरिसकेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानबाट उनले २०७० वैशाख ३० गते जिल्ला प्रशासन कार्यालय झापाबाट नक्कली कागजात तथा नक्कली आममा बुवा बनाएर नेपाली नागरिकताको प्रमाण पत्र लिएको पाइएको थियो ।
पछि जिल्ला प्रशासन कार्यालय झापाले झुटा नागरिकतासम्बन्धी कसूर मुद्दामा उनको नागरिकता खारेज गर्नुका साथै कैद र जरिवाना समेत गरेको थियो । त्यसैगरी काठमाडौं जिल्ला अदालतले २०७५ असार ११ गते विद्युतीय अपराध कसूर मुद्दामा सिंहलाई ६ महिना कैद सजाय हुने फैसला समेत गरिसकेको छ ।
नेपालमा उनले नेपाली नागरिक मीना कार्कीसँग बिहे गरेका थिए । उनका दुई छोराछोरी समेत छन्। अपराधकर्मबाट आर्जन गरेको करोडौं रुपैयाँ उनले आफ्नो तथा श्रीमतीको नाममा घर जग्गादेखि विभिन्न कम्पनीको शेयर खरिद र अन्य कार्यमा लगानी गरेको पाइएको छ । काठमाडौंमा अपार्टमेन्ट खरिददेखि ललितपुर, भक्तपुर, झापा, सुनसरीसहितका ठाउँमा करोडौं रुपैयाँको जग्गा खरिद गरेका छन् ।
सिंहको नेपालकै विभिन्न ८ वटा बैंक खातामा रहेको २ करोड ७६ लाख ५७८ रुपैयाँ तथा उनकी श्रीमती कार्कीको नाममा विभिन्न १० वटा बैंक खातामा ६ लाख ९७ हजार ७७३ रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानबाट खुलेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी तथा उनको श्रीमतीविरुद्ध २०७९ फागुन ४ गते विशेष अदालतमा मुद्दा नै दर्ता गरेको छ ।
सिंहविरुद्ध १ करोड ५५ लाख ७६ हजार ५७८ रुपैयाँ र उनकी श्रीमती कार्कीविरुद्ध १ करोड ६० लाख ८५ हजार ४२० रुपैयाँ बिगो कायम गरी सम्पत्ति जफत गर्न तथा कैद सजाय समेत तोक्न माग दाबी लिएर मुद्दा दायर गरिएको छ । सिंह फरार छन्। अन्य सबै अपराधमा उनले सजाय भुक्तान गरिसकेपछि सम्पत्ति शुद्धीकरणको कसूर सिंह तारेखमा थिए ।
बयानका क्रममा विभागमा केही दिन आए पनि पछि उनी फरार भएका हुन्। उनकी श्रीमती कार्कीले बयानका लागि उपस्थित गराउँछु भनेर हाजिर जमानी गरे पनि सिंह फरार भएका थिए । सिंह फरार भएकै कारण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कार्कीलाई ५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसूरको मुद्दामा थुनछेक प्रयोजनका क्रममा भने मीना कार्कीसँग ५ लाख रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश गरेको छ । थुनछेक मुद्दामा सुनुवाइ हुँदा २०७९ फागुन ८ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय न्यायाधीशहरू यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।
हेर्नुहोस्, सिंह-कार्की दम्पतीले जोडेको सम्पत्ति
****
भारतको पिपुल रिभोलुसनरी पार्टी रंगिपाक (प्रिपाक) र रंगिपाक कम्युनिस्ट पार्टी (केसीपी)लाई भारत सरकारले आतंकारी संगठनको सूचीमा राखेको छ । २०७१ वैशाख ९ गते भारतको नयाँ दिल्लीस्थित एनसीबीले नेपालको प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग इन्टरपोल शाखालाई पत्राचार गर्दै उक्त आतंककारी संगठनका पदाधिकारीहरू नेपालमा रहेको जानकारी दियो ।
भारतबाट भागेर नेपालमा आई नक्कली कागजातका आधारमा नेपाली नागरिकता तथा राहदानी बनाएर आतंककारी कार्यमा लगानी गरिरहेको भन्ने जानकारी दिइएको थियो । उक्त संगठनका महासचिव रहिसकेका भारतको मणिपुर राज्यका शान्ति मेटाई भन्ने हेमन्त शर्मा नेपालमा नागरिकता बनाएर गैरकानूनी काम गरिरहेको भन्दै पत्राचार गरिएको थियो । हेमन्त शर्मासहित विभिन्न भारतीय व्यक्तिहरूले नेपालमा नागरिकता बनाएर बस्दै आएको तथा आतंककारी गतिविधिमा वित्तीय लगानी गरिरहेको हुनाले अनुसन्धान गर्न एनसीबीले नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।
बर्माको सांघाई डिभिजनका कलेम्यु पेवाइन नेपालमा शंकरप्रसाद गुरागाईंको नामले, भारतको मणिपुर प्रान्त सेनापति जिल्ला पशुपति गाउँका स्थायी बासिन्दा अर्का एक व्यक्ति सुरेश अधिकारीका नामले नेपालमा बसेको र गैरकानूनी गतिविधि गरिरहेको सूचना थियो ।
नेपालमा जीतबहादुर चौधरीको नामले चिनिने भारतको मणिपुरका लासिराम जितेन सिंह, नेपालमा राजेश थापाको नामले चिनिने भारतको मणिपुरकै राज सिंह, नेपालमा कुमार चौहानको नामले चिनिने भारतको मणिपुरकै कर्णजित रोकाया, राजेश भट्टराई, राजेशकी श्रीमती सीता भट्टराई तथा नेपालका सोमनाथ चौहानके नामले चिनिने अर्का एक व्यक्तिले संगठितरूपमा आतंकवादी क्रियाकलापमा लगानी गरिरहेको पत्रमा उल्लेख थियो ।
एनसीबीबाट आएको जानकारीका आधारमा नेपालमा नेपाल प्रहरी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान गर्दा उनीहरूले नेपाली नागरिकता बनाएर नेपालमा त्यस्तो काम गर्ने गरेको खुलेको थियो । सबैले झापाबाट नै नक्कली कागजातका आधारमा नागरिकता तथा राहदानी बनाएको अनुसन्धानबाट खुलेको थियो ।
शान्ति तामाङ भनी नेपालमा चिनिने भारतीय नागरिक शान्ति भेटाई भन्ने हेमन्त शर्माले झापा जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको अनुसन्धानबाट खुल्यो। सोही नागरिकताको आधारमा उनले काठमाडौंको बालुवाटारस्थित एक बैंकमा खाता समेत खोलेका थिए।
२४०२००००००२८५२४ नम्बरको उनको बैंक खातामा विदेशबाट विभिन्न समयमा रकम जम्मा हुने तथा बैंक खाता सुचारु राख्नका लागि नाम मात्रको रकम छाडेर सबै रकम निकाल्ने गरेको अनुसन्धानमा पाइयो।
उनले भारतका विभिन्न स्थानबाट पटक–पटक गरी ५१ लाख १५ हजार ६६० रुपैयाँ उक्त बैंक खातामा भित्र्याएर निकालेका थिए। उक्त रकम उनले सोही आतंककारी संगठनका निमित्त खर्च गरेको पाइएको थियो।
सो रकम भित्र्याउन शंकरप्रसाद गुरागाईंले उनलाई सहयोग गरेका थिए। गुरागाईं पनि म्यान्मारको संघाई डिभिजन कलेम्यू, पेवाइनका बासिन्दा हुन् । गुरागाईंले झापाबाट नेपाली नागरिकता लिएर काठमाडौंको अनामनगरमा डेरा लिएर बसोबास गर्ने गरेका थिए ।
उनको डेरामा नेपाल प्रहरीले २०७१ वैशाख २९ गते खानतलासी गर्दा 'हिस्ट्री अफ कंगेली पाक' लेखिएको निलो रंगको वाइन्डिङ गरिएको १८४ पानाको किताब फेला परेको थियो। उक्त पुस्तक आतंककारी संगठन प्रिपाकको आधिकारिक दस्तावेज रहेको अनुसन्धानबाट खुलेको थियो।
गुरागाईंले शान्ति तामाङका नाममा विभिन्न मितिमा रकम जम्मा गरेको बैंक स्टेटमेन्टबाट फेला परेको थियो । त्यसैगरी भारतको मुम्बईस्थित इम्फाल आइरिलबङ स्यान्टो क्रुजबाट पठाइएको रकम नेपालमा सीता भट्टराई, करणबहादुर रोकाया, सुरेश अधिकारीको खातामा जम्मा भई उनीहरूले निकालेको अनुसन्धानबाट खुलेको थियो ।
नेपालमा नक्कली कागजातका आधारमा नागरिकता बनाएका राजेश भट्टराईले नेपाली नागरिक सीता भट्टराईसँग बिहे गरी भट्टराई ट्रेडर्स नामले पसल सञ्चालन गरेका थिए । शान्ति तामाङको नाममा आएको ८० लाख रुपैयाँ भट्टराई ट्रेडर्समा लगानी गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले माथि उल्लेख गरिएका सबैलाई प्रतिवादी बनाएर २०७१ असार २७ गते विशेष अदालतमा सम्पत्ति शुद्धीकरण (आतंकवादी क्रियाकलापमा वित्तीय लगानी)को मुद्दा दायर गरेको थियो ।
२०७४ साउन २६ गते विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई, सदस्य न्यायाधीशहरू नरेन्द्रकुमार शिवाकोटी, महेशप्रसाद पुडासैनीको इजलासले शान्ति तामाङलाई ३ वर्ष कैद सजाय, कायम भएको ५१ लाख १५ हजार ६६० रुपैयाँ विगो जफत तथा २ करोड ५५ लाख ७८ हजार ३ सय रुपैयाँ जरिवाना गरेको थियो ।
त्यसैगरी शंकर प्रसाद गुरागाईंको हकमा १ वर्ष ६ महिना कैद सजाय, १ करोड २७ लाख ८९ हजार १५० रुपैयाँ जरिवाना, सुरेश अधिकारीको हकमा ३७ लाख ८ हजार ८ सय रुपैयाँ जरिवाना तथा १ वर्ष ६ महिना कैद सजाय सुनाइएको थियो ।
त्यसैगरी विशेष अदालतले कर्णजित रोकाया र सीता भट्टराईलाई जनही १७ लाख ५६ हजार ८ सय रुपैयाँ जरिवाना तथा १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । कुमार चौहान, राजेश भट्टराईका हकमा पनि जनही १७ लाख ५६ हजार ८ सय रुपैयाँ जरिवाना तथा जनही १ वर्ष ६ महिना कैद सजाय गरिएको थियो ।
२०७६ साउन २८ गते सर्वोच्च अदालतको न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले पनि विशेष अदालतबाट गरिएको उक्त फैसलालाई सदर गरेको थियो ।
****
२०६८ भदौ ९ गते काठमाडौंस्थित भारतीय राजदूतावासले भारतीय नागरिक निरञ्जन होजाइले नेपालमा निर्मल राईको नामबाट नक्कली नागरिकता बनाई अवैध सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र लेखेको थियो ।
भारतीय नागरिक होजाइले नेपालमा झुटो परिचय बनाई ४१५९३९४ नम्बरको नागरिकता प्रमाणपत्र लिएको र पासपोर्ट (०३-०८-२००८ २०६५) समेत लिई विभिन्न देश भ्रमण गरेको, नेपालमा विभिन्न कारोबार गरेको र अवैध सम्पत्ति समेत जम्मा गरी बैंक खाताहरू समेत सञ्चलान गरेकाले सम्पत्ति शुद्धीकरणको कसूरमा कारवाही गर्न आग्रह गरिएको थियो ।
होजाइ सन् २०१० जुलाइ १ मा भारतमा पक्राउ परी सन् २०११ अगस्त १२ सम्म भारतको न्यायिक हिरासतमा थिए । उच्च अदालत गुहावटीबाट उनी धरौटीमा छुटेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्दा उनको बारेमा धेरै आश्चर्यजनक तथ्यहरू खुल्यो ।
उनी भारतबाट फरार भएर यता आएपछि नेपालमै नक्कली आमाबुवा खडा गरेर नेपालको नागरिकता बनाएको खुल्यो । सुनसरीको धरान- ८ बस्ने जगतबहादुर राईलाई उनले बुबा बनाएर इलाका प्रशासन कार्यालय धरानबाट २०६८ मंसिर २० गते ३२५५६/०६३/०६४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र बनाएका थिए ।
सोही ठाउँका सन्तोष लामाले साक्षीका रूपमा सनाखत गरेका थिए । अनुसन्धानका क्रममा १५ सय रुपैयाँ लिएर बुबा बनी नागरिकता बनाइदिएको जगतबहादुरले बयान दिएका थिए । नागरिकता प्रमाणपत्र बनाइदिएबापत आफूले ५ हजार रुपैयाँ पाएको सनाखत गर्ने सन्तोष लामा तामाङले बयान दिएका थिए । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०६८ पुष ५ गते उनले सोही नागरिकताको आधारमा आफ्नो नाममा ३३१९८४७ नम्बरको राहदानी पनि बनाएको तथ्य फेला पर्यो ।
२०६३ मंसिर २३ गते निर्मल राईले आफ्नै नाममा ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाउजिङ एन्ड प्रोपर्टी डिलर्स प्रा.लि. र ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको निर्मल ट्रेडर्स प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरे ।
त्यही दुईवटा व्यावसायिक फर्मको नामबाट उनले काठमाडौंका विभिन्न स्थानमा घरजग्गा किनेको तथ्य अनुसन्धानबाट खुलेको थियो । त्यति मात्र होइन, उनले करोडौं रुपैयाँको सवारीसाधन खरिद गर्नुका साथै घरजग्गाको कारोबार गरेको अनुसन्धानबाट खुलेको थियो । त्यसक्रममा उनले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोली रकम जम्मा गरेका थिए ।
सिन्धुपाल्चोकमा सामान्य मजदुरी गर्ने रामचन्द्र गिरी तथा सेती गिरीकी छोरी सरिता गिरीसँग उनले २०६५ मंसिरमा विवाह गरे । पछि निर्मलको मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र बनाएर निर्मलको नाममा रहेका काठमाडौंका घर जग्गा, सवारी साधन, विभिन्न बैंक तथा वाणिज्य बैंकको खातामा भएको करोडौं रकम उनको श्रीमतीले आफ्नो नाममा नामसारी गराएको पाइएको थियो । आफ्नो नाममा आइसकेकका गैरकानूनी सम्पत्तिहरूमध्ये केही सम्पत्ति उनले बिक्री गरेकी थिइन् भने केही सम्पत्ति तथा सवारीसाधनहरू उनले आमाबुवा, दाइसहित गिरी परिवारका सदस्यहरूको नाममा नामसारी गरेको अनुसन्धानमा भेटिएको थियो ।
लामो समय लगाई अनुसन्धान सकाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निर्मलसहित उनकी श्रीमती तथा सासूससुरा लगायतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतले निर्मल, उनको व्यावसायिक फर्म तथा निर्मलकी श्रीमती सरिता गिरीको नाममा विभिन्न बैंकमा रहेको मौज्दात रकम, सिंगापुर सिटी बैंकबाट सरिता गिरी राईको बैंक खाताको रकम तथा निजको साथमा रहेको स्कूटर र ल्यापटपसहित ८ करोड ६३ लाख ४७ हजार ४७४ रुपैयाँ जफत हुने फैसला गर्यो । थप ८ करोड ६३ लाख ४७ हजार ४७४ रुपैयाँ जरिवाना हुने फैसलामा उल्लेख थियो । विशेष अदालतले २०७० पुस १९ गते निर्मललाई ४ वर्षको कैद सजाय पनि सुनायो ।
त्यसैगरी उनकी श्रीमती सरिता गिरीको स्वामित्वमा रहेको घर जग्गा, सवारी साधन तथा बैंक मौज्दातसहित ४ करोड ५१ लाख ८२ हजार रुपैयाँको सम्पत्ति जफत हुने विशेष अदालतले फैसला गरेको थियो ।
साथै २ करोड २५ लाख ९१ हजार १५३ रुपैयाँ जरिवाना तथा २ वर्ष कैदको सजाय समेत विशेष अदालतले गरेको थियो । रामचन्द्र गिरी, सेती गिरी, राजु गिरी, सीता गिरीलगायतलाई विशेषले सफाइ दिएको थियो ।
उक्त फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन परेपछि २०७२ माघ ११ गते तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले विशेषको शुरू फैसलालाई सदर गरेको थियो ।
हेर्नुहोस्, सर्वोच्चको फैसला :
****
माथि उल्लेख गरिएका केही प्रतिनिधिमुलक उदाहरण मात्र हुन्। यसरी भारतमा अपराध गरी नेपाल आएर लुक्ने क्रममा ती भारतीय अपराधीहरूले नेपालमै नेपाली नागरिकता तथा राहदानी समेत बनाएर खुलेआम बस्ने र अवैध गतिविध गर्दै आएका छन् । नेपाली नागरिकसँगै बिहे गरेर अपराधको कर्मबाट आर्जन गरेको सम्पत्तिलाई शुद्धीकरण गर्ने उद्देश्यले नेपालमा कारोबार गर्ने गरेका छन् । धेरैजसोले आफ्नो तथा आफ्नो परिवारका सदस्यका नाममा कम्पनी दर्ता गर्ने, सोही कम्पनीको नाममा घरजग्गा तथा कारोबारमा लगानी गर्नेदेखि अन्य कारोबार समेत गर्दै आएका छन् ।
बाराको देवताल गाउँपालिकामा करोडौं रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको पाइएको छ । यसअघिका गाउँपालिका अध्यक्ष चन्दनकुमार सिंह, उपाध्यक्ष रामपति देवी महतो र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद...
काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले अहिलेसम्म ३४ करोड रुपैयाँ खर्च गरिसकेको छ । तीन चरणको कामका लागि भ्याटबाहेक ४९ करोड ९४ लाख ९६ हजार रुपैयाँको ठेक्का लगाएको राष्ट्रिय खे...
नागरिकता र सिटरोलमा समस्या देखिएको भन्दै नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी परेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका डीआईजी ज्ञवालीले पह...
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत विनै प्रदेश रंगशाला निर्माण कार्य अघि बढाएको खुलेको छ । परिषद्ले अझै ईआईए स्वीकृत नगरेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्...
उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेकी जनमत पार्टीकी ममता झा साझा प्रकाशनको भवन निर्माण अनियमिततामा मुछिएको लामो समय बिते पनि अझै अनुसन्धान पूरा भएर कारबाही हुन सकेको छैन । उनी साझा प्रकाशनको ...
नेपालमा वायुसेवा कम्पनी त छन्, तर बजारमा उत्पादन भएर आउने नयाँ पाइलटलाई रोजगारी दिने कम्पनी छैनन् । निजी वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरले जे जति पाइलटलाई रोजगारी दिन सकेका छन्, त्यतिमै सीमित छ पाइलट...
यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...