जेठ १९, २०८०
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बैशाख १९, २०८०
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्टीले ६ सीट जितेको थियो ।
यति बेलासम्म ठूला दलले नतिजालाई खासै चिन्ताको विषयका रूपमा लिएका थिएनन् । प्रतिनिधिसभा निर्वाचनको ५ महिनापछि १० वैशाखमा चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भयो । ठूला दललाई १६५ क्षेत्रमा निर्वाचन हुँदा नलागेको झट्का उपनिर्वाचनमा तनहुँ र चितवनको नतिजाले लागेको छ ।
कांग्रेस र एमालेले पार्टी सदस्यको मत नै नपाउँदा नयाँ दलप्रति जनउभार देखिएको छ । नयाँ दल उदयको असर परम्परागत दल कांग्रेस र एमाले दुवैलाई पर्ने देखिएको छ ।
निर्वाचनले कांग्रेससहितका दललाई ‘सच्चिने कि सक्किने’ भन्ने ठाउँमा पुर्याएको छ । यिनै चुनौतीका बीचबाट अब कसरी उठ्ने ? सच्चिने भनेको के हो ? कांग्रेस कसरी सच्चिन्छ ? लगायतका प्रश्नहरूमा लोकान्तरका लागि रमेश सापकोटाले कांग्रेस युवा नेता एवं सांसद प्रदीप पौडेलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
सत्ता गठबन्धनका झण्डै १० दल एक ठाउँमा उभिँदा पनि अपेक्षित परिणाम ल्याउन सकेनन् । भर्खरै स्थापना भएको रास्वपा तपाईंहरूमाथि हावी भयो नि ?
– सत्ता गठबन्धन गर्न जति सजिलो छ, निर्वाचनमा त्यत्ति सजिलो छैन । मंसिरमा देशैभर गठबन्धन भयो । तर, सबै भोट गठबन्धनको उम्मेदवारलाई आएन ।
यो पार्टीको भोट ट्रान्सफर गर्न सजिलो रहेनछ र अझ बढी असजिलो बन्दैछ भन्ने हो । दोस्रो, कुनै दलले मेरा जनता हुन् भनेर दाबी गर्न मिल्दैन । जनता न्याय र सही कुराको पक्षमा अनि गलत कामको विपक्षमा उभिन्छन् ।
जनताले विवेक प्रयोग गर्छन् । यसैले पार्टीको छाताभित्र मत रहने पहिलेको जस्तो स्थिति घट्दै गएको छ । जनताले स्वविवेकी बन्दैछन् ।
उपनिर्वाचनमा तीन क्षेत्रमा गठबन्धन गर्दा पहिलेको भन्दा कम मत आयो । पार्टीमाथि प्रश्न छन् । चित्तबुझ्दो जवाफ दिन नसकेको देखियो । जनताले विवेक देखाएर भोट हाल्ने परिस्थिति बन्यो । पहिले संघ र प्रदेशमा चुनाव हुँदा अलग दलका उम्मेदवार हुँदा सबै सक्रिय हुन्थे । तर, उपनिर्वाचनमा संघमा मात्रै दलको उम्मेदवार हुँदा अरू पार्टी सक्रिय भएनन् । यसले पनि गठबन्धनको मत एकीकृत हुन सकेन ।
भनेको चुनावी गठबन्धन त झन् जोखिममा पो देखियो उसो भए ?
– निर्वाचनमा गठबन्धन गर्नु स्वाभाविक होइन । कांग्रेसले कम्युनिस्टको भोट ल्याउने, कम्युनिस्टले कांग्रेसको भोट ल्याउने अवस्था अब देखिएन । पार्टीको प्रभावभन्दा बढी उसका उम्मेदवारले प्रभाव पार्ने देखियो ।
उम्मेदवारले कस्ता विषय उठाएको छ, मतदाताको स्वार्थलाई कसरी हेरेको छ, कति भविष्य देखाउन सकेको छ भन्ने आधारमा मतदाताले मत हाल्ने स्थिति बनेको छ ।
भनेको परम्परागत दल र शक्तिको मुद्दामा नागरिक र मतदाता आकर्षित नभएका हुन् ?
– पुराना दलसँग असन्तुष्ट हुनुपर्ने, अस्वीकार गर्नुपर्ने, पुराना काम अस्वीकार गर्नुपर्ने केही कारण छैन । परम्परागत दलको मतभन्दा पनि उनीहरूको चल्ने तरिकासँग, मुद्दासँग, परम्परागत ढर्राबाट आफूलाई बाहिर ननिकालेका कारणले मतदाता र नागरिक असन्तुष्ट हुन सक्छन् । तर, जनताले काम गर्ने शैली फेर, परम्परागत मुद्दालाई समयसापेक्ष बनाऊ, आमजनता र मतदाताका स्वार्थलाई समेट्ने र सम्बोधन गर्ने गरी एजेन्डा बनाऊ र परिवर्तनलाई आत्मसात गर भनेका हुन् ।
विवादित निर्णयप्रति टिकाटिप्पणी देखियो जनताको पक्षमा नभएको जस्तो देखियो । देशका तमाम समस्यालाई केन्द्र भागमा राखेर पार्टी चलाउनुपर्छ भनेर करेक्सनका निम्ति संकेत गरेको जस्तो देखिन्छ ।
लोकप्रिय उम्मेदवार उठाउँदा पनि पार्टीको सदस्यता गोजीमा बोक्नेले समेत कांग्रेस–एमाले नरोजी रास्वपाका उम्मेदवार रोज्नु तपाईंहरूका निम्ति चुनौती होइन ?
– उपनिर्वाचन तीन क्षेत्रमा भए पनि संकेत देशैभरी भएजस्तो दिएको छ । तनहुँमा उम्मेदवारको व्यक्तित्वले पनि काम गर्यो । रामचन्द्र पौडेल शिखर व्यक्तित्व हुनुहुन्थ्यो । दोस्रो गठबन्धनको एउटा मात्रै उम्मेदवार भए ।
गठबन्धनको दोस्रो दल माओवादीको सबै मत नपरेको हुन सक्छ । कांग्रेसकै जमिनमा उभिरहनुभएको गोविन्दराज जोशी अघिल्लोपटक स्वतन्त्र लड्नुभएको थियो । योपटक उहाँ लड्नुभएन । त्यो मत कांग्रेसतिर नआएको पनि हुन सक्छ । कांग्रेसको मत तनहुँमा धेरै स्खलित भएको र बिग्रिएको भन्ने लाग्दैन । कांग्रेसको उम्मेदवार पनि निर्विवाद व्यक्ति हुनुहुन्थ्यो ।
चितवनमा भने पहिलेकोभन्दा मत घटेको छ । त्यहाँ गम्भीर समीक्षा गर्नुपर्छ । तर, उपनिर्वाचनको समग्र परिणामलाई समीक्षा गरेर अगाडि बढ्ने र सच्चिनुपर्ने अवसर प्राप्त भएको छ ।
तनहुँमा कांग्रेसको ५ हजार मात्रै मत घट्दा एमालेको ११ हजार मत घट्यो । एमालेको मत रास्वपामा जाँदा कांग्रेस उम्मेदवार हारेका हुन् ?
– एमाले नेतृत्वको चाहना के थियो थाहा भएन । तर, परम्परागत रूपमा एमालेलाई भोट हाल्दै आउनुभएका मतदाताले मत फेरेको जस्तो देखिन्छ । त्यो मत कांग्रेसलाई पक्कै आएन किनभने त्यहाँ कांग्रेस र एमाले सधैंका प्रतिस्पर्धी हुन् । एमालेले त्यहाँ १९ हजार मत छ भनेर दाबी गर्दै आएको छ । तर अहिले ८ हजार हाराहारी मत आएको छ । एमालेको १० हजार भोट रास्वपातिरै गएको भन्ने लाग्छ ।
भनेपछि कांग्रेस हार्नुको कारण एमालेको मत रास्वापातिर जानु नै हो उसो भए ?
– हो, निर्णायक मत नै त्यही हो ।
कांग्रेसका उम्मेदवार निर्विवाद र योग्य थिए । पार्टीले पनि लोकप्रिय युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मासहितलाई प्रचारमा खटाए पनि उहाँहरूले समेत मतदातालाई आकर्षित गर्न नसकेको हो ?
– गोविन्द भट्टराई राष्ट्रिय व्यक्तित्व भएको कारणले तनहुँमा यो चुनावमा कांग्रेसका प्रायः नेता पुग्नुभयो । कांग्रेसका नेता काठमाडौंबाट एकछिनका लागि गएर प्रभाव पर्छ भन्ने लाग्दैन ।
पार्टीले निर्वाचनलाई महत्त्व दिएर सहयोग र समर्थन गराउन खोज्नु स्वाभाविक हो । तर हामीले ‘पपुलर सेन्टिमेन्ट’ जोड्न सकेनौं । रास्वपाको उम्मेदवारसँग त्यो ‘सेन्टिमेन्ट’ जोडिएको देखियो । यसलाई स्वीकार्नुपर्छ ।
उपनिर्वाचनको परिणामले हामीलाई समीक्षा गर्ने बाटोमा पुर्याएको छ । गम्भीर, निष्पक्ष र तटस्थ समीक्षा गरेर अगाडि जाँदा यो घटनाले हामीलाई लाभान्वित गराउँछ ।
१६५ क्षेत्रमा नआएको कम्पन तनहुँ र चितवनले उपनिर्वाचनमा ल्याएपछि ‘सच्चिने कि सक्किने’ भन्ने शब्दावली ट्रेन्डकै रूपमा स्थापित भयो नि ?
– निर्वाचनबाट सिक्ने कुरा जहिल्यै पनि हुन्छ । ८९ सीट जितेको कांग्रेसको एक सीट घटेको छ । धेरै क्षति बेहोर्ने स्थिति नहुँदा पनि धेरै सिक्ने अवसर पाएका छौं ।
पहिले आफूभित्रै सच्चिने हो । विधि, विधान, पद्धतिअनुसार चल्ने हो । किनकी हाम्रो सधैंको समस्या र कमजोरी पार्टी सञ्चालनको शैलीमा छ । यसले आमरूपमा निराशा बढाएको छ ।
पार्टीलाई लोकतान्त्रिक निर्णय प्रक्रियामा अगाडि बढाउनुपर्छ । निर्णय प्रक्रिया पारदर्शी हुनुपर्छ । राष्ट्रिय मुद्दामा प्रस्ट हुनुपर्छ । स्थानीय तहमा हाम्रा धेरै सरकार छन् । संघीय संसदमा ठूलो पार्टी छौं । सातवटै प्रदेशमा अधिकांशमा ठूलो पार्टीका रूपमा छौं । सरकारमा पनि भएकाले नतिजा दिने गरी काम गर्नुपर्छ ।
कांग्रेसले प्राथमिकता फेरेको छ । मेसेज दिन खोजेको छ । गलत कुराप्रति नीर्भिक भएर उभिएको छ । बेथितिलाई अन्त्य गर्ने लक्ष्य बनाएको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विपक्षमा छ भनेर आम जनतालाई महसूस गराउनुपर्छ । विकास निर्माण, समृद्धि र रोजगारका पक्षमा उत्रिनुपर्छ । राजनीतिका बेथति अन्त्य गरी आर्थिक विकासको लक्ष्यमा अगाडि बढ्ने संकल्पतिर लाग्नु नै सच्चिनु हो । तर, सबै सकिएको र बिग्रेको स्थिति होइन ।
सरकार मन्त्री चयन र हेरफेरको प्रक्रियामा ५ महिनादेखि अल्झिएको छ । लोकतन्त्र प्रक्रियामा सीमित हुने नागरिक सबाल र सरोकारसँग नजोडिने स्थिति बन्नु दुःखद् होइन ?
– सरकारमा जाने, मुकदर्शक बन्ने, केही मन्त्री पठाएर मख्ख पर्ने, मन्त्री भएकोमा मख्ख पर्ने, आफ्नो टीमका मन्त्री बनाउने नै लक्ष्य हो भने सकिने बाटोमै जाने हो ।
हामी सरकारमा छौं । यसको अपजस सबैभन्दा बढी हामीलाई आउँछ । राम्रो काम गर्नुपर्छ भन्ने गम्भीरता र हुटहुटीले काम गर्नुपर्छ । तर, ग्याप धेरै छ । नयाँ ढंगले जान खोजेको जस्तो देखिँदैन, बरु अलमल छ । यो अलमलले गठबन्धनलाई नै फाइदा हुँदैन । दोष आउने, अपजस आउने, असन्तुष्टि देखिने, गठबन्धनको विकल्प जनताले खोज्ने, पुरानो पार्टीले केही गर्दैनन् भन्ने स्थापित हुने र विकल्पमा जाने बाटो खुल्छ ।
संघ, प्रदेश र स्थानीय सरकारका काम गराइमा परिवर्तन गराउने, डेलिभरी दिने र नयाँ ढंगबाट चलेको कुरा कामबाटै देखाउनुपर्छ । यी काम गर्न सक्दा हामीमाथिका टिकाटिप्पणी सकारात्मक दिशातिर जान्छन् । जनताका समस्यासँग हामी लागेको छौं भन्ने स्थापित गर्न सकिए अर्को निर्वाचन हाम्रो लागि राम्रो हुन्छ ।
जनताले विकल्प खोज्ने परिस्थिति बन्दैन । तर सरकारमा जाने, केही मन्त्री अदलबदल हुने, तर काम केही नहुने हो भने ठूलो समस्या ल्याउँछ ।
तपाईंहरूमा यस्तो अलमल छ । तर नयाँ दल रास्वपा अर्को निर्वाचनबाट बहुमत ल्याउने दाबी गरिरहेको छ । यो तपाईंहरूका लागि चुनौती होइन ?
– रास्वपालाई बाहिर बसेर कुरा गर्न सजिलो छ । प्रतिपक्षमा बसेर आक्रामक ढंगले बेथितिमाथि प्रहार गरिरहनुभयो भने उहाँहरूको लोकप्रियता अझै बढ्न सक्छ । सत्ताभन्दा बाहिरबाट रचनात्मक बन्दा सहज हुन्छ । हिजो हामीमात्रै डेमोक्रेटिक स्पेसमा थियौं, तर आज अरू पनि उपस्थित भएको स्थिति छ । यसले हामीलाई थ्रेट फील भएको छ । चुनौती थपिएको छ । यसको सामना गर्ने प्रोग्रेसिभ मुद्दा हामीले नै उठाउने हो ।
०१५ सालमा बीपी कोइरालाले कम्युनिस्टको भन्दा प्रोगेसिभ मुद्दा उठाउनुभयो । दुईतिहाइ ल्याउनुभयो । बेथितिविरुद्ध सबैभन्दा बढी लडेको हामी नै देखिनुपर्यो । सरकारमा राम्रो काम गर्नुपर्यो । सुशासनको पक्षमा वकालत गर्नुपर्यो । टिकाटिप्पणी भएको विषयलाई अन्त्य गर्नुपर्यो । प्रतिस्पर्धामा अब्बल सावित हुनेगरी काम गर्नुपर्छ ।
आशाको नजरले हेरिएका हामीहरू हौं भने पार्टीभित्रैका बेथितिलाई सुधानुपर्छ । देशका मुद्दालाई पनि सही ढंगले बोकेर हिँड्न सक्नुपर्छ । यस्तो भए कांग्रेसप्रति नै विश्वास बढाउन सकिन्छ ।
रास्वपाको उदयबाट प्रजातान्त्रिक पार्टी भएको नाताले जोखिम कांग्रेसलाई नै सबैभन्दा बढी देखिएको हो ?
– खुला मत कांग्रेससँगै थियो भन्ने ‘न्यारेटिभ’ छ । सबै डेमोक्र्याट कांग्रेस हुन सक्दैनन् । डेमोक्र्याटको विकल्प नभएकाले कांग्रेसलाई पत्याइरहेका हुन् । यसैले डेमोक्रेटिक स्पेसभित्र अरू पार्टी जन्मिएपछि हामीलाई नै चुनौती हुने हो । तर चुनौतीरहित भएर राजनीतिमा नेतृत्व गर्न पाइँदैन । हामीले खोजेकै प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली हो ।
बहुदलीय व्यवस्था, मल्टीपार्टी प्रणालीको वकालत गर्ने मान्छे हामी हौं । पार्टीहरू धेरै हुनुपर्छ । वैचारिक प्रतिस्पर्धा हुनुपर्छ । धेरै पार्टीमध्ये जनताले पत्याएको पार्टीले नेतृत्व गर्नुपर्छ । हामीले बनाउन खोजेको शासकीय स्वरूप नै यस्तो हो । यही प्रणालीअनुसार नयाँ राजनीतिक पार्टी आउनु हाम्रो दर्शन र प्रणालीअनुसार नै हो । नयाँ आउनेलाई रोक्नु हुँदैन । रोक्न पनि सकिँदैन । नयाँ आएपछि चुनौती थपिन्छ ।
भनेको नयाँ पार्टीको आगमन सच्चिनका लागि अवसर हो उसो भए ?
– हो, पुरानालाई सच्चिने अवसर नयाँ पार्टीले दिएका छन् । राजनीति प्रतिस्पर्धात्मक बन्छ । यसैले यसलाई सकारात्मक ढंगले हेर्नुपर्छ । यसलाई सकारात्मक ढंगले हेर्ने भनेको सच्चिने कुरा महसूस गर्ने हो । बदलिनका लागि तयार हुने हो ।
प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न जरुरी छ । सबैभन्दा पहिले जनताको कुरा मैले ल्याउन आवश्यक छ । मेरो पार्टीले ल्याउन आवश्यक छ । यसैले हिजोको जस्तो प्रतिस्पर्धारहित अवस्थामा हामी छैनौं । कांग्रेस कम्युनिस्ट भनेर नेपाली समाज ध्रुवीकृत थियो । प्रशस्त पार्टीहरूका बीचमा छनोट गर्ने स्थिति बनेको छ । पार्टीभित्र पनि व्यक्ति छनोट गर्ने स्थिति बनेको छ ।
०५०/५२ सालमा कांग्रेस कम्युनिष्ट भएर मेलापात नजाने स्थिति थियो । आज त्यस्तो साँघुरो घेरामा मतदाताहरू छैनन् । विवेक प्रयोग गर्ने, को कस्तो हो भनेर चिन्ने, कसले कहाँ गल्ती गरेको थियो भनेर खोज्ने, प्रश्न गर्न सक्ने क्षमता मतदातामा बढेको छ । त्यसैले प्रतिस्पर्धात्मक अवस्थामा सबै ढंगले आफूलाई सच्च्याउनु र समयसापेक्ष बनाउनुपर्छ । मुद्दामा प्रस्ट हुनुपर्छ । हामीसँगको सकारात्मक पक्ष इतिहास सुनौलो हुनु हो । तर, सुनौलो इतिहास मात्रै सम्झाएर अब मत प्राप्त हुन सक्दैन । सुनौलो भविष्य दिनेगरी आममतदातालाई अपिल गर्न सक्नुपर्छ ।
१४ औं महाधिवेशनको डेढ वर्षमा केन्द्रीय समिति, विभाग, भ्रातृ संस्थाजस्ता संरचना भद्रगोल हालतमा छन् । भद्रगोल पार्टीले सुशासन दिन्छौं, बेथिति अन्त्य गर्छौं भनेको जनताले कसरी पत्याउने ?
– अहिले जे भइरहेको छ यो पहिलेदेखिकै भद्रगोल स्थिति हो । यो कुरा १२ औं महाधिवेशनदेखि नै निरन्तर उठाइरहेका छौं । तर, उठाउनकै लागि उठाएको जस्तो भइरहेको छ ।
यथास्थितिलाई नै निरन्तरता दिने काम भएको छ । पार्टीमा यस्तै भइरहँदा नागरिक, शुभेच्छेक र मतदातामा झन् बढी निराशा छाउँछ । यस्तै गरेर पनि हामीले नेतृत्व लिइरहन सक्छौं भनिरहने हो भने अधोगतिको अवस्थामा मात्रै हुन्छ ।
हामीले परिवर्तन गर्ने र बदल्ने भनेका विषय नै यिनै हुन् । आन्तरिक लोकतन्त्र स्थापित गर्ने, पार्टी संगठनलाई चुस्तदुरुस्त बनाउन धेरै कुरा परिवर्तन गर्न आवश्यक छ भनिरहने तर कहिल्यै सुधार नहुने हुँदा प्रतिस्पर्धामा हामी पछाडि पर्ने स्थिति हुन्छ ।
यसैले पार्टी संरचनालाई समयमै व्यवस्थित र पूर्ण बनाएर प्रभावकारी ढंगले चल्न नेतृत्व तयार हुनुपर्छ । यसपछि बल्ल राष्ट्रिय मुद्दामा अघि बढ्नुपर्छ । नीतिगत र वैचारिक विषयमा प्रस्ट भएर जाँदा कांग्रेस सच्चिएको र नयाँ ढंगबाट आउन खोजको सन्देश जान्छ । एकैचोटी हामीमाथि टिकाटिप्पणी अन्त्य हुने र भरोसा अन्त्य हुने अवस्था बन्छ ।
आममान्छेको भरोसा र प्रेम कांग्रेसप्रति छ । यो पार्टी सप्रिदिए हुन्थ्यो, राम्रो ढंगले अघि बढे हुन्थ्यो, बेथिति नभइदिए हुन्थ्यो, कमीकमजोरी अन्त्य भइदिए हुन्थ्यो र यो पार्टीले नेतृत्व गरिदिए हुन्थ्यो भनेर अहिले पनि जनतामा छ । तर जति शुभेच्छा राख्दा पनि कांग्रेसले आफूलाई सच्च्याएन भने त मान्छेले हामीलाई पर्खिएर बसिरहँदैन । अन्तिममा यो यसरी नै चल्ने हो । यसले आफूलाई कहिल्यै पनि परिवर्तन गर्दैन । परिवर्तनको आवश्यकता महसूस नै गर्दैन र यसलाई सपार्न खोज्नु नै व्यर्थ छ भन्ने निष्कर्ष निस्कन सक्छ । यो निष्कर्षसम्म नागरिक पुग्ने गरी समय लम्ब्याइराख्दा ढिला भइसक्छ ।
सच्चिने भनेको नेता बदल्ने हो कि गलत प्रवृत्ति बदल्ने हो ?
– नेता र प्रवृत्ति दुवै बदल्ने हो । नेतृत्वले गर्न चाह्यो भने धेरै छिटो हुन्छ । नेतृत्वले कमीकमजोरी सुधार्यो भने समग्र पार्टी सुधारतिर जान्छ । यसैले मुख्य जिम्मेवारी नेतृत्वकै हुन्छ । तर नेतृत्वको प्रवृत्तिगत अवस्था तलैसम्म झांगिएको छ । यसैले प्रवृत्ति पनि बदल्न जरुरी छ । प्रवृत्ति बदल्न ‘टप टु बटम’ हुनुपर्छ । माथिबाटै यो खालको प्रवृत्ति अन्त्य गर्नुपर्छ ।
माथि आफ्नै लागि मात्रै निर्णय गर्ने, गुटमात्रै संरक्षण गर्ने, राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राख्न नसक्ने, सकारात्मक सन्देश दिन नसक्ने, समयको मागको हेक्का नहुने स्थितिले धेरै पछाडि पार्छ । फेरिएको समय र बदलिएको परिस्थितिअनुसार नेतृत्व तथा आम पार्टीपंक्ति बदलिन जरुरी छ ।
दोस्रो आजको राजनीति विचार, कार्यक्रम र योजनामा निर्भर छ । यिनीहरूमा शून्यता भयो भने कम्तीमा कांग्रेसजस्तो पार्टीले ‘सर्भाइभ’ गर्न सक्दैन किनकी यो शक्ति सञ्चय गरेर चल्ने पार्टी होइन, विचारको विकास गरेर चल्ने पार्टी हो ।
बीपीको समयमा जति वैचारिक खुराक र मुद्दाहरू ल्याउन सक्नुभयो हामीले आजका दिनमा त्यत्ति मुद्दा ल्याउन सकेका छैनौं । पुरानै ढर्रामा नयाँ तरंग आउने गरी पार्टीलाई विकास गर्न सकिँदैन । आशा र भरोसा हुने गरी सन्देश दिन सक्दैनौं । वैचारिक पक्षबाट, कार्यशैलीबाट र विषयगत स्पष्टताका साथ अगाडि बढ्नुपर्छ ।
हेर्नुहोस्, भिडियो :
फोटो/भिडियो : विश्वास खनाल/लोकान्तर
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ । स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नाग...
प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिइसकेका छैनन् । पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्रीले साढे दुई महिनामै फेरि संस...
रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको बारा- २ मा जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मे...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...